काठमाडौं- नुवाकोटका बाढीप्रभावित क्षेत्रका ३०० भन्दा बढी परिवारलाई दक्षिण कोरियाबाट आएका चिकित्सक टोली र नेपालका चिकित्सकले राहत सामग्री वितरण गरेका छन्।
दक्षिण कोरयाको खवान्जु मेट्रोपोलिटियन मेडिकल एसोसिएसन र कोरियन मेडिकल एसोसिएसन तथा नेपालबाट नेपाल चिकित्सक संघको संयुक्त पहलमा राहत सामग्री वितरण गरिएको हो।
दक्षिण कोरियाको खवान्जु मेट्रोपोलिटियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. चोई जियोङ सेवको नेतृत्वमा आएको टोलीले नेपाल चिकित्सक संघसँगको सहकार्यमा नुवाकोट पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। टोलीले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ३२० परिवारका लागि आवश्यक ब्ल्याङ्केट तथा ओछ्यानसहितका राहत सामग्री उपलब्ध गराएको छ।
जाडो यामलाई ध्यानमा राखी बाढीप्रभावितहरूका लागि मानवीय सहायता पुर्याउने उद्देश्यले 'विन्टर रिलिफ सपोर्ट एन्ड ह्युमानिटेरियन एसिस्टेन्स' कार्यक्रम अन्तर्गत उक्त राहत सहयोग गरिएको हो। जसमा कोरियाका तर्फबाट २२० परिवार र नेपाल चिकित्सक संघका तर्फबाट १०० परिवार गरी कुल ३२० बाढीप्रभावित परिवारका लागि ब्ल्याङ्केट र ओछ्यान सहितका सामग्री प्रदान गरिएको छ।
उक्त राहत कार्यक्रमका लागि कोरियाका तर्फबाट नेपालका लागि मानार्थ वाणिज्य दूत (अनररी कन्सुल) जियोन सुङयोङले संयोजन गरेका थिए भने नेपालका तर्फबाट रुद्र शर्माले समन्वय गरेका थिए। कोरियाली प्रतिनिधिमण्डलमा अध्यक्ष चोई जियोङ सेव र मानार्थ वाणिज्य दूत जियोन सुङयोङसहित सिनियर एड्भाइजर वियोङ सुन पाक, डा. नाम साङ्कु र डा. सियो ज्योङस्योङको सहभागिता रहेको थियो।
राहत हस्तान्तरणका लागि नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारीसहितको टोली नुवाकोट पुगेको थियो। उनका अनुसार विदुर नगरपालिकाका प्रमुख श्रेष्ठ र पालिकाका कर्मचारीहरुको रोहबरमा पीडित परिवारलाई नै राहत सामग्री हस्तान्तरण गरिएको छ।
बाढीका कारण कठिन परिस्थिति झेलिरहेका स्थानीयलाई चिसो मौषममा थप समस्या नहोस् भनेर गरिएको यो सहयोगले ठूलो राहत पुग्ने विश्वास लिइएको संघका अध्यक्ष डा बद्री रिजालले जानकारी दिए।