जाजरकोटमा जनस्वास्थ्यकर्मीका रूपमा बिताएका दुई वर्ष मेरो पेशागत जीवनका सबैभन्दा महत्वपूर्ण र सम्झनलायक समयमध्ये एक बने। यो समयले मलाई स्वास्थ्यकर्मीका रूपमा काम गर्ने अवसर मात्र दिएन, स्वास्थ्य समस्या कति गहिरोसँग मानिसको आर्थिक अवस्था, परिवार, समाज र भूगोलसँग जोडिएको हुन्छ भन्ने बुझ्ने अवसर पनि दियो।
किताबमा पढेको जनस्वास्थ्य र समुदायमा देखिने जनस्वास्थ्य फरक रहेछ भन्ने कुरा मैले जाजरकोटका गाउँबस्तीमा पुगेर महसुस गरेँ। स्वास्थ्य संस्था टाढा हुनु, बाटोको कठिनाइ, नियमित यातायातको अभाव, कमजोर आर्थिक अवस्था र रोजगारीका सीमित अवसरले यहाँका मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्थ्यो।
कहिलेकाहीँ कुनै गर्भवती महिलाको स्वास्थ्य अवस्था बुझ्दै गर्दा उनको समस्याको कारण स्वास्थ्य संस्थाभन्दा बाहिर भेटिन्थ्यो। घरको आर्थिक अवस्था कमजोर थियो, श्रीमान् रोजगारीका लागि भारतमा थिए, घरमा वृद्ध सासूससुरा र साना बालबालिका थिए, खेतीपातीको जिम्मेवारी उनकै काँधमा थियो। यस्तो अवस्थामा स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउन जानु उनका लागि सजिलो विषय थिएन। त्यसपछि महसुस हुन्थ्यो जनस्वास्थ्य भनेको रोग र औषधिको मात्र कुरा होइन रहेछ।
रोजगारीका लागि बाहिरिने पुरुष र घर सम्हाल्ने महिला
जाजरकोटका धेरै परिवारको जीविकोपार्जनको आधार सीमित छ। स्थानीय स्तरमा पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको आम्दानीका लागि धेरै पुरुष भारतका विभिन्न स्थानमा काम गर्न जाने गरेको पाइन्छ । पुरुष घरबाट टाढा भएपछि घरको जिम्मेवारी महिलाको काँधमा आइपुग्थ्यो। खेतीपातीदेखि पशुपालनसम्म, घरायसी कामदेखि बालबालिकाको हेरचाहसम्म सबै काम महिलाले नै सम्हाल्नुपर्ने अवस्था थियो।
गर्भवती हुँदा पनि महिलाको जिम्मेवारी कम हुँदैनथ्यो। बरु उनको शरीरमा नयाँ जिम्मेवारी थपिएको हुन्थ्यो। तर घरको काम भने उस्तै रहन्थ्यो। यही कारणले गर्भवती महिलाले पर्याप्त आराम नगर्ने, पोषणयुक्त खाना खान नसक्ने र नियमित स्वास्थ्य जाँचमा ध्यान दिन नसक्ने अवस्था देखिन्थ्यो। कतिपय महिलाले स्वास्थ्यमा समस्या देखिँदा पनि घरको कामलाई प्राथमिकता दिएर स्वास्थ्य संस्थामा जान ढिलाइ गर्ने गरेको पाइन्थ्यो। महिलाको स्वास्थ्यमा देखिने यस्तो अवस्थालाई केवल व्यक्तिगत लापरबाहीका रूपमा हेर्न मिल्दैन। यसका पछाडि परिवारको आर्थिक अवस्था, सामाजिक संरचना र महिलामाथि रहेको जिम्मेवारी जोडिएको हुन्छ।
गर्भवती महिलाका लागि दूरी पनि जोखिम हो
जाजरकोटको भौगोलिक विकटता यहाँको स्वास्थ्य सेवाको अर्को ठूलो चुनौती हो। कतिपय बस्तीबाट स्वास्थ्य संस्था पुग्न लामो दूरी हिँड्नुपर्ने अवस्था छ। सडक पुगेका ठाउँमा पनि नियमित यातायात नहुन सक्छ । सामान्य अवस्थामा स्वास्थ्य संस्था पुग्न सकिए पनि प्रसूतिको समयमा यही दूरी ठूलो जोखिम बन्न सक्छ ।
गर्भवती महिलालाई प्रसूतिको समय नजिकिँदा स्वास्थ्य संस्थासम्म कसरी पुर्याउने भन्ने तयारी समयमै हुन नसक्दा कतिपय अवस्थामा घरमै सुत्केरी हुने अवस्था देखिन्छ ।
त्यसैले सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थामा सेवा उपलब्ध हुनु मात्र पर्याप्त हुँदैन। गर्भावस्थादेखि नै परिवारलाई आवश्यक तयारी गराउनु, प्रसूति हुने स्थानबारे निर्णय गर्नु, आकस्मिक अवस्थामा सम्पर्क गर्ने व्यक्ति तय गर्नु र यातायातको विकल्प तयार राख्नु पनि उत्तिकै आवश्यक हुन्छ।
घरमै हुने सुत्केरी घट्नुको कथा
जाजरकोटमा काम गर्दा देखिएको सकारात्मक परिवर्तनमध्ये घरमै हुने सुत्केरीको संख्या घट्दै जानु महत्वपूर्ण छ।
तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०८०/०८१ मा ७१३ जना महिला घरमै सुत्केरी भएका थिए। आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या घटेर ५१५ जना भयो भने आर्थिक वर्ष २०८२/०८३ मा ३१८ जना मा झरेको छ। अर्थात् तीन वर्षको अवधिमा घरमै हुने सुत्केरीको संख्या ३९५ जनाले घटेको छ।
तथ्यांकका यी अंकहरू हेर्दा सामान्य लाग्न सक्छन्। तर जनस्वास्थ्यकर्मीको आँखाबाट हेर्दा प्रत्येक अंकको पछाडि एउटा परिवार, एउटी आमा र एउटा नवजात शिशुको कथा हुन्छ। यो कमी स्वास्थ्यकर्मीको निरन्तर प्रयास, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, समुदायमा गरिएको स्वास्थ्य शिक्षा, गर्भवती महिलाको follow-up तथा स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउने सम्बन्धमा बढ्दै गएको जनचेतनाको परिणाम हो भन्ने देखिन्छ। घरमै सुत्केरी हुनु सामान्यजस्तै मानिने अवस्थाबाट विस्तारै स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति गराउने सोचतर्फ समुदाय अघि बढ्नु सकारात्मक परिवर्तन हो।
तर केही प्रश्न अझै बाँकी छन्
स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गर्दा केही चुनौती भने अझै उस्तै छन्।
२० वर्षभन्दा कम उमेरमा स्वास्थ्य संस्थामा हुने सुत्केरीको प्रतिशत तीन आर्थिक वर्षमा क्रमशः ३० प्रतिशत, २७ प्रतिशत र २९ प्रतिशत रहेको छ।
यसले कम उमेरमा विवाह र गर्भधारणको समस्या अझै पनि महत्वपूर्ण रहेको देखाउँछ। किशोरावस्थामै गर्भधारण हुँदा आमाको स्वास्थ्यसँगै उनको शिक्षा, मानसिक अवस्था, आर्थिक भविष्य र पारिवारिक जीवनमा समेत असर पर्न सक्छ। त्यसैले किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे सही जानकारी दिनु, परिवार नियोजनका साधन तथा सेवाको पहुँच बढाउनु र किशोरमैत्री स्वास्थ्य सेवा विस्तार गर्नु आवश्यक छ ।
गर्भजाँचमा एकपटकको पहुँच पर्याप्त छैन
गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँचलाई हेर्दा आर्थिक वर्ष २०८०/०८१ मा गर्भजाँचको अवस्था ५५ प्रतिशत, २०८१/०८२ मा ७९ प्रतिशत र २०८२/०८३ मा ६१ प्रतिशत रहेको छ।
एक वर्षमा ७९ प्रतिशतसम्म पुगेको गर्भजाँच अर्को वर्ष ६१ प्रतिशतमा झर्नुले एउटा महत्वपूर्ण कुरा देखाउँछ स्वास्थ्य सेवामा पहुँच बढाउनु मात्र पर्याप्त छैन, त्यसलाई निरन्तरता दिनु पनि आवश्यक छ।गर्भावस्थामा एकपटक स्वास्थ्य संस्था पुगेर मात्र जिम्मेवारी पूरा हुँदैन। नियमित जाँच, आवश्यक परीक्षण, पोषणसम्बन्धी परामर्श, खतरा चिन्हबारे जानकारी र प्रसूतिका लागि तयारी सबै आवश्यक हुन्छ।यसका लागि स्वास्थ्यकर्मीले मात्र प्रयास गरेर पुग्दैन। परिवार, महिला स्वास्थ्य स्वयंसेविका र समुदाय पनि निरन्तर जोडिनुपर्छ।
महिलाको स्वास्थ्य कसको जिम्मेवारी?
जाजरकोटमा काम गर्ने क्रममा मैले बारम्बार सोच्ने गरेको एउटा प्रश्न हो घरका सबैको स्वास्थ्य र आवश्यकताको ख्याल गर्ने महिलाले आफ्नो स्वास्थ्यका बारेमा कहिले सोच्ने?
धेरै महिलाको दिन बिहानैदेखि सुरु हुन्छ घरको काम, बालबालिकाको हेरचाह, खेतीपाती, पशुपालन र अन्य जिम्मेवारी सकिँदासम्म उनीहरूले आफ्ना लागि समय निकाल्न पाउँदैनन्।
गर्भवती हुँदा पनि यही अवस्था कायम रहन्छ ।
गर्भवती महिलाले आराम गर्न पाउनु, पोषिलो खाना खान पाउनु, नियमित स्वास्थ्य जाँच गराउन पाउनु र आवश्यक पर्दा तुरुन्त उपचार पाउनु केवल उनको व्यक्तिगत विषय होइन। यो परिवार र समुदायको पनि जिम्मेवारी हो। एउटी आमा स्वस्थ हुनु भनेको एउटा परिवार स्वस्थ हुनु हो। परिवार स्वस्थ हुनु भनेको अन्ततः समुदाय स्वस्थ हुनु हो।
जनस्वास्थ्यकर्मीका रूपमा मैले के सिकेँ?
