अस्पतालको करिडोरमा सेतो कोट लगाएको चिकित्सक तथा स्वास्थ्यकर्मी देख्दा बिरामीले एउटा विशेष अनुभूति गर्छ- ‘अब मेरो उपचार गर्ने मान्छे यही हो।’ घाँटीमा झुन्डिएको स्टेथोस्कोपले त्यस पहिचानलाई अझ स्पष्ट बनाउँछ। सेतो कोट र स्टेथोस्कोप चिकित्सकको पेशागत पहिचान मात्र होइनन्, समाजले चिकित्सा पेशामाथि राखेको विश्वासका दृश्यात्मक प्रतीक पनि हुन्।
तर पछिल्लो समय एउटा दृश्य हाम्रो सामाजिक र चिकित्सकीय संस्कृतिमा अस्वाभाविक रूपमा सामान्य बन्दै गएको छ। अस्पतालमा बिरामी जाँच्ने सेतो कोट र स्टेथोस्कोपसहित चिकित्सक अस्पतालबाहिर क्याफेमा चिया पिइरहेका, रेस्टुरेन्टमा खाना खाइरहेका वा सार्वजनिक स्थानमा घुमिरहेका भेटिन्छन्। कतिपय अवस्थामा त्यही क्लिनिकल अटायरमै धूमपान गरिरहेको दृश्य पनि देखिन्छ।
यहाँ प्रश्न चिकित्सकलाई यस्तो पोसाक लगाउन कानुनले अनुमति दिन्छ कि दिँदैन भन्ने होइन। प्रश्न अझ गम्भीर छ- क्लिनिकल वातावरणमा प्रयोग भएको पहिरनलाई हामीले सामान्य सडकमा हिँडडुल वा खानपिनको पोसाकका रूपमा व्यवहार गर्नु कति वैज्ञानिक, प्रोफेसनल र नैतिक छ भन्ने हो।
हामीमध्ये धेरैको एउटा सामान्य धारणा हुन्छ- सेतो कोट सफा देखिन्छ भने त्यो सफा नै हो। तर विज्ञानले आँखाले देखिने सफाइभन्दा फरक कुरा बताउँछ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले चिकित्सकहरूले लगाउने ह्वाइट कोटमा माइक्रोबियल कन्टामिनेसन व्यापक हुन सक्ने देखाएको थियो। विशेषगरी कफ्स र पकेट्सजस्ता भागमा कन्टामिनेसन बढी भेटिएको थियो।
अमेरिकामा गरिएको अर्को अध्ययनमा फिजिसियनहरूले लगाउने ह्वाइट कोट र स्क्रब्स ड्रेसमा उल्लेख्य हिस्सामा स्टाफाइलोकोकस ओरियस भेटिएको थियो र इनपेसियन्ट केयरसँग कन्टामिनेसनको सम्बन्ध देखिएको थियो।
अर्थात्, क्लिनिकल कोट सफा देखिन सक्छ, तर त्यसमा सूक्ष्मजीव नहुन सक्छ भन्ने ग्यारेन्टी हुँदैन।
तर यहाँ वैज्ञानिक इमानदारी आवश्यक छ। क्लिनिकल क्लोदिङमा ब्याक्टेरिया भेटियो भन्दैमा त्यही कोटबाट अर्को व्यक्तिमा संक्रमण अनिवार्य रूपमा सर्छ भन्न मिल्दैन। हाल उपलब्ध एभिडेन्सले कन्टामिनेटेड क्लोदिङ र प्रत्यक्ष हेल्थकेयर–असोसिएटेड इन्फेक्सनबीचको कजाल रिलेसनसिप पूर्ण रूपमा स्थापित गरेको छैन। यही कारणले बहसलाई डर फैलाउने होइन, रिस्क रिडक्सन र गुड प्राक्टिसको दृष्टिले हेर्नुपर्छ।
यो विषय विदेशका अस्पतालमा मात्र सीमित छैन। हाम्रै काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हेल्थकेयर वर्कर्सका युनिफर्ममा गरिएको अध्ययनमा प्याथोजेनिक ब्याक्टेरियाको उल्लेख्य कन्टामिनेसन भेटिएको थियो। अध्ययनमा स्टाफाइलोकोकस ओरियस, इशेरिकिया कोलाई, सुडोमोनास एरुजिनोसा र एसिनेटोब्याक्टर लगायतका जीवाणु पहिचान भएका थिए।
यसले हामीलाई एउटा सरल प्रश्न सोध्न बाध्य बनाउँछ—यदि क्लिनिकल युनिफर्ममा प्याथोजेनिक माइक्रोअर्गानिज्म बस्न सक्छन् भने, त्यसलाई खाना खाने टेबलसम्म पुर्याउनु हाम्रो राम्रो इन्फेक्सन–कन्ट्रोल कल्चर हो त?
