काठमाडौं– ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज १४ गते राति करिब १ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा आएका व्यक्तिहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई गालीगलौज, धाकधम्की तथा हातपातसमेत गरेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर चेकजाँच गर्दा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो ।
स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गर्नेहरुमा कीर्तिपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन् । उनीहरुमाथि अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँचदिनको म्याद थप गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।