"पद अस्थायी हुन सक्छ, पेशा दीर्घकालीन हुन्छ। पदले जिम्मेवारी निर्धारण गर्छ; पेशाले पहिचान र विशेषज्ञता दिन्छ।" यो भनाइ सामान्य जस्तो लागेपनि स्वास्थ्य क्षेत्रको नेतृत्वको सन्दर्भमा यसको गहिराइ असिमित तथा असाधारण छ। स्वास्थ्य संस्था कुनै सामान्य कार्यालय जस्तो होइन। अस्पताल भन्नु केवल एउटा भवन, केही उपकरण, कर्मचारी र प्रशासनिक संरचनाको जोड मात्र होइन; त्यो त बिरामीको आशा अनि भरोसा, परिवारको चित्कार एंव पीडा, स्वास्थ्यकर्मीको त्याग तथा समर्पण, समाजको विश्वास र राज्यको जिम्मेवारी एकसाथ बुनिएको अत्यन्त संवेदनशील संस्था हो । त्यसैले अस्पताल वा मेडिकल कलेजको नेतृत्वमा पुग्ने व्यक्तिले केवल पदको अधिकार बुझेर मात्र पुग्दैन; उसले त्यस पदसँगै गाँसिएको जिम्मेवारी, नैतिकता, दक्षता र जवाफदेहिता पनि उत्तिकै गहिरिएर बुझ्नुपर्छ। आजभोलि स्वास्थ्य क्षेत्रमा एउटा बहस बारम्बार सुनिन्छ की अस्पतालको निर्देशक/ मे.सु. चिकित्सक नै हुनुपर्छ कि गैर-चिकित्सक? डिन चिकित्सक हुनुपर्छ कि प्रशासक? पदमा पुगेपछि चिकित्सकले आफ्नो पेशागत काम गर्न पाउनुपर्छ कि पर्दैन? सरकारी समयबाहेक निजी पेशा गर्न पाउने कि नपाउने? यी सबै प्रश्नको उत्तर भावनाले होइन, संस्थागत आवश्यकता, कानुनी व्यवस्था, पेशागत मर्यादा र सार्वजनिक उत्तरदायित्वका कसीमा राखेरै खोजिनुपर्छ, जोखिनुपर्छ । चिकित्सक नै निर्देशक/ मे.सु. हुनु गलत हो त? कहिलेकाहीँ यस्तो तर्क सुनिन्छ -"चिकित्सकले त बिरामी हेर्ने हो, अस्पताल चलाउने होइन। अस्पताल त स्वास्थ्य प्रशासन वा व्यवस्थापन पढेका गैर-चिकित्सक व्यक्तिले मात्र चलाउनुपर्छ।" यो धारणा पूर्ण रूपमा गलत पनि होइन, तर पूर्ण सत्य पनि छैन ।
अस्पताल व्यवस्थापनमा प्रशासकीय ज्ञान, वित्तीय व्यवस्थापन, नेतृत्व, मानव स्रोत व्यवस्थापन, योजना र अनुगमन सबै अपरिहार्य छन्। त्यसैले स्वास्थ्य प्रशासन वा व्यवस्थापनमा दक्ष व्यक्ति नेतृत्वमा हुनु निःसन्देह उपयोगी हुन्छ । तर अस्पतालको वास्तविकता केवल व्यवस्थापन सिद्धान्तबाट मात्र बुझ्न सकिदैन । अस्पतालभित्रको चिकित्सकीय कार्यप्रवाह, आकस्मिक कक्षको दबाब, आईसीयू पिआईसीयू र एनआईसीयूको प्रभाबकारी व्यवस्थापन चुनौती, अपरेशन थिएटरको समस्या, अस्पताल प्रयोगशालाको सीमितता, नर्सिङ जनशक्तिको अभाव, रेजिडेन्टको कार्यभार, औषधि तथा उपकरणको आवश्यकता, र बिरामी-आफन्त एंव स्वास्थ्यकर्मीको मानसिक अवस्था यी सबै कुरा प्रत्यक्ष क्लिनिकल अनुभवबाटै गहिरोसँग बुझिन्छन्। त्यसैले वर्षौँको अनुभवी चिकित्सक निर्देशक/ मे.सु. हुनु आफैंमा गलत होइन; बरु सही चिकित्सकमा सही प्रशासनिक क्षमता पनि जोडिन आयो भने त्यो संस्थाका लागि ठूलो सम्पत्ति नै बन्न सक्छ। वर्षौँसम्म अस्पतालमा काम गरेको चिकित्सकले बिरामीको पीडा मात्र होइन, स्वास्थ्यकर्मीको पीडा पनि उत्तिकै नजिकबाट बुझ्छ। उसले लिने एउटा निर्णयले क्लिनिकल सेवामा कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि उसले राम्ररी बुझ्न सक्छ। त्यसैले "चिकित्सक निर्देशक/ मे.