हालै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अपी बेसक्याम्प क्षेत्रमा क्रिकेट खेलिएको भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा सुदूरपश्चिमको यो सुन्दर गन्तव्य व्यापक चर्चामा आएको छ। धेरैले अपी बेसक्याम्प पुग्ने विभिन्न यात्रा योजना साझा गरिरहेका छन्। यसले पदयात्रा र आन्तरिक पर्यटनलाई प्रोत्साहन दिएको छ, जुन सकारात्मक कुरा हो।
निसन्देह, पदयात्रा र पर्यटनले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। यसले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउँछ। तर उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा अर्को एउटा यथार्थलाई पनि सँगसँगै बुझ्न आवश्यक छ- उचाइजन्य रोग वा लेक लाग्नु।
उचाइजन्य रोग कुनै काल्पनिक जोखिम होइन। यो वास्तविक चिकित्सा समस्या हो, जसले प्रत्येक वर्ष नेपाल तथा हिमालय क्षेत्रमा तीर्थयात्री, पदयात्री र पर्वतारोहीहरूको ज्यान लिने गर्छ।
उचाइजन्य रोगले वास्तवमै ज्यान लिन सक्छ
मुक्तिनाथ, कैलाश–मानसरोवर, केदारनाथ, सगरमाथा क्षेत्र तथा अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यहरूमा हरेक वर्ष बिरामी हुने र मृत्यु हुने घटनाहरू सुनिन्छन्। यस्ता घटनामध्ये धेरैमा गम्भीर उचाइजन्य रोग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जिम्मेवार हुने गर्छ।
गम्भीर उचाइजन्य रोगका दुई प्रमुख रूप छन्, उच्च उचाइका कारण मस्तिष्क सुन्निने अवस्था (एचएसीई) र फोक्सोमा पानी जम्ने अवस्था (एचएपीई)। दुवै अवस्था उपचारमा ढिलाइ भए घातक हुन सक्छन्।
दुःखद पक्ष के छ भने यस्ता अधिकांश घटना रोक्न सकिने खालका भए पनि यससम्बन्धी जानकारीको अभावका कारण धेरैले ज्यान गुमाउने गरेका छन्।
जोखिमको मुख्य कारण: छिटो उकालो लाग्नु
उचाइजन्य रोगको जोखिम निर्धारण गर्दा दिनभर कति उकालो चढियो भन्नेभन्दा पनि कुन उचाइमा गएर रात बिताइयो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। यसलाई रात्रि विश्रामको उचाइ भन्न सकिन्छ।
सामान्यतः ३,००० मिटरभन्दा माथि पुगेपछि:
अघिल्लो रातको तुलनामा ५०० मिटरभन्दा बढी उचाइमा रात बिताउन नहुने सिफारिस गरिन्छ।
प्रत्येक १,००० मिटर रात्रि विश्रामको उचाइ बढेपछि कम्तीमा एक अतिरिक्त रात सोही उचाइमा बिताएर शरीरलाई उचाइसँग अनुकूलन हुन समय दिनुपर्छ।
यी आधारभूत नियमहरू नमान्दा उचाइजन्य रोगको जोखिम उल्लेखनीय रूपमा बढ्छ।
सामाजिक सञ्जालमा साझा भइरहेका केही अपी बेसक्याम्प योजना किन जोखिमपूर्ण छन्?
