मेडिकल रेकर्डस अर्थात चिकित्सा अभिलेख भनेको बिरामीको स्वास्थ्य अवस्था, रोग निदान, गरिएका परीक्षणहरू, दिइएको उपचार तथा औषधि सहित चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले क्रमबद्ध र व्यवस्थित रूपमा तयार गरेको लिखित वा डिजिटल दस्तावेज हो अर्थात बिरामीको स्वास्थ्य अवस्थाको ऐना र निजले पाएको सेवाको प्रमाण पनि हो। चिकित्सा अभिलेखको उचित व्यवस्थापन, अभिलेखन तथा प्रतिवेदन मार्फत सबल स्वास्थ्य प्रणाली निर्माण गरी स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै अन्ततः नागरिकको स्वास्थ्य सुरक्षा गर्ने कार्यको लागि नेपाल सरकारले मेडिकल रेकर्ड समुहको स्थापना गरेको हो।
नेपालमा मेडिकल रेकर्डसमूहसंघीय कानुन बमोजिम स्वास्थ्य सेवा अन्तर्गत राखिएको तथ्यांककर्मीहरुको प्राविधिक समूह हो। नेपाल विविध सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु २०५० मा राजपत्राङ्कित द्वितीय श्रेणी, (उपसचिव वा सो सरह) अन्तर्गत वरिष्ठ मेडिकल रेकर्डर राखिएको थियो र सोहि पदमा कर्मचारी पनि कार्यरत हुनुहुन्थ्यो। पछिल्लो समय उक्त दरबन्दी कटौती गरिएपछि यो समूह स्वास्थ्य सेवा अन्तर्गत अहिले चौंथो तह देखि सातौं,आठौं तह सम्म त्यो पनि अस्पतालमा मात्र रहने गरी दरबन्दी रहेको छ। अहिले सम्म केहि अस्पतालमा मात्र मेडिकल रेकर्ड अधिकृतको दरवन्दी छ। स्वास्थ्य तथ्यांकको केन्द्रीय निकाय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय र एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखामा समेत उक्त समूहको कुनै पनि दरवन्दी छैन। पछिल्लो समय केहि प्रदेशहरुले मेडिकल रेकर्डको दरवन्दी प्रादेशिक स्वास्थ्य मन्त्रालय सम्म पनि राखेका छन् भने कार्य प्रकृतिको समानताका हिसावले कुनै प्रदेशले आर्थिक योजना तथा तथ्यांक सेवा अन्तर्गतको तथ्यांक समूहमा नै मेडिकल रेकर्ड समूहलाई समूहीकृत गरेका छन्। मेडिकल रेकर्डर सहायक चौथो तह देखि वरिष्ठ मेडिकल रेकर्डर अधिकृत आठौं तह सम्म मात्र पदनाम तथा दरबन्दी रहेका मेडिकल रेकर्ड समुहका अधिकारीहरु पदसोपान र वृति विकासका दृष्टिले निरिह र अत्यन्त कमजोर भए पनि जिम्मेवारी र भूमिकाका हिसावले अत्यन्त महत्वपुर्ण छन्।
मेडिकल रेकर्ड अधिकारीको भूमिका
मेडिकल रेकर्ड अधिकारीहरुले चिकित्सा अभिलेख तथा स्वास्थ्य तथ्यांकको व्यवस्थापन र विश्लेषण गर्छन, त्यसैको आधारमा स्वास्थ्य सूचना निर्माण गर्दछन् त्यसकारण उनीहरु तथ्यांकविद् हुन्। अस्पतालमा आएका विरामीको रोगको निदानको आधारमा रुग्णता र मृत्यु तथ्यांकको प्रवृति र ढाँचा नियमित अनुसन्धान गर्दछन् त्यसकारण उनीहरु स्वास्थ्य अनुसन्धानकर्ता हुन्। विरामी संख्या, मानव संसाधन, भवन तथा संरचना, उपकरण, औषधि तथा विभिन्न श्रोत वीचको सम्बन्ध अनुमान र प्रक्षेपण गर्ने सम्बन्धमा श्रोत व्यक्तिको भूमिकामा रहेका उनीहरु अस्पतालका योजनाविद् पनि हुन्। स्वास्थ्य तथ्यांक र स्वास्थ्य उपचार सम्बन्धि सूचनाको केन्द्रमा रहने हुँदा उनीहरु अस्पतालका सूचनाविद् पनि हुन्।
विरामीको भर्ना, उपचार, डिस्चार्ज, जन्म, मृत्यू जस्ता अभिलेखको भण्डारण तथा सुरक्षा गर्ने साथै कानुनी निरुपण गर्नुपर्ने विषयमा अदालत तथा प्रहरीसँग निरन्तर समन्वय गर्नुपर्ने एवं विरामी तथा सेवाग्राहीलाई सो सँग सम्बन्धित विषयमा सहजीकरण गर्नुपर्ने भूमिका पनि भएकोले उनीहरु प्रशासनिक तथा कानुनी सहजकर्ता पनि हुन्। तथ्यांक विश्लेषणको माध्यमबाट नागरिकले प्राप्त गरेको सेवाको गुणस्तर समेत मापन गर्ने हुँदा उनीहरु अस्पतालको सेवा गुणस्तर परीक्षक पनि हुन्। विभिन्न समयमा आउने महामारी तथा प्रकोपजन्य रोगको खोजपड्ताल, प्रतिवेदन तथा विश्लेषण गर्ने एवं ईवार्स फोकल पर्सनको रुपमा काम गरिरहेका उनीहरु स्वास्थ्य महामारी तथा प्रकोपजन्य रोगको विश्लेषक पनि हुन्। अस्पतालमा आएका विरामीहरुको रोग पहिचान भएपछि त्यसलाई अन्तर्राष्ट्रिय वर्गिकरण गर्ने प्रणाली आई.सि.डि. ११ अनुसार प्रविष्ट गर्ने र विश्लेषण गर्ने कार्यमा नेतृत्व गरिरहेका उनीहरु रोगको अन्तर्राष्ट्रिय वर्गिकरण गर्ने प्रणाली आई.सि.डि. ११ का विज्ञ हुन्। अस्पताललाई प्रतिनिधित्व गर्दै प्रकाशित गरिने ऐतिहासिक सामाग्री,वार्षिक प्रतिवेदन, नेपाल सरकारका विभिन्न फोरमहरुमा प्रस्तुत गरिने प्रस्तुतीकरण आदिका निर्माणकर्ता पनि उनै मेडिकल रेकर्ड अधिकारीहरु हुन्।
यति धेरै भूमिका बहन गर्ने मेडिकल रेकर्डसमूहआज किन निरिह बनिरहेको छ ? आजको युग सूचनाको युग भनिन्छ तर स्वास्थ्य सूचनाको केन्द्र भागमै रहेका मेडिकल रेकर्ड अधिकारीहरु किन सधैं छायाँमा पारिएको छ? उनीहरुलाई न अस्पतालले नै प्रयाप्त पेशागत पहिचान सहित उपयोग गरेको छ न राज्यले नै?