सु. हुनु हुँदैन" भनेर एकपक्षीय सिद्धान्त रटाउनु उचित हुँदैन र छिण मानसिकताको उपज देखिन्छ। तर यसैसँगै अर्को सत्य पनि स्वीकार्नैपर्छ — राम्रो चिकित्सक हुनु र राम्रो प्रशासक हुनु एउटै कुरा होइन। त्यसैले चिकित्सक निर्देशक/ मे.सु. बनेपछि उसले व्यवस्थापन, वित्त, मानव संसाधन, नेतृत्व, सञ्चार र संस्थागत योजनाजस्ता क्षेत्रमा पनि आफूलाई निरन्तर सक्षम बनाउँदै लैजानुपर्छ।
पदले पेशागत पहिचान खोस्नु हुँदैन
कुनै चिकित्सकलाई निर्देशक/मेडिकल सुपरिन्टेन्डेन्ट, डिन, रजिस्ट्रार वा अन्य कुनै प्रशासनिक पद दिइयो भन्दैमा उसको पेशागत पहिचान त्यहीँ समाप्त हुँदैन र हुन पनि दिनु हुदैन।वर्षौको निखारिएको ज्ञान सिप र दक्षता रछानमा फालेर स्वास्थ्यकर्मिलाई प्रशासकमात्र बनाउन खोज्दा सुनलाई कसी नलगाएको जस्तो देखिदैन र? निर्देशक/ मे.सु. भइसकेपछिपनि ऊ सधैँका लागि चिकित्सक त बन्न प्रयास गर्छ नै । पद बदलिन सक्छ, जिम्मेवारी बदलिन सक्छ, कार्यालय बदलिन सक्छ; तर वर्षौँको अध्ययन, तालिम, अनुभव र विशेषज्ञताबाट निर्मित पेशागत पहिचान भने एकै दिनमा मेटिँदैन । त्यसैले कुनै चिकित्सकलाई प्रशासनिक पदमा नियुक्त गरेपछि "अब तपाईं चिकित्सक होइन, बिरामी हेर्न पाउनुहुन्न" भन्ने खालको संकुचित सोच किमार्थ उचित हुँदैन। यसको निर्णय सम्बन्धित कानुन, सेवा शर्त, पदको प्रकृति, संस्थाको आवश्यकता र तोकिएको कार्यसमयका आधारमा नै हुनुपर्छ। यदि पदको जिम्मेवारीले नै पूर्ण समयको प्रशासनिक प्रतिबद्धता माग्छ भने त्यो जिम्मेवारीलाई प्राथमिकता दिनैपर्छ- तर यसको अर्थ व्यक्तिको सम्पूर्ण पेशागत पहिचान नै समाप्त हुन्छ भन्ने कदापि होइन। संक्षेपमा भन्नुपर्दा, पदले जिम्मेवारी परिवर्तन गर्न सक्छ, तर पेशागत ज्ञान र पहिचान खोस्न सक्दैन।
सरकारी समयको प्रश्न झन् गम्भीर छ
यहींनेर एउटा अत्यन्त महत्त्वपूर्ण र संवेदनशील विषय आउँछ- सरकारी समय । सरकारी कर्मचारीले राज्यबाट तलब पाउँछ, र त्यो तलब उसको उपस्थितिको मात्र मूल्य होइन; त्यो सार्वजनिक सेवाको जिम्मेवारी बहन गरेबापत राज्यले दिएको पारिश्रमिक हो। त्यसैले सरकारी कार्यालयको तोकिएको समयमा सरकारी जिम्मेवारी छाडेर निजी अभ्यासमा जानु केवल "व्यक्तिगत रोजाइ" को विषय मात्र होइन राज्य र निमुखा, असहाय विरामीप्रती गरियको गद्धारीपन हो। विशेषगरी निर्देशक/ मे.