अछाम- बयालपाटा प्रादेशिक अस्पतालमा पाँच महिनापछि पुनः स्वास्थ्य बीमा सेवा सुचारु भएको छ। माघ १ गतेदेखि लागू हुने गरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको हो।
यसअघि न्याय हेल्थ नेपालद्वारा व्यवस्थापन हुँदै आएको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार मातहत आएपछि अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको थियो। आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि माघ १ गतेदेखि पुनः स्वास्थ्य बीमा सेवा सुचारु गरिएको बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठकले जानकारी दिए।
उनका अनुसार करिब पाँच महिनासम्म बन्द रहेको स्वास्थ्य बीमा सेवा अहिले पूर्ण रूपमा सञ्चालनमा आएको हो। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत अस्पताल सञ्चालनमा आएपछि सरकारी मापदण्ड अनुसार उपचार शुल्क लाग्ने व्यवस्था गरिएको थियो। तर अब स्वास्थ्य बीमा गरेका बिरामीहरूले अस्पतालमा निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा सुरु भएयता पाँच दिनको अवधिमा ७० जनाभन्दा बढी सेवाग्राहीहरूले बीमा अन्तर्गत उपचार सेवा लिइसकेका छन्। यससँगै अस्पतालमा सामाजिक सुरक्षा इकाइ अन्तर्गतका सेवाहरू पनि सुचारु गरिएको छ।
अति विपन्न, असहाय तथा अपाङ्ग बिरामीहरूलाई वडा तथा स्थानीय तहको सिफारिसका आधारमा उपचार सेवामा सहुलियत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ। यस्तै अस्पतालमा चौबिसै घण्टा शसुल्क फार्मेसी सेवा समेत सुचारु भएको छ।