सुर्खेत– कालीकोटको पताँला अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो अस्पतालभित्रै हातपात भएको छ।
पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.रैन र स्टाफ नर्स गिरीमाथि अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले आक्रमण गरेका हुन्।
स्थानीय मैना बम, उनका दुई छोरा र अन्य स्थानीय समेतले डा. रैन र स्टाफ नर्स गिरीमाथि आक्रमण गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।
प्रशासनका अनुसार मैना बमका १४/१५ वर्षका दुई छोराहरू अस्पतालको ओपिडी अगाडि बसेर अस्पतालको वाइफाइ जोडेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। डा. रैन र नर्स गिरीले उनीहरूलाई बाहिर गएर मोबाइल चलाउन भनेका थिए।
स्वास्थ्य सेवा प्रभावित हुने भएकाले आफू र स्टाफ नर्स शान्ता गिरीले उनीहरूलाई अस्पताल बाहिर गएर मोबाइल चलाउन आग्रह गरेका थिए। त्यसपछि उनीहरूले ‘यहीँ बसेर चलाउँछौँ, कसले के गर्छ ?’ भन्दै विवाद सुरु गरेको आरोप डा. राईनले भने।
उनीहरू त्यसो भनेपछि उनीहरू जंगिएको र सुरक्षा गार्डले निकाल्न खोज्दा डा. रैन र नर्स गिरीमाथि आक्रमण गरेका हुन्। उनीहरूमाथि मैना बम, उनका छोराहरू र अन्य स्थानीयले आक्रमण गरेका हुन्।
महोत्तरी घर भएका अली डा. रैन करिब १६ महिनादेखि करार सेवामा त्यस अस्पतालमा कार्यरत छन्। नर्स गिरीको पिठ्युँ, निधार, अनुहारमा तथा र डा.रैनको आँखाको डिलमा चोट लागेको छ।
उक्त घटनामा प्रहरी परिचालन भई, घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको साथै उक्त स्थानमा इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा समेत टोली खटेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।