सु., डिन, रजिस्ट्रार जस्ता महत्त्वपूर्ण नेतृत्वदायी पदमा बसेको व्यक्ति आफ्नो निर्धारित कार्यालय समयमा निजी काममा संलग्न हुनु संस्थागत दृष्टिले अत्यन्त गम्भीर विषय बन्छ । सरकारी समय भनेको निजी समय होइन। सरकारले तोकेको समयमा सरकारी अस्पताल, विश्वविद्यालय वा स्वास्थ्य संस्थाको जिम्मेवारी पूरा गर्नैपर्छ। त्यस समयमा निजी क्लिनिक, निजी अस्पताल वा अन्य निजी व्यवसायमा संलग्न हुनु सेवा शर्त, कानुन र नैतिक जिम्मेवारीसँगै जोडिएको विषय हो। कानुनले स्पष्ट रूपमा निषेध गरेको अवस्थामा पनि सरकारी समयमै निजी अभ्यास गरिन्छ भने त्यसलाई सामान्य "गल्ती" भनेर मात्र हेर्नु उचित हुँदैन- त्यो नियम उल्लंघन र अनुशासनात्मक कारबाहीकै विषय बन्नु पर्छ । तर यसभन्दा पनि गम्भीर कुरा यसको नैतिक पक्ष हो ।
सरकार र जनताले एउटा स्वास्थ्यकर्मीबाट तोकिएको समयमा सार्वजनिक सेवाको अपेक्षा गरेका हुन्छन्। जनताले तिरेको करले नै सरकारी प्रणाली चल्छ; राज्यले कर्मचारीलाई तलब, सुविधा र सामाजिक सुरक्षा दिन्छ। त्यसैले राज्यलाई दिएको समय र जिम्मेवारी हामी सबैले इमानदारीपूर्वक पूरा गर्नु नागरिक र पेशागत दुवै किसिमको हाम्रो कर्तव्य हो। सरकारी समयमै निजी अभ्यास गर्नु भनेको केवल कार्यालयबाट अनुपस्थित हुनु मात्र होइन; त्यो जनताको विश्वासमाथि नै प्रश्न उठाउने व्यवहार पनि बन्न सक्छ। त्यसैले यस विषयमा "सबैले गर्छन्", "यसो नै चलिआएको छ", "थोरै समय मात्र त हो" वा "यो त मेरो पेशा हो" जस्ता तर्कहरू बौद्धिक समाजको अपाच्य सोच पनि हो । तर सरकारी समयबाहिरको निजी समयको प्रश्न भने बेग्लै हो ।
कुनै व्यक्ति सरकारी कर्मचारी वा प्रशासनिक पदाधिकारी भयो भन्दैमा उसको सरकारी समयबाहेकको सम्पूर्ण निजी जीवन नै राज्यलाई तिलान्जली दिनु हुँदैन। सरकारी होस् वा गैर सरकारी हामीहरुले जागिर खाने हो जागिरले हामीलाई खाने होइन । कानुन र सेवा शर्तले अनुमति दिएको अवस्थामा, निर्धारित सरकारी जिम्मेवारी पूरा गरिसकेपछि व्यक्तिले आफ्नो निजी समय कसरी बिताउने भन्ने कुरामा उसलाई व्यक्तिगत स्वतन्त्रता हुनैपर्छ। विशेषज्ञ चिकित्सकले आफ्नो ज्ञान र सीपलाई निजी समयमा उपयोग गर्न पाउने विषयलाई पनि कानुन, सेवा शर्त र स्वार्थ बाझिनेजस्ता मापदण्डभित्र राखेरै हेर्नुपर्छ र यसले समग्रमा हाम्रै विरामीहरुलाइनै मलम लगाउने काम गर्छ। यसरी हेर्दा दुईवटा कुरा स्पष्ट रूपमा छुट्याउनुपर्ने देखिन्छ, सरकारी समय भनेको सार्वजनिक जिम्मेवारी हो, र कानुनले अनुमति दिएको सरकारी समयबाहेकको समय उसको नितान्त व्यक्तिगत समय हो । व्यक्तिगत समय कसरि सदुपयोग गर्ने भन्ने कुरा निर्देशक होस् वा अन्य कुनै पद, उक्त पदको गरिमा संकुचित नहुने गरि बिताउनु पर्दछ ।
निर्देशक/ मे.सु.को पद र डिनको पद एउटै होइन
