काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद 'क्षेत्रीय निर्देशक'का लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि खाली भएको उक्त शीर्ष पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई अघि सार्ने तयारी गरेको हो।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. मिश्रालाई डब्लुएचओ सेरोको नेतृत्वमा पुर्याउन सरकारले निर्णयसहित सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय र समर्थनका लागि लबिङ सुरु गरिसकेको छ। डब्लुएचओले नयाँ क्षेत्रीय निर्देशक चयनको औपचारिक कार्यतालिका चाँडै सार्वजनिक गर्ने तयारी गरे पनि आगामी अक्टोबर १२ मा मनोनयन आह्वान गरी आगामी जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको छ। यस पदका लागि नेपालबाहेक भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आ-आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेका छन्।
दक्षिण-पूर्वी एसियाली क्षेत्रका ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक १० देशले मात्र मतदान गर्न पाउनेछन्। सन् २०२१ को सैन्य कु पछि संयुक्त राष्ट्रसंघको प्रतिबन्धमा परेकाले म्यानमार भने मतदान प्रक्रियाबाट बाहिर रहनेछ। यस क्षेत्रमा नेपाल, भारत, भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, थाइल्याण्ड र टिमोर-लेस्टेलगायतका देशहरू निर्णायक मतदाता हुन्। यसपटकको निर्वाचनमा भारतको समर्थन कसलाई रहन्छ भन्ने विषयले पनि नतिजामा ठूलो असर पार्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्।
यसअघि सन् २०२३ मा भएको सेरो क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट डब्लुएचओ हेडक्वार्टरमा नै कार्यरत वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भु आचार्य प्रत्यासी बनेका थिए। तर, तत्कालीन बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले शक्ति र कूटनीतिक पहुँचको प्रयोग गरी ८ मत प्राप्त गर्दा आचार्यले २ मत मात्र पाएका थिए। पछि बंगलादेशमा भएको राजनीतिक परिवर्तन, भ्रष्टाचारका आरोप र डब्लुएचओको आन्तरिक छानबिनपछि वाजेदलाई निलम्बन गरिएको थियो र उनले सेप्टेम्बर ९ मा पदबाट राजीनामा दिएकी थिइन्।