हाल सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका केही यात्रा योजनाहरू चिकित्सा दृष्टिले हेर्दा जोखिमयुक्त देखिन्छन्।
कतिपयले सीती (लगभग २,२०० मिटर) बाट हिँडेर सोही दिन अपी बेसक्याम्प (लगभग ४,००० मिटर) पुगेर रात बिताउने सुझाव दिएका छन्। यस अवस्थामा एकै दिनमा करिब १,८०० मिटर रात्रि विश्रामको उचाइमा वृद्धि हुन्छ, जुन अत्यन्त ठूलो वृद्धि हो। यस्तो योजनामा गम्भीर उचाइजन्य रोगको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्छ।
अरू केही योजनामा सीती (२,२०० मिटर) बाट सिमार (२,८०० मिटर) पुगेर रात बिताउने र अर्को दिन अपी बेसक्याम्प पुगेर त्यहीँ रात बिताउने सुझाव दिइएको छ। पहिलो दिन ६०० मिटर र दोस्रो दिन १,२०० मिटर रात्रि विश्रामको उचाइमा वृद्धि हुने भएकाले यो योजना तुलनात्मक रूपमा केही सुरक्षित भए पनि अझै उच्च जोखिमको श्रेणीमा पर्छ।
यसको तुलनामा सुरक्षित विकल्प यस्तो हुन सक्छ:
पहिलो दिन: सीतीबाट सिमार (२,८०० मिटर)
दोस्रो दिन: सिमारबाट धौलिओढार (लगभग ३,४०० मिटर)
तेस्रो दिन: धौलिओढारमै अतिरिक्त एक रात बसी शरीरलाई उचाइसँग अनुकूलन हुन दिने
चौथो दिन: अपी बेसक्याम्प पुग्ने र पुनः धौलिओढार फर्केर रात बिताउने
उचाइजन्य रोग रोकथामको सबैभन्दा प्रभावकारी सिद्धान्तमध्ये एक हो, दिनमा माथि पुग्ने तर राति तुलनात्मक रूपमा तल बसेर बिताउने।
यसरी यात्रा गर्दा थप समय र केही अतिरिक्त खर्च लाग्न सक्छ। तर हिमाली यात्रामा एउटा पुरानो नियम आज पनि उत्तिकै सान्दर्भिक छ, बिस्तारै यात्रा गर्नु नै सुरक्षित यात्रा हो।
उचाइजन्य रोगका लक्षणलाई कहिल्यै बेवास्ता नगर्नुहोस्
उचाइजन्य रोगको रोकथाममा सबैभन्दा महत्त्वपूर्ण नियममध्ये अर्को एक हो, लक्षण देखिएपछि थप उकालो नलाग्ने।
टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, असामान्य थकान महसुस हुने, भोक हराउने, निद्रामा समस्या हुने, हिँड्दा सन्तुलन बिग्रिने, अत्यधिक सास फेर्न गाह्रो हुने वा आराम गर्दा पनि स्वास फुल्ने जस्ता लक्षणहरू उचाइजन्य रोगका संकेत हुन सक्छन्।
यदि यस्ता लक्षण देखा परे भने:
थप माथि जान तुरुन्त रोक्नुपर्छ।
आराम गर्नुपर्छ।
अवस्था सुधार नभए वा बिग्रँदै गए तुरुन्त तल झर्नुपर्छ।
उचाइजन्य रोगमा लक्षण बेवास्ता गरेर जबरजस्ती अघि बढ्ने मानसिकता अत्यन्त खतरनाक हुन सक्छ। धेरै दुःखद घटनाहरू लक्षणलाई सामान्य थकान ठानेर थप उकालो लाग्दा भएका छन्।
यात्रापूर्व स्वास्थ्य परामर्शको संस्कृति किन आवश्यक छ?