अर्को उत्तिकै महत्त्वपूर्ण विषय हो - निर्देशक/ मे.सु. र डिनको भूमिकागत भिन्नता । निर्देशक/ मे.सु. मूलतः अस्पतालको समग्र सञ्चालन, सेवा प्रवाह, जनशक्ति, वित्त, पूर्वाधार, गुणस्तर सुधार, समन्वय र संस्थागत व्यवस्थापनसँग बढी जोडिएको हुन्छ। डिन भने मूलतः शैक्षिक नेतृत्वको केन्द्रबिन्दु हो। स्नातक र स्नातकोत्तर शिक्षा, पाठ्यक्रम, शिक्षण-सिकाइको वातावरण, संकाय विकास, परीक्षा, अनुसन्धान, शैक्षिक स्तर र भावी चिकित्सकहरूको गुणस्तर निर्धारण गर्ने जिम्मेवारीमा डिनले नै नेतृत्व गर्नुपर्छ । त्यसैले डिन बन्ने व्यक्तिमा केवल प्रशासनिक क्षमता भएर मात्र पुग्दैन; डिन शैक्षिक हिसाबले पनि उत्तिकै सुदृढ हुनैपर्छ। उसको शैक्षिक अभिलेख, शिक्षण अनुभव, अनुसन्धानमा संलग्नता, स्नातकोत्तर तालिमको बुझाइ, प्रमाणमा आधारित अभ्यासप्रतिको प्रतिबद्धता र शैक्षिक दृष्टिकोण - यी सबै कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छन्। डिनको मुख्य प्रश्न "अस्पताल कसरी चलाउने?" मात्र होइन; उसको मूल प्रश्न त हामी कस्ता चिकित्सक उत्पादन गर्दैछौँ भन्ने हुनुपर्दछ। आजको डिनले लिने शैक्षिक निर्णयले भोलि हजारौँ बिरामीको उपचार गर्ने चिकित्सकको क्षमता र चरित्रमै प्रभाव पार्न सक्छ। त्यसैले डिनको चयनमा वरिष्ठतालाई मात्र होइन, शैक्षिक योग्यतालाई नै उच्च प्राथमिकता दिनुपर्छ।
पदभन्दा क्षमता ठूलो हुन्छ
हाम्रो समाजमा कहिलेकाहीँ पदलाई नै क्षमताभन्दा ठूलो मान्ने प्रवृत्ति देखिन्छ - "उहाँ निर्देशक/ मे.सु. हुनुहुन्छ, त्यसैले उहाँ नै सबैभन्दा योग्य हुनुहुन्छ", "उहाँ डिन हुनुहुन्छ, त्यसैले उहाँ नै सबैभन्दा विद्वान हुनुहुन्छ ।" तर यस्तो सोच सही होइन। पदले मानिसलाई ठूलो बनाउँदैन; बरु मानिसको क्षमता, चरित्र र नेतृत्वले नै पदको गरिमा बढाउँछ । अस्पतालको भुइँ कसरी पुछ्नु पर्छ भन्ने कुरा कार्यालय सहायक लाई बडी थाहा हुन्छ न कि कुनै हाकिमलाई । एउटा साधारण पदमा बसेर पनि असाधारण काम गर्ने व्यक्ति हुन सक्छ, र ठूलो पदमा बसेर पनि प्रभावकारी नेतृत्व गर्न नसक्ने व्यक्ति पनि हुन सक्छ। त्यसैले मूल्यांकनको आधार पद होइन - कार्यसम्पादन, दक्षता, इमानदारीता, जवाफदेहिता र दूरदृष्टिपन नै हुन ।
सही व्यक्ति, सही ठाउँमा
स्वास्थ्य संस्थामा नेतृत्व चयन गर्दा एउटा सरल तर गहन सिद्धान्त अपनाउन सकिन्छ - सही व्यक्ति, सही ठाउँमा । क्लिनिकल सेवामा उत्कृष्ट व्यक्तिलाई क्लिनिकल नेतृत्व दिन सकिन्छ; व्यवस्थापनमा दक्ष व्यक्तिलाई प्रशासनिक जिम्मेवारी दिन सकिन्छ; र अनुसन्धान तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई शैक्षिक नेतृत्व दिन सकिन्छ । अन्ततः स्वास्थ्य संस्थाको नेतृत्वले सोध्नुपर्ने प्रश्न पद कति ठूलो छ भन्ने होइन, बरु त्यो पदमा बसेको व्यक्तिले संस्था, स्वास्थ्यकर्मी र बिरामीप्रति कति इमानदार र सक्षम ढंगले जिम्मेवारी निर्वाह गर्न सक्छ भन्ने नै हो। पद त क्षणिक हो; पेशा र क्षमताले छोडेको छाप भने दीर्घकालीन रहन्छ।
(लेखक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक तथा प्रमुख वालरोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ।)