कलेजो शरीरको छालापछिको दोस्रो ठुलो अंग हो। अन्य अंगहरू जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो। सुरुवाती अवस्थामा कलेजोको समस्या खासै थाहा नहुने, तर रोग बढ्दै जाँदा शरीरले विभिन्न स्पष्ट संकेतहरू देखाउने कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटा बताउँछन्।
यी हुन् कलेजोमा समस्या हुँदा शरीरमा देखिने संकेत:
आँखा र छाला पहेँलो हुनु (जन्डिस): कलेजोले बिलिरुबिन फिल्टर गर्न नसक्दा आँखाको सेतो भाग र छाला पहेँलो देखिन्छ।
पेट र खुट्टा सुन्निने: कलेजोको कार्यक्षमता कमजोर हुँदा पेटमा पानी जम्ने र शरीरको तल्लो भाग वा खुट्टाहरू सुन्निने हुन्छ।
अत्यधिक थकान र कमजोरी: पर्याप्त आराम गर्दा पनि कलेजोको रोगका कारण जतिबेला पनि जीउ गल्ने र थकाइ लाग्ने हुन्छ।
भोक नलाग्नु र वाकवाकी लाग्नु: पाचन रस (पित्त) को उत्पादनमा गडबडी हुँदा भोक लाग्दैन र बान्ता होला जस्तो भइरहन्छ।
सजिलै निलडाम बस्नु वा रगत बग्नु: कलेजोले रगत जमाउने प्रोटिन बनाउन नसक्दा सामान्य चोट लाग्दा पनि रगत बग्ने वा निलडाम बस्ने हुन्छ।
पिसाब र दिसाको रंग बदलिने: पिसाबको रंग अत्यधिक गाढा पहेँलो (चिया जस्तो) हुने र दिसाको रंग माटो जस्तो वा फुस्रो हुने गर्छ।