काठमाडौं– बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा महिला बिरामीको संवेदनशील अंग छोएको आरोपमा सञ्चालक पक्राउ परेको घटनाबारे नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
परिषद्ले २०८३ असोज १९ गते जारी गरेको विज्ञप्तिमा उक्त घटनाका सम्बन्धमा परिषद्मा अनलाइन उजुरी परेको र घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनाबारे अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न परिषद्ले ५ सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ। समितिले घटनासँग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान गरी परिषद्मा प्रतिवेदन पेस गर्नेछ।
यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न रहेको आरोपमा थापा पोलिक्लिनिकका सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई पक्राउ गरेको जनाएको थियो। प्रहरीका अनुसार उपचारका क्रममा महिला बिरामीको संवेदनशील अंग छोएको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो।
प्रहरीले थापालाई पक्राउ गरी बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले थापा उपचार गर्न इजाजत प्राप्त नभएको र सीएमए प्रमाणपत्र मात्र प्राप्त व्यक्ति रहेको आचारसंहिता विपरीत कार्य गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।