काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको विवरणलाई एकीकृत र डिजिटल बनाउँदै मानव संसाधन सूचना प्रणाली (एचआरआईएस) कार्यान्वयनमा लैजाने तयारी गरेको छ।
प्रणालीमार्फत स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको दरबन्दी, पद, कार्यरत संस्था, पदस्थापन, सेवा समूह, तह तथा कर्मचारीको संख्यालगायतका विवरण एकीकृत रूपमा डिजिटल अभिलेखमा राखिनेछ। यससँगै कर्मचारी कहाँ कार्यरत छन्, कुन संस्थामा कति जनशक्ति छ र कुन स्थानमा जनशक्तिको आवश्यकता छ भन्ने विवरणसमेत प्रणालीबाट हेर्न सकिने गरी व्यवस्थापन गरिने मन्त्रालयको तयारी छ।
त्यस्तै, कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी विवरणसमेत डिजिटल प्रणालीमा अद्यावधिक गरिनेछ। यसले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णयका लागि आवश्यक तथ्यांक तत्काल उपलब्ध गराउनुका साथै जनशक्तिको वितरण र आवश्यकताको अवस्थालाई एकै ठाउँबाट विश्लेषण गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयले प्रणालीको आवश्यक प्राविधिक संरचना र कर्मचारीसम्बन्धी विवरणलाई व्यवस्थित गरिसकेकाले अब प्रणालीलाई नियमित प्रयोगमा ल्याउने र कार्यान्वयनलाई प्रभावकारी बनाउनेतर्फ काम अघि बढाउने जनाएको छ।