काठमाडौं- नेपालमा भास्कुलरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘हिमालय इन्टरनेसनल भास्कुलर समिट’ (हिमभास) को दोस्रो संस्करण आयोजना हुने भएको छ। ‘हिमभास–२०२७’ मा १०० भन्दा बढी देशका विज्ञ चिकित्सक तथा वैज्ञानिकलाई सहभागी गराउने तयारी गरिएको छ।
सम्मेलन आगामी चैत ३ देखि ७ गतेसम्म अर्थात् सन् २०२७ को मार्च १७ देखि २१ सम्म काठमाडौंमा हुनेछ। सम्मेलनमा नेपालीसहित एक हजारभन्दा बढीको सहभागिता हुने आयोजकको अपेक्षा छ।
सम्मेलनका संयोजक तथा वरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेयले मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ६० भन्दा बढी देशबाट प्रतिनिधिले दर्ता गरिसकेको जानकारी दिए।
१०० भन्दा बढी देशका विज्ञलाई निमन्त्रणा
सन् २०२४ मा काठमाडौंमै भएको हिमभासको पहिलो संस्करणमा ४३ देशका विज्ञ चिकित्सकसहित करिब ३५० जनाको सहभागिता थियो।
यसपटक १०० भन्दा बढी देशमा निमन्त्रणा पठाइएको र ६०० भन्दा बढी विदेशी सहभागी हुने अपेक्षा गरिएको डा. पाण्डेयले बताए।
‘यसपटक नेपालीसहित एक हजारभन्दा बढीको सहभागिता हुने लक्ष्य राखेका छौँ,’ उनले भने।
प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने देशका चिकित्सक, अनुसन्धानकर्ता तथा विद्यार्थीलाई भर्चुअल माध्यमबाट सम्मेलनमा जोड्ने तयारीसमेत गरिएको छ।
सम्मेलनमा भास्कुलर सर्जन, कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, भास्कुलर तथा कार्डियाक सर्जरी फेलो, सर्जिकल रेसिडेन्ट, नर्स प्राक्टिसनर, फिजिसियन असिस्टेन्ट र नर्सलगायत स्वास्थ्यकर्मी सहभागी हुनेछन्।
३०० भन्दा बढी शोधपत्र तथा पोस्टर प्रस्तुत गरिने
सम्मेलनमा भास्कुलरसम्बन्धी नयाँ खोज, अध्ययन, अनुसन्धान तथा उपचार विधिबारे प्रस्तुति र छलफल हुनेछ। आयोजकका अनुसार ३०० भन्दा बढी शोधपत्र तथा पोस्टर प्रस्तुत गरिनेछ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, जापान, चीन, भारत, यूएईलगायत देशका विज्ञ सहभागी हुनेछन्। त्यस्तै दक्षिण एसिया तथा युरोपका विभिन्न देशबाट समेत विज्ञ चिकित्सकले सहभागिता सुनिश्चित गरिसकेको डा. पाण्डेयले बताए।
‘चिकित्सा भनेको विज्ञान हो। यो परिवर्तन भइरहन्छ। विश्वका विभिन्न देशमा स्वास्थ्य उपचारलाई सहज बनाउन नियमित रूपमा खोज, अध्ययन र अनुसन्धान भइरहेका छन्। यस समिटले ती अध्ययन, अनुसन्धान र उपचार अनुभव आदान–प्रदान गर्ने अवसर दिनेछ,’ उनले भने।
हिमालयन रेन्जमा रहेका मुलुकलाई समेटेर भास्कुलरसम्बन्धी ज्ञान, अनुसन्धान र उपचार अनुभव आदान–प्रदान गर्ने उद्देश्यले हिमभास सुरु गरिएको हो। यसको अवधारणा तथा डिजाइनर डा. पाण्डेय हुन्।
मेडिकल टुरिजम प्रवर्द्धनमा जोड
सम्मेलनको अर्को उद्देश्य नेपालको मेडिकल टुरिजम प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
डा. पाण्डेयका अनुसार पहिलो हिमभासमा सहभागी ४० भन्दा बढी विदेशी विज्ञ सम्मेलनपछि माउन्टेन फ्लाइट र अन्नपूर्ण बेस क्याम्प (एबीसी) ट्रेकलगायत क्षेत्रमा पुगेका थिए।
यसपटक पनि सहभागी विदेशी चिकित्सकले सम्मेलनपछि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने इच्छा देखाएको उनले बताए।
पहिलो सम्मेलनपछि नेपालमा उपचारका लागि विदेशी बिरामी आउने क्रम बढेको दाबी गर्दै डा. पाण्डेयले भारत, भुटान, बंगलादेश, मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की तथा केही युरोपेली देशबाट समेत बिरामी उपचारका लागि आएको बताए।
सम्मेलन व्यवस्थापनको जिम्मेवारी पाएको इभेन्टिक नेपालका पेशल भट्टराईले हिमभासले नेपालको स्वास्थ्य सेवा र मेडिकल टुरिजमलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताए।