अहिले आईसीयूभित्रै भिडियो अन्तर्वार्ता गरिएको विषय चर्चामा छ। संवेदनशील मानिने आईसीयूमा भिडियो खिच्ने र अन्तर्वार्ता गर्ने विषयमा सम्बन्धित काउन्सिलले समेत छानबिन अघि बढाएका छन्। तर आईसीयूभित्र भिडियो खिच्नु वा बाहिरका व्यक्तिको प्रवेशका विषयमा कस्ता प्रोटोकल हुन्छन्? यस्तो गतिविधिले बिरामीको गोपनीयता, संक्रमण नियन्त्रण र उपचार प्रक्रियामा कस्तो असर पार्न सक्छ? आईसीयूमा के गर्न हुन्छ, के गर्न हुँदैन र यस्ता अवस्थामा अस्पताल तथा स्वास्थ्यकर्मीले कस्तो प्रोटोकल अपनाउनुपर्छ?
संवादमा हामीले आईसीयूको संवेदनशीलता, त्यहाँको प्रोटोकल, भिजिटर तथा भिडियो रेकर्डिङका विषयसँगै आईसीयूमा क्रिटिकल केयरको महत्वबारे चर्चा गरेका छौं । त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभाग प्रमुख समेत रहेका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठसँग गरिएको संवाद :
सुरुमा सामान्य मान्छेले बुझ्ने गरी सामान्य भाषामा आईसीयू भनेको के हो?
आईसीयू भनेको यस्तो हुन्छ- बिरामीलाई हामी डाक्टर साबहरूले उपचार गर्ने क्रममा उपचार गर्दै जान्छौँ। तर बिरामी चाहिँ कति सिकिस्त छ, के छ भन्ने हुन्छ र उपचार गर्दै जाँदाखेरि उहाँलाई कुन–कुन मोनिटरिङ चाहिन्छ, उहाँको उपचारलाई राम्रो गर्नका लागि भन्ने विषय हुन्छ।
उपचारमा कुनै बिरामीलाई रोग लागेपछि कुन–कुन अंगमा कुनै असर गरेको छ कि छैन भन्ने हुन्छ। यदि उहाँको रोगले विभिन्न अंगहरूमा असर गर्यो भने त्यो अंगलाई चाहिँ अरू ड्यामेज हुनबाट कसरी बचाउने र त्यसलाई कसरी राम्रो गरेर मोनिटरिङ र उपचार गर्ने भन्ने हुन्छ।
त्यस्तो बिरामीलाई मोनिटरिङ गर्न र कुनै अर्गन सिस्टम इन्भल्भ भयो भने त्यसलाई अझ राम्रो मोनिटरिङ र उपचार गर्न सकियोस् भन्ने हेतुले, उहाँको रोगलाई छिटो उपचार गर्न सकियोस् भन्ने हेतुले आईसीयूमा ल्याएर अस्पतालमा हामी डाक्टरहरूले उपचार गर्ने गर्छौँ।
आईसीयूमा जनशक्तिको संरचनाका हिसाबले कस्तो खालको सेटअप हुन्छ? उपकरण र प्रविधिका हिसाबले के सेटअप हुन्छ?
हाम्रो अहिले जुन स्टुडियोमा छौँ नि, हामीले यहाँ आवाज बाहिरबाट नआउने बनाएका छौँ, साउन्डप्रुफ बनाएका छौँ। बाहिरको लाइट नआउने बनाएका छौँ, लाइटप्रुफ पनि छ। हाम्रो आफ्नै भित्रको लाइट मात्रै यहाँ पसोस् भन्या जस्तै आईसीयूलