वीरगञ्ज- नारायणी अस्पतालमा शनिबार भएको घटनामा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सकमाथि आक्रमण भएको घटनापछि अस्पताल प्रशासनले आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाएको छ। छानबिन समितिको प्रतिवेदन नआउञ्जेल उनीहरूलाई नियमित कामकाजमा नलगाइने निर्णय गरिएको हो।
अस्पतालमा बसेको सर्वपक्षीय बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
बैठकले घटनाको सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित छानबिन समिति गठन गरेको छ। समितिको संयोजकमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह रहेका छन्। सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासनिक अधिकृत विनयकुमार गया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ महराष्ट, वीरगञ्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार रहेका छन्।
घटना भएको समयमा आकस्मिक कक्षमा उपचारमा संलग्न रहेका डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रहलाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई तत्काल जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ। छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसको सिफारिसका आधारमा थप प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ।
यस्तै, बैठकले मृतक पक्षले शव बुझेर पोस्टमार्टम सम्पन्न गरी धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने सहमति भएको जनाएको छ।
अस्पताल प्रशासनले घटनाका बाबजुद नारायणी अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा थप प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
शनिबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण गरेका थिए। उक्त घटनापछि अस्पतालमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।