तस्विर : एआई सृजित
बिगत ७ महिनादेखि जुम्लाको चिसोमा, सदरमुकाम खलंगाबाट टाढा, हिमा नदीको सुसेलीसँग रमाउँदै, रारा जाने बाटो नजिकको एकान्त डाँडामा रहेको एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छु।
एमबीबीएस काठमाडौँमा अध्ययन गरिरहँदा दुर्गम क्षेत्रमा स्वास्थ्यका समस्याबारे सुन्दा अचम्म लाग्थ्यो। तर जुम्लाको चिसोमा काम गर्दै, सिक्दै समय बितेको पत्तै भएन। जुम्लीहरूको माया र प्रेमले अझ राम्रो सेवा दिन सधैं प्रेरित गरिरहन्छ। काम गर्दै जाँदा यहाँका धेरै तिता यथार्थ पनि देख्न र बुझ्न पाएँ।
पहाडमा अधिकांश ज्येष्ठ नागरिकको बसोबास छ। जवानहरू त रोजगारीका लागि कोही विदेश, कोही अन्य ठाउँमा पलायन भएका छन्। त्यसैले कोही बिरामी परे पनि अस्पतालसम्म बोकेर ल्याउने मान्छे हुँदैन। कहिलेकाहीँ हजुरबुबा–हजुरआमा साना नाति–नातिनीलाई लिएर आउनुहुन्छ र भन्नुहुन्छ, 'बाबु, एउटा सलाइन लगाइदिनु न, घरमा कोही छैन।' उहाँहरूका लागि सलाइन नै सबैभन्दा ठूलो औषधि रहेछ।
गाउँबाट अस्पताल टाढा छ। अनि अस्पतालमा काम गर्ने हाम्रो पनि आफ्नै पीडा छ। बिरामीहरू हामीलाई भगवान् सम्झेर आउँछन्, तर कहिलेकाहीँ हामीसँग दिनका लागि सामान्य सिटामोलसमेत हुँदैन। अहिले संसार एआईको युगमा पुगेको छ, तर यहाँका मानिसहरूले घाउमा लगाउने सामान्य मलमसमेत पाउँदैनन्। सुन्दा विश्वास नलाग्न सक्छ, तर यो यथार्थ हो।
एक दिन एक जना बाजे आउनुभयो। घर बनाउने क्रममा उहाँको खुट्टा काटिएको थियो। हामीले घाउ हेर्यौँ। घाउ काटिएकोभन्दा पनि धेरै बिग्रिएको देखियो। उहाँले सुनाउनुभएको कुरा सुनेर म अचम्ममा परेँ। घरेलु उपचारका रूपमा उहाँले तेल तताएर आफ्नै घाउमा खन्याउनुभएको रहेछ। मैले सोधेँ, 'हजुरलाई दुखेन? तेलले हात पोल्दा पनि सहन सकिँदैन, घाउमा कसरी हाल्नुभयो?' उहाँ मुस्कुराउँदै भन्नुभयो, 'डाक्टर साब, यो त म जन्मेदेखि गर्दै आएको कुरा हो। हामीले औषधिको अनुहार त खासै देख्दैनौँ।'
उहाँका लागि यो कुनै नयाँ कुरा थिएन। किनकि गाउँमा पुस्तौँदेखि यस्तै घरेलु उपचार गर्ने चलन रहेछ।
अर्को घटना एक जना सुत्केरी आमासँग सम्बन्धित छ। उहाँ आफ्नो बच्चाको नाइटोमा घाउ भएजस्तो लागेर अस्पताल आउनुभएको थियो। मैले बच्चाको अवस्था हेरेँ र उहाँलाई सरसफाइमा विशेष ध्यान दिन तथा मलम लगाउन सुझाव दिएँ। कुराकानीकै क्रममा मैले सोधेँ, "तपाईं सुत्ने कोठा कस्तो छ?"
उहाँको अनुहार एक्कासि मलिन भयो। बिस्तारै भन्नुभयो, 'डाक्टर साब, म त नुहाइँ–धुवाइँ (नुहारन) नहुन्जेल गोठमै सुत्छु। घरभित्र पस्न मिल्दैन।'
त्यसपछि उहाँले थप्नुभयो, 'म सकेसम्म गोठ सफा गरेर बस्छु।'
एक आमाको त्यो पीडा सुन्दा मन भारी भयो। मानिस अन्तरिक्षसम्म पुगिसकेको छ, तर आज पनि कतिपय ठाउँमा सुत्केरी महिलाले सामाजिक मान्यताका कारण आफ्नै घरभित्र बस्न पाउँदिनन्।
यस्ता अनेक घटना र अन्धविश्वास यहाँ गहिरोसँग जरा गाडेर बसेका छन्। अहिले त अवस्था यस्तो छ भने पहिले कस्तो थियो होला भन्ने सोच्दा झन् अचम्म लाग्छ।
एक दिन विद्यालयमा पढ्ने एक किशोरी आइन् र भनिन्, 'डाक्टर साब, मलाई आइरन चक्की दिनु न।'
मैले सोधेँ, 'तिम्रो आमा आउन भ्याउनुभएन?'
उनले भनिन्, 'होइन सर, मलाई नै खानुपर्छ। म गर्भवती छु।'
म एकछिन स्तब्ध भएँ। फेरि सोधेँ, 'तिमी त कक्षा ९ मा पढ्छ्यौ, होइन? यति सानो उमेरमै गर्भवती?'
उनले सहज रूपमा भनिन्, 'हाम्रोतिर ८, ९ वा १० कक्षामा पढ्दापढ्दै भागेर बिहे गर्ने चलन छ। त्यसपछि एसईई पनि दिइँदैन। अब त बच्चा पनि हेर्नुपर्छ, पढाइ पनि छुटिसक्यो।'
यी सबै घटना मेरा लागि नयाँ होइनन्। यी त मैले दैनिकजसो देखिरहने यथार्थ हुन्।
पहिले मलाई लाग्थ्यो- दुर्गमका मानिसहरू शिक्षा, स्वास्थ्य र अवसरबाट केवल भूगोलका कारण वञ्चित छन्। तर यहाँ आएपछि बुझ्दै गएँ, पीडा त भूगोलभन्दा धेरै गहिरो रहेछ। सामाजिक मान्यता, गरिबी, अन्धविश्वास, अशिक्षा र अवसरको अभाव सबै एकअर्कासँग गाँसिएका रहेछन्।
दुर्गममा नआएको भए यस्ता कुरा सुन्दा मैले पनि विश्वास गर्ने थिइनँ। अहिले भने यी सबै आफ्नै आँखाले देखिरहेको छु।
कसैले स्वास्थ्यको पहुँच पुगेको घोषणा गर्छ। कसैले विकासका ठूला-ठूला भाषण गर्छ। तर भुइँमान्छेको वास्तविकता कागजमा लेखिएका तथ्यांकभन्दा बिल्कुल फरक छ।
आशा छ, समयसँगै परिवर्तन अवश्य आउनेछ। त्यो परिवर्तन केवल कागजमा होइन, समाजमै देख्न पाइयोस्।
(डा आशिष प्याकुरेल कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र जुम्लामा कार्यरत छन्)