प्रविधि र मेडिकल रेकर्ड
रोग निको हुन औषधी नै खानुपर्छ यो सत्य हो तर औषधी मात्र उपचार हो भनेर चिकित्सकको निगरानी र सल्लाह बिना खान लाग्यौं भने कहिलेकाही त ठिकै पनि होला तर त्यो संयोग मात्र हो भन्ने कुरा विर्सन हुँदैन किनकी त्यही औषधीले कुनै अवस्थामा जीवन दिन्छ कुनै अवस्थामा मृत्युपनि। सूचना प्रविधिको युगमा प्रविधि र प्रणालीको तड्कारो आवश्यकता छ तर प्रविधि र प्रणालीमा मात्र भर परेर योजना निर्माण गर्ने कल्पना गरिएको हो भने त्यसले पनि कुनै समय दुर्घटना गराउन सक्छ। प्रविधि साधन हो तर साध्य हैन। जति ठुलो प्रविधि त्यती धेरै सुरक्षा र नियन्त्रण पनि आवश्यक हुन्छ त्यसकारण स्वास्थ्य तथ्यांकको व्यवस्थापनमा गुणस्तरीय स्वास्थ्य तथ्यांकको उत्पादन, स्वास्थ्य सूचना प्रणालीको संचालन तथा निगरानी गर्नको लागि र राज्यको आवश्यकता अनुसार प्रविधिलाई डोर्याउन पनि मेडिकल रेकर्ड समूहको आवश्यकता पर्दछ।
के कृतिम बौद्धिकताको प्रयोगले चिकित्सा क्षेत्रमा चिकित्सकलाई विस्थापन गर्न सक्छ ? सक्दैन। जसरी कृतिम बौद्धिकताको पनि सीमितता हुन्छ ठिक त्यसै गरी चाहे त्यो तथ्यांक, सूचना प्रविधि वा अस्पताल व्यवस्थापक समूह किन नहोस् सबैका आ-आफ्ना विशेषता छन् र सीमितता पनि। त्यसकारण कुनै पनि समूहले मेडिकल रेकर्ड समूहलाई विस्थापन गर्न सक्दैन। नेपाली समाजमा रहेको एउटा भनाइ छ नाती,नातिना मन पर्ने तर छोरा बुहारी मन नपर्ने भने जस्तै राज्यलाई गुणस्तरीय तथ्यांक त चाहिएकै छ तर किन तथ्यांककर्मि नचाहिएको होला ? जसरी चिकित्सक बिना उपचार सम्भव छैन ठिक त्यसरी नै मेडिकल रेकर्ड समूह बिना गुणस्तरीय स्वास्थ्य तथ्यांक सम्भव छैन। विश्वका विभिन्न देशका स्वास्थ्य प्रणालीको अनुभवले पनि त्यही कुरा पुष्टि गरेको छ।
पूर्ण डिजिटल प्रणाली भएपछि अभिलेखन र प्रतिवेदन त्यहि प्रणाली मार्फत नै हुन्छ त्यसकारण मेडिकल रेकर्ड समूह आवश्यक पर्दैन भन्ने कसैको बुझाई हो भने त्यो गलत हुन्छ। तथ्यांकको गुणस्तर परीक्षण, चिकित्सा अभिलेखको व्यवस्थापन, बिरामीको उपचार सूचनाको वैयक्तिक गोपनियता कायम गर्ने, उपचार तथा सूचना प्रमाणीकरण, न्याय सम्पादनमा सहजीकरण, डिजिटल तथ्यांकको सुरक्षा र अन्य नियमित कामहरूले गर्दा पूर्ण डिजिटल प्रणाली लागू भएपछि मेडिकल रेकर्ड समूहको जिम्मेवारी र भूमिका घट्ने होइन झन् बढ्ने निश्चित छ।
सन् २०२२ बाट नेपालमा रोगहरुको वर्गिकरण गर्ने अन्तर्राष्ट्रिय प्रणाली आई.सि.डि. ११ कार्यान्वयनमा रहेको छ तर त्यस सम्बन्धमा कुनै समस्या हल गर्नुपरेमा तालुक निकायमा कोही पनि सो सम्बन्धी विज्ञ रहनु भएको छैन। यो एउटा प्रतिनिधिमुलक विषय हो यसलाई नजरअन्दाज गर्नु पक्कै पनि राम्रो होईन। एकातिर स्वास्थ्य तथ्यांक, त्यहीं माथी पनि अस्पताल तथ्यांक कमजोर भयो भनिरहेका छौं अर्कोतिर तालुक निकायमा अस्पताल तथ्यांक तथा चिकित्सा अभिलेख हेर्ने न कुनै शाखा छ न सम्बन्धीत विज्ञको दरवन्दी नै? यसले के साँच्चै हाम्रो ई.एम.आर., ई.एच.आर सहितको डिजिटलाईजेसनको यात्रा सहज होला? अर्को कुरा मेडिकल रेकर्ड अधिकृत सातौं,आठौं तहमा शुरु नियुक्ति भएका रेकर्ड अधिकारीहरु त्यहि पदबाट निवृत हुनुपर्ने स्थिति छ। एकछिन विचार गरौं त, यो कति न्याय संगत छ ? यो विषय सरोकारवाला विभाग तथा मन्त्रालयले गम्भीर भएर सोच्नुपर्ने होईन र? नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई पूर्ण डिजिटलाईजेसन गर्ने भनिरहेको छ। यो आजको आवश्यकता पनि हो तर के मेडिकल रेकर्ड समूहलाई कुल्चीएरै अघि बढ्दा डिजिटलाईजेसन दिगो होला र?