उत्तर ‘संक्रमण अवश्य हुन्छ’ भन्ने होइन, तर उत्तर ‘त्यसमा कुनै जोखिम नै छैन’ भन्ने पनि होइन।
स्वास्थ्य सेवामा आधुनिक इन्फेक्सन प्रिभेन्सनको आधारभूत सोच नै अनावश्यक संक्रमणको सम्भावना घटाउनु हो।
कल्पना गरौँ, एक चिकित्सक वा स्वास्थ्यकर्मीले क्लिनिकल सेटिङमा काम गर्यो। बिरामीको एक्जामिनेसन गर्यो, विभिन्न क्लिनिकल सर्फेस छोयो, उपकरण प्रयोग गर्यो। त्यसपछि त्यही कोट लगाएर अस्पतालको क्याफेमा गयो र खाना खान बस्यो।
त्यहाँ प्रश्न केवल कोटमा ब्याक्टेरिया छ कि छैन भन्ने होइन। प्रश्न हो—हामीले क्लिनिकल इन्भाइरोन्मेन्ट र फुड–कन्जम्प्सन इन्भाइरोन्मेन्टबीचको सीमालाई किन यति सहज रूपमा मेटाइरहेका छौँ?
विशेषगरी इन्फेक्सस डिजिज वा आइसोलेसन सेटिङमा प्रयोग हुने पीपीईको कुरा अझ स्पष्ट छ। पीपीई प्यासेन्ट–केयर एरिया छोड्नुअघि उचित तरिकाले हटाउनुपर्ने इन्फेक्सन–कन्ट्रोल प्रिन्सिपल हो।
तर ह्वाइट कोट, स्क्रब्स र पीपीई एउटै कुरा होइनन्। आईसीयूमा प्रवेश गरेको मात्र कारणले कुनै कोटलाई कन्टामिनेटेड पीपीई मान्न मिल्दैन। रिस्क वास्तविक एक्सपोजरमा निर्भर गर्छ र यही न्युआन्स बुझ्नु आवश्यक छ।
सेतो कोट आफैँ समस्या होइन, समस्या क्लिनिकल अटायरको प्रयोगसम्बन्धी संस्कार हो।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अस्पतालबाहिर सेतो कोट लगाउँदैमा अनैतिक हुन्छन् भन्न मिल्दैन। मेडिकल कन्फरेन्स, टिचिङ एक्टिभिटी, हेल्थ क्याम्पेन वा डिजास्टर रेस्पोन्समा प्रोफेसनल आइडेन्टिफिकेसन आवश्यक हुन सक्छ। स्वास्थ्य अधिकार वा प्यासेन्ट सेफ्टीसम्बन्धी पिसफुल प्रोटेस्टमा पनि चिकित्सकले सेतो कोट लगाएर आफ्नो कलेक्टिभ प्रोफेसनल आइडेन्टिटी प्रस्तुत गर्न सक्छन्।
त्यसैले समाधान ‘अस्पतालबाहिर सेतो कोट प्रतिबन्ध’ होइन, बरु कुन अवस्थामा क्लिनिकल अटायर प्रयोग गर्ने र कुन अवस्थामा त्यसलाई परिवर्तन गर्ने भन्ने स्पष्ट प्रोफेसनल कल्चरको विकास गर्नु हो।
सेतो कोट र स्टेथोस्कोप देखेपछि आम नागरिकले त्यहाँ केवल एउटा व्यक्ति देख्दैन। उसले एउटा पेशा देख्छ। त्यसैले प्रोफेसनल अटायरले सार्वजनिक व्यवहारसँग सम्बन्ध बनाउँछ।
एक चिकित्सकले साधारण पोसाकमा चिया पिउँदा त्यो व्यक्तिगत व्यवहारका रूपमा हेरिन सक्छ। तर त्यही चिकित्सक सेतो कोट र स्टेथोस्कोपमा बसेको छ भने समुदायले उसलाई ‘डाक्टर’ भनेर हेर्छ। यही कारणले पब्लिक ट्रस्ट चिकित्सकीय पेशाको महत्वपूर्ण सम्पत्ति हो।
