काठमाडौं- स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंकवाक २०२६’ एक हजारभन्दा बढीको सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित दरबार स्क्वायरमा भेला भई सहभागीहरूले ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गरेका हुन्। पदयात्रीहरूले क्यान्सरसम्बन्धी सचेतनामूलक प्लेकार्डहरू बोकेर धिमेबाजाका साथ पदयात्रा गरेका थिए।
पाटन दरबार क्षेत्रमा आयोजित समापन समारोहमा विशिष्ट अतिथिहरू माइती नेपालकी संस्थापक अनुराधा कोइराला, सांसद डा. ओजश्वी शेरचन, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री सुमना श्रेष्ठ, संगीतकर्मी कालीप्रसाद बास्कोटा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेल तथा मिस नेपाल दीपमाला दाहाल र मिस नेपाल कस्मो कसिस सुब्बाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा क्यान्सर केयरका चिकित्सकहरू डा. मदन पिया, डा. सन्ध्या चापागाईं र डा. रश्मी पुनले स्तन क्यान्सरको पहिचान, शरीरमा आउने परिवर्तनहरू र समयमै गरिने उपचारबारे जानकारी गराएका थिए।
पूर्वमिस नेपाल सुगारिका केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा क्यान्सर जितेका व्यक्तिहरूले आफ्नो अनुभव सुनाउँदै क्यान्सर जटिल रोग भए पनि समयमै पहिचान र उपचार गरेमा पूर्ण रूपमा निको भई सामान्य जीवनयापन सम्भव हुने प्रेरणादायी सन्देश दिएका थिए।
स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजित पदयात्रामा स्वास्थ्यकर्मी, क्यान्सर सर्भाइभर, प्रभावित परिवार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा संकलित रकम क्यान्सरपीडितहरूको सहयोगका लागि क्यान्सर केयर नेपाललाई हस्तान्तरण गरिएको छ।
‘पिंकवाक २०२६’ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालको सहकार्यमा आयोजना गरेको हो। कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत विभिन्न अस्पताल, संस्था र व्यावसायिक प्रतिष्ठानहरूले सहयोग तथा साझेदारी गरेका थिए।