यी दुई वर्षले मलाई जनस्वास्थ्यको सबैभन्दा महत्वपूर्ण पाठ सिकायो स्वास्थ्य समस्या देखिएको ठाउँमा मात्र यसको कारण हुँदैन।
एउटी गर्भवती महिला स्वास्थ्य संस्थामा किन आइपुगिनन् भन्ने प्रश्नको उत्तर खोज्दा उनको स्वास्थ्य अवस्था मात्र हेरेर पुग्दैन। उनको घरमा आम्दानीको अवस्था कस्तो छ? श्रीमान् वा परिवारका सदस्य कहाँ छन्? स्वास्थ्य संस्था कति टाढा छ? यातायातको सुविधा छ कि छैन? निर्णय कसले गर्छ? उनलाई स्वास्थ्यसम्बन्धी जानकारी कति छ? यी सबै प्रश्नको उत्तर खोज्नुपर्छ।
यही कारणले दुर्गम क्षेत्रमा जनस्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, स्थानीय सरकार, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय र परिवारबीचको सहकार्य आवश्यक हुन्छ।
विशेषगरी पुरुषहरू रोजगारीका लागि बाहिर गएको अवस्थामा महिलालाई स्वास्थ्यसम्बन्धी निर्णय आफैँ लिन सक्षम बनाउनु, गर्भावस्थामै आवश्यक तयारी गराउनु र आकस्मिक अवस्थामा यातायात तथा referral को व्यवस्था गर्नु महत्वपूर्ण हुन्छ।
अझै धेरै काम गर्न बाँकी छ
जाजरकोटमा बिताएका दुई वर्षले मलाई निराश बनाएको भन्दा बढी आशावादी बनाएको छ।
किनभने परिवर्तन सम्भव रहेछ भन्ने प्रमाण हामीसँग छ।
घरमै हुने सुत्केरीको संख्या ७१३ बाट ५१५ हुँदै ३१८ मा झर्नु आफैँमा ठूलो परिवर्तन हो। यसले समुदायले सुरक्षित संस्थागत प्रसूतिको महत्व बुझ्दै गएको देखाउँछ।
तर यात्राको अन्त्य भएको छैन। कम उमेरमा विवाह तथा गर्भधारण, नियमित गर्भजाँचमा देखिएको कमी, भौगोलिक विकटता, यातायातको समस्या र महिलामाथि रहेको अत्यधिक जिम्मेवारी अझै चुनौतीका रूपमा छन्।
यी समस्या समाधान गर्न स्वास्थ्य संस्था र औषधि थपेर मात्र पुग्दैन। समुदायको सोच, व्यवहार र स्वास्थ्यसम्बन्धी निर्णय गर्ने प्रक्रियामा पनि परिवर्तन आवश्यक छ।
अन्तिम कुरा
जाजरकोटमा जनस्वास्थ्यकर्मीका रूपमा बिताएका दुई वर्ष मेरा लागि एउटा ठूलो पाठशाला बने।
यहाँ मैले स्वास्थ्य सेवा दिन मात्र सिकिनँ; स्वास्थ्य समस्याको पछाडि लुकेका आर्थिक, सामाजिक, पारिवारिक र भौगोलिक कारण बुझ्न पनि सिकेँ।कुनै गाउँको स्वास्थ्य सुधार्न एउटा स्वास्थ्य संस्था पर्याप्त नहुन सक्छ। त्यसका लागि परिवारको साथ, समुदायको सहभागिता, स्थानीय सरकारको प्रतिबद्धता र स्वास्थ्यकर्मीको निरन्तर प्रयास आवश्यक हुन्छ।
मेरो आँखामा जाजरकोटको स्वास्थ्यको कथा केवल समस्या र चुनौतीको कथा होइन। यो परिवर्तनको कथा पनि हो।
आज घरमै हुने सुत्केरीको संख्या घटिरहेको छ। स्वास्थ्य संस्थामा प्रसूति गराउने चेतना बढिरहेको छ। गर्भवती महिलाको स्वास्थ्य जाँचप्रति समुदायको चासो बढ्दै गएको छ। यी साना–साना परिवर्तनले ठूलो आशा देखाएका छन्।
अबको हाम्रो लक्ष्य अझ स्पष्ट हुनुपर्छ कुनै पनि गर्भवती महिला भौगोलिक दूरीका कारण स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, आर्थिक अभावका कारण उपचारमा ढिलाइ नहोस्, यातायातको अभावमा जोखिममा नपरोस् र कुनै पनि आमा असुरक्षित रूपमा सुत्केरी हुन बाध्य नहोस्।
जाजरकोटले मलाई एउटा कुरा सिकाएको छ स्वास्थ्य सेवा स्वास्थ्य संस्थाको चार पर्खालभित्र मात्र हुँदैन। स्वास्थ्य सेवा त समुदायको घरदैलोबाट सुरु हुन्छ।