यसको अर्थ आफ्नो निजी जीवन त्याग्नुपर्छ भन्ने होइन। चिकित्सक तथा स्वास्थ्यकर्मी पनि नागरिक हुन्। सबैको व्यक्तिगत स्वतन्त्रता छ। तर प्रोफेसनल सिम्बोल सार्वजनिक रूपमा प्रयोग गर्दा त्यसले उत्पन्न गर्ने सामाजिक अर्थप्रति सचेत हुनु प्रोफेसनल रेस्पोन्सिबिलिटीको हिस्सा हो।
धूमपान गर्ने व्यक्तिलाई हेर्दा समाजले एउटा सामान्य व्यक्तिगत व्यवहार देख्न सक्छ। तर सेतो कोट र स्टेथोस्कोप लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सार्वजनिक रूपमा धूमपान गर्दा त्यसको सन्देश फरक हुन सक्छ।
चिकित्सकले बिरामीलाई टोबाकोको स्वास्थ्य जोखिमबारे बताउँछ। क्यान्सर, कार्डियोभास्कुलर डिजिज, रेस्पिरेटरी डिजिज र निकोटिन डिपेन्डेन्सका विषयमा परामर्श दिन्छ।
त्यसैले मेडिकल आइडेन्टिटी स्पष्ट देखिने अवस्थामा सार्वजनिक धूमपानले ‘हेल्थ प्रोफेसनलको सन्देश र व्यवहारबीचको विरोधाभास’ पैदा गर्न सक्छ। यो चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यक्तिगत अधिकारमाथिको प्रतिबन्धको तर्क होइन।
समाजले चिकित्सकबाट पूर्णता खोज्न सक्छ, तर चिकित्सक पूर्ण मानव होइनन्। उनीहरूको पनि कमजोरी हुन सक्छ। तर प्रोफेसनल सिम्बोलले त्यो व्यक्तिगत व्यवहारलाई सार्वजनिक अर्थ दिन सक्छ।
चिकित्सकले आन्दोलनमा सेतो कोट लगाउनु आफैँमा गलत होइन। बरु स्वास्थ्य नीति, बिरामीको अधिकार, मेडिकल एजुकेसन, वर्किङ कन्डिसन वा पब्लिक हेल्थसम्बन्धी पिसफुल एड्भोकेसीमा सेतो कोटले चिकित्सकको आवाजलाई पहिचान दिन सक्छ।
तर कुनै पनि सार्वजनिक गतिविधिमा प्रोफेसनल आइडेन्टिटी प्रस्तुत गर्दा आचरण पनि त्यही स्तरको हुनुपर्छ।
सेतो कोट लगाएर आन्दोलन गर्नु र सेतो कोट लगाएर हिंसा गर्नु एउटै कुरा होइन। पहिलो प्रोफेसनल एड्भोकेसी हुन सक्छ, दोस्रोले पेशाको प्रतिष्ठामाथि प्रश्न उठाउन सक्छ। त्यसैले कपडाभन्दा कपडासँग जोडिएको आचरण महत्वपूर्ण हुन्छ।
अब मेडिकल शिक्षामा नयाँ पाठ चाहिन्छ
हामी मेडिकल विद्यार्थीलाई एनाटोमी, फिजियोलोजी, फार्माकोलोजी, प्याथोलोजी र क्लिनिकल स्किल्स पढाउँछौँ। तर एउटा विषय अझै व्यवहारमा पर्याप्त बलियो बनाउन आवश्यक छ, जसले “प्रोफेसनल अटायर इज पार्ट अफ प्रोफेसनल रेस्पोन्सिबिलिटी” भन्ने मान्यता निर्माण गर्न मद्दत गर्दछ।
मेडिकल विद्यार्थीले बिरामीको हिस्ट्री कसरी लिने भन्ने मात्र होइन, क्लिनिकल इन्भाइरोन्मेन्टबाट बाहिर निस्कँदा आफ्नो क्लिनिकल अटायर कसरी व्यवस्थापन गर्ने भन्ने पनि जान्नुपर्छ।