नेपालमा हजारौं मानिसहरू हरेक वर्ष उच्च हिमाली पदयात्रा वा तीर्थयात्रामा जान्छन्। तर अधिकांशले यात्रापूर्व कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिँदैनन्।
नेपाल घुम्न आउने विदेशी पदयात्री र पर्वतारोहीहरू प्रायः आफ्नै देशमा यात्रा अघि चिकित्सकीय परामर्श लिन्छन्। उनीहरूलाई आफ्नो यात्रा योजनाको जोखिम, उचाइजन्य रोगको सम्भावना, रोकथामका उपाय र आवश्यक औषधिबारे जानकारी दिइएको हुन्छ। धेरैजना उचित तयारी र वैज्ञानिक सिफारिसअनुसार यात्रा गर्छन्।
तर हामी नेपालीहरू भने आफ्नै हिमालमा यात्रा गर्दा प्रायः कुनै तयारीबिना, जोखिमबारे पर्याप्त जानकारीबिना र चिकित्सकीय परामर्शबिना निस्कने गर्छौं।
यो अवस्था परिवर्तन हुन आवश्यक छ।
उच्च हिमाली पदयात्रा, मुक्तिनाथ, गोसाइँकुण्ड, मानसरोवर, केदारनाथ, अपी बेसक्याम्प, अन्नपूर्ण क्षेत्र वा सगरमाथा क्षेत्रजस्ता गन्तव्यमा जाने योजना बनाउँदा यात्रापूर्व स्वास्थ्य परामर्शलाई यात्राको नियमित तयारीकै हिस्सा बनाइनुपर्छ।
विशेषज्ञ चिकित्सकले प्रस्तावित यात्राको जोखिमको मूल्याङ्कन गर्न सक्छन्। आवश्यक परे सुरक्षित विकल्प सुझाउन सक्छन्। जोखिम कम गर्न मद्दत गर्ने वैज्ञानिक उपायहरू सिकाउन सक्छन्। साथै, यात्रा योजना परिवर्तन गर्न नसकिने अवस्थामा रोकथामका औषधि कहिले र कसरी प्रयोग गर्ने भन्नेबारे पनि परामर्श दिन सक्छन्।
यी औषधिहरू सामान्यतः सस्ता, सुरक्षित र प्रभावकारी हुन्छन् तथा सही व्यक्तिमा सही तरिकाले प्रयोग गर्दा जीवनरक्षक हुन सक्छन्।
एउटा खतरनाक भ्रम: “म फिट छु, मलाई उचाइजन्य रोग लाग्दैन”
उचाइजन्य रोगबारे सबैभन्दा प्रचलित भ्रम यही हो।
धेरै युवा, खेलाडी तथा शारीरिक रूपमा अत्यन्त फिट व्यक्तिहरू आफूलाई उचाइजन्य रोगबाट सुरक्षित ठान्छन्। फलस्वरूप उनीहरू छिटो उकालो लाग्ने, कम समयमा गन्तव्य पुग्ने र शरीरका चेतावनी संकेतलाई बेवास्ता गर्ने गर्छन्।
तर उचाइजन्य रोग शारीरिक तन्दुरुस्तीमा आधारित रोग होइन।
उत्कृष्ट खेलाडी, म्याराथन धावक, सैनिक, पर्वतारोही वा पूर्ण रूपमा स्वस्थ व्यक्तिहरू पनि उचाइजन्य रोगको सिकार हुन सक्छन्। वास्तवमा शारीरिक रूपमा फिट भएकाले छिटो उकालो लाग्ने प्रवृत्ति राख्दा उनीहरू कहिलेकाहीँ अझ बढी जोखिममा पर्न सक्छन्।
सुरक्षित पर्यटन नै दिगो पर्यटन
अपी बेसक्याम्पको लोकप्रियता बढ्नु, नयाँ पदयात्रा मार्गहरू चर्चामा आउनु र हिमाली पर्यटन विस्तार हुनु सकारात्मक कुरा हो। तर पर्यटनको प्रवर्द्धनसँगै सुरक्षित यात्राको सन्देश पनि उत्तिकै बलियो हुनुपर्छ।
आज नेपालमा उच्च हिमाली पदयात्रा र तीर्थयात्रामा जाने मानिसहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। त्यसैले उचाइजन्य रोगबारे जनचेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ।
उचाइजन्य रोग मिथक होइन। यो वास्तविक जोखिम हो। तर राम्रो योजना, पर्याप्त अनुकूलन, लक्षणको समयमै पहिचान, आवश्यक परे रोकथामका औषधि र यात्रापूर्व स्वास्थ्य परामर्शमार्फत अधिकांश गम्भीर घटना रोक्न सकिन्छ।
हामीले पर्यटनलाई मात्र होइन, सुरक्षित पर्यटनलाई पनि प्रवर्द्धन गर्नुपर्छ। किनकि हिमालको यात्रा सम्झनाका लागि हुनुपर्छ, दुःखद समाचारका लागि होइन।