दूध राम्रोसँग उमाल्दा यसमा भएका हानिकारक सूक्ष्म जीवाणु नष्ट हुन्छन् भनिन्छ। तर, विचार पुर्याउनुपर्ने अर्को कुरा के हो भने दूध पटक-पटक उमालेर खाँदा शरीरलाई हानिसमेत पुर्याउन सक्छ।
दूधलाई पटक-पटक उमाल्दा त्यसमा पाइने भिटामिन बी-१२, प्रोटिन र अन्य उपयोगी खनिज जस्ता महत्त्वपूर्ण पौष्टिक तत्त्वहरू नष्ट हुने पोषणविद्हरू बताउँछन्।
धेरै पटक तताइएको वा डढेको दूध पिउँदा पाचन प्रक्रियामा गम्भीर असर पर्ने, पेट दुख्ने, ग्यास बन्ने र शरीरलाई पोषणको सट्टा हानि पुग्ने पोषणविद् अतुल उपाध्याय बताउँछन्।
दूध उमाल्दा र सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरू:
पोषणको नाश: पटक-पटक उमाल्दा दूधका प्राकृतिक भिटामिन र प्रोटिनको गुणस्तर बिग्रन्छ।
पाचनमा समस्या: ओभरहिट (धेरै तातो) गरिएको वा धेरै बाक्लो र डढेको दूध पचाउन पेटलाई गाह्रो हुन्छ।
एक पटक मात्र उमाल्ने: दूधलाई एक पटक राम्ररी उमालेर (३ मिनेटभन्दा बढी समय नलगाई) प्रयोग गर्नु सुरक्षित हुन्छ।
सुरक्षित भण्डारण: उमालेको दूधलाई चिसो बनाएर फ्रिजमा राख्ने र आवश्यकता अनुसार एक पटक हल्का तातो बनाएर पिउने गर्नुपर्छ।
दूध सेवनका फाइदा र अपनाउनुपर्ने सावधानी:
दूधमा मानव शरीरलाई चाहिने आवश्यक पोषक तत्त्वहरू हुन्छन्। दूधमा हड्डीदेखि दाँत बलियो बनाउनेसम्मका पोषण तत्त्व पाइन्छ। यसमा क्याल्सियम, फोस्फोरस, प्रोटिन, भिटामिन बी-१२, भिटामिन 'ए' लगायत स्वास्थ्यवर्धक तत्त्व पाइन्छ। तर, दूधलाई बारम्बार उमालेर खाएमा यी पौष्टिक तत्त्वहरू नष्ट हुन्छन्।