हुम्ला- हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ४ लाई बिहीबार एक कार्यक्रमका बीच पूर्ण खोपयुक्त वडा सुनिश्चित गरिएको छ। वडाका सबै बालबालिकाले आफ्नो उमेर समूहमा पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएसँगै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो।
चैत अन्तिम साता वडामा कार्यरत स्वास्थ्यकर्मीहरूको अनुगमनका क्रममा सबै बालबालिकाहरूले पाउनुपर्ने खोप पूर्ण रूपमा पाएको र कम उमेरका बालबालिकाहरूले नियमित रूपमा खोप लिइरहेको देखिएपछि यो घोषणा गरिएको साया स्वास्थ्य चौकीका इन्चार्ज बवरजंग पालले बताए।
स्वास्थ्य चौकीमा कार्यरत डा. ईश्वरी पौडेलले वडाका १५ महिनामुनिका ३९ जना, १६ देखि २३ महिनाका २४ जना र २४ देखि ५९ महिनाका १०७ जना गरी कुल १७० जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको प्रतिवेदन सार्वजनिक गरेकी थिइन्।
वडाध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष धन बहादुर छत्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सिंह सिंह, सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन साया स्वास्थ्य चौकीका इन्चार्ज बवरजंग पालले गरेका थिए।