काठमाडौं– काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालको आईसीयू (सघन उपचार कक्ष) भित्रै पुगेर बिरामीको अन्तर्वार्ता लिइएको विषयमा नेपाल मेडिकल काउन्सिलले औपचारिक छानबिन अगाडि बढाएको छ।
प्रेस काउन्सिल नेपालबाट प्राप्त पत्रका आधारमा मेडिकल काउन्सिलले आईसीयूभित्र अन्तर्वार्ता लिँदा उपचार प्रोटोकल र मेडिकल आचारसंहिता पालना भए/नभको भन्ने विषयमा अनुसन्धान थालेको हो। छानबिनका क्रममा आईसीयू प्रोटोकल, बिरामीको गोपनीयता तथा सुरक्षा र उपचार आचारसंहिताको दायराभित्र यो कार्य पर्छ कि पर्दैन भन्नेबारे विस्तृत जानकारी संकलन हुने छ।
काउन्सिलका अध्यक्ष डा. ढुण्डीराज पौडेलका अनुसार सम्बन्धित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पदाधिकारी तथा कर्मचारीहरूसँग घटनाबारे विवरण लिइने छ। साथै, यस विषयमा विशेषज्ञहरूसँग परामर्श र छलफल गर्ने कामसमेत अघि बढाइएको उनले जानकारी दिए।
'यो विषयमा काउन्सिलमा पत्र प्राप्त भएपछि हामीले उपचार प्रोटकल, आचारसंहित लगायतका विषयमा सम्बन्धित अस्पताल र विज्ञहरुसँग छलफल अगाडि बढाइसकेका छौं,' उनले भने, 'विवरणहरु संकलनको काम अगाडि बढीसकेको छ। यसमा आचार संहिता पालना भए नएभको, उपचार प्रोटोकलभित्र के के पर्छ, प्रोटोकल अनुसार उपचार भए नभएको, आईसीयूको संवेदनशीलता र बिरामीको गोपनियता लगायतका सबै कुरा हेर्ने काम हुन्छ।'
सञ्चारकर्मी सुरजसिंह ठकुरीले आईसीयूमा उपचाररत सञ्जय शाह र कबिर महर्जनको अन्तर्वार्ता लिएका थिए। उक्त अन्तर्वार्तालाई लिएर चौतर्फी आलोचना भइरहेको छ। ठकुरीले भने चिकित्सक, बिरामी र अस्पतालको अनुमति लिएरै अन्तर्वार्ता लिएको दाबी गरेका छन्।