दरबन्दी पुनरावलोकन र वृति विकास
यदि नेपालको स्वास्थ्य क्षेत्रमा मेडिकल रेकर्ड समूह आवश्यक छैन भन्ने निश्कर्ष हो भने विश्व स्वास्थ्य संगठन सहित विश्वका विभिन्न देशहरुले यो समूहको आवश्यकता किन महसुस गरेका होलान्? यदि यो समूह आवश्यक छ भन्ने हो भने यसको पदसोपान देखि वृतिविकास सम्म मर्यादित तवरले खुल्ला गरिनुपर्छ जसको लागि तालुक मन्त्रालय, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा मेडिकल रेकर्ड निर्देशक; नवौं, दशौं तहको नेतृत्वमा मेडिकल रेकर्डको दरवन्दी कायम गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण सो बमोजिम पुनरावलोकन गर्नुपर्ने छ भने एक सय शैया भन्दा माथिका अस्पतालहरुमा मेडिकल रेकर्ड अधिकृत; सातौं, आठौं तहको नेतृत्वमा दरवन्दी कायम गर्नुपर्छ र सो भन्दा तलका अस्पतालहरुमा मेडिकल रेकर्ड सुपरभाइजर; पाँचौं, छैटौं तहको नेतृत्वमा दरवन्दी कायम गर्नुपर्ने आवश्यकता छ। यसले एकातिर अस्पताल तथ्यांकको गुणस्तर बढ्छ, अर्कोतर्फ डिजिटलाईजेसनको यात्रा, कार्यक्रमको दिगोपना सहित द्रुत गतिमा अघि बढ्न मद्दत पुग्नेछ।
मेडिकल रेकर्ड समूहको दरबन्दी थप गर्दा तथा वृति विकास खुल्ला गर्दा राज्यलाई केहि आर्थिक दायित्व थपिएला तर योजनाको आधारशिला मानिने सम्वेदनशील मानव स्वास्थ्यसँग जोडिएको स्वास्थ्य तथ्यांक क्षेत्रमा गरेको लगानी, सवल स्वास्थ्य प्रणालीको निर्माण गर्दै बिरामीको स्वास्थ्य सुरक्षा गर्ने सम्बन्धमा कोशेढुंगा साबित हुनेछ तसर्थ अरु समूहको जस्तै राज्य हाम्रो पनि अभिभावक हो, हामीलाई विश्वास छ अभिभावकले सबै समूहलाई उत्तिकै महत्वका साथ अभिभावकत्व प्रदान गर्नेछ।
अन्त्यमा
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउदै साँचो अर्थमा प्रमाणमा आधारित योजना निर्माण गर्न मेडिकल रेकर्ड समूहलाई बलियो बनाउनु पर्दछ। सहि अर्थमा स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउने हो भने मेडिकल रेकर्ड, स्वास्थ्य क्षेत्रको खम्बा मात्र होईन नि:सन्देह चालक पनि हो भन्ने कुरा बुझ्न ढिला नगरौं। मेडिकल रेकर्ड समूहलाई साँघुरो बनाएर स्वास्थ्य तथ्यांक र यसको गुणस्तर कदापी फराकिलो हुन सक्दैन तसर्थ यो समूहलाई विश्वास पनि गरौं, क्षमता अभिबृद्धि पनि गरौं, वृति विकास खुल्ला गरौं र समुचित उपयोग पनि गरौं। सबै समूह र सरोकारवाला निकाय हातेमालो गरी सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै स्वास्थ्य क्षेत्रलाई पूर्ण डिजीटलाईजेसनको साथमा बैज्ञानिक व्यवस्थापन गरौं, यो नै आजको आवश्यकता र समयको माग हो।