काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा बेड अभावका कारण एक जना बिरामीको उपचार प्रक्रिया सुरु हुन नपाई इमरजेन्सी कक्ष बाहिरै मृत्यु भएको छ । नियमित डायलाइसिस गराइरहेका बिरामीलाई अकस्मात अस्पताल ल्याएको थियो । अस्पताल प्रशासनका अनुसार मोरङका ४५ वर्षीय डोलबहादुर थापाको मृत्यु भएको हो ।
स्ट्रोकको समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको अस्पतालका अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । तर अस्पतालको रेड एरियामा बेड खाली नभएपछि चिकित्सकहरुले उपचार प्रक्रिया नै सुरु गर्न नपाएको उनको भनाइ छ ।
यतिबेला अस्पतालको इमरजेन्सी क्षेत्रमा कुनै पनि बेड खाली नभएको र यस्तो प्रकृत्तिको बिरामीलाई रेड एरियामा राख्नुपर्ने सेडाई बताउँछन् । रेड एरिया भनेको इमरजेन्सीभित्रको सबैभन्दा गम्भीर प्रकृतिका बिरामीलाई राखिने क्षेत्र हो ।
उनले भने, ‘अकस्मात बिरामी इमरजेन्सी कक्ष बाहिर ल्याइयो । पहिल्यै खबर गरेको भए हामी अन्त्यत्र लैजानका लागि सुझाव दिन्थ्यौं । तर सिधै अस्पतालमा ल्याइएपछि चिकित्सकहरु बेड मिलाउने कोशिसमा लाग्नुभयो । केही समयमै भित्र ल्याएर उपचार गर्न नपाउँदै बिरामीको ज्यान एम्बुलेन्समै गयो ।’
बेड नपाएर बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल अगाडि नाराबाजी गरेका थिए ।