अस्पतालहरूले पनि स्पष्ट नीति बनाउन सक्छन्,जस्तै, क्लिनिकल वर्कपछि सम्भव भएसम्म कोट वा स्क्रब्स परिवर्तन गर्ने, इन्फेक्सस एक्सपोजर भएको अवस्थामा पीपीई उचित रूपमा हटाउने, क्लिनिकल अटायर नियमित रूपमा धुने र फुड-कन्जम्प्सन एरियामा कन्टामिनेटेड क्लिनिकल क्लोदिङ नलैजाने जस्ता व्यवहारलाई संस्थागत र प्रोफेसनल संस्कार बनाउन सकिन्छ।
यो चिकित्सकलाई अपमानित गर्ने होइन, बरु चिकित्सकीय पेशालाई अझ व्यवस्थित र सम्मानित बनाउने अभ्यास हो।
अब अस्पतालले पनि सोच्नुपर्छ, हामीले चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई मात्र दोष दिएर पुग्दैन। अस्पतालले पर्याप्त रूपमा चेन्जिङ रुम दिएको छ कि छैन? क्लिनिकल स्टाफका लागि लकर उपलब्ध छन् कि छैनन्? क्लिन युनिफर्म र युज्ड युनिफर्म छुट्याउने व्यवस्था छ कि छैन? लन्ड्री पोलिसी स्पष्ट छ कि छैन?
यदि अस्पतालमै सुविधा छैन भने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई मात्र दोष दिनु अन्याय हुन्छ। त्यसैले यो बहस व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि संस्थागत जिम्मेवारीको पनि बहस बन्नुपर्छ।
अन्तमा, सेतो कोट लगाउने अधिकार चिकित्सक र स्वास्थ्यकर्मीहरूको हो। तर सेतो कोट केवल कपडा होइन। यो बिरामीको विश्वास, विज्ञानको प्रतीक, पेशागत पहिचान र कतिपय अवस्थामा सार्वजनिक स्वास्थ्यको सन्देश पनि हो।
त्यसैले प्रश्न यस्तो हुनु हुँदैन, ‘डाक्टरले अस्पतालबाहिर सेतो कोट लगाउन पाउँछ कि पाउँदैन?’
प्रश्न यस्तो हुनुपर्छ- ‘क्लिनिकल अटायरलाई हामीले कति जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छौँ?’
हामीले सेतो कोटलाई सडक, क्याफे र रेस्टुरेन्टसम्म लैजानै नहुने कठोर नियम बनाउनुपर्छ भन्ने होइन। तर क्लिनिकल अटायरलाई साधारण स्ट्रिटवेयरजस्तै व्यवहार गर्ने संस्कारमाथि पुनर्विचार गर्न भने आवश्यक छ।
विशेषगरी बिरामीसँग प्रत्यक्ष सम्पर्कपछि, इन्फेक्सस सेटिङबाट बाहिरिँदा वा खाना खाने ठाउँमा जाँदा क्लिनिकल अटायर परिवर्तन गर्ने संस्कार विकास गर्नु वैज्ञानिक सावधानी र पेशागत मर्यादा दुवैका दृष्टिले उचित हुन्छ।
अन्ततः सेतो कोटको सम्मान त्यसलाई जहाँसुकै लगाउनुमा होइन, त्यसले प्रतिनिधित्व गर्ने पेशा, बिरामी र समाजप्रति जिम्मेवार हुनुमा छ।
चिकित्सकको महानता सेतो कोटले होइन, त्यो कोट लगाएको व्यक्तिको आचरणले प्रमाणित गर्छ। र समाजले हामीबाट केवल उपचारको अपेक्षा गरेको छैन, विश्वास गर्न मिल्ने उदाहरण बन्ने अपेक्षा पनि गरिरहेको हुन्छ।
(डा पन्थी नशा तथा मानसिक रोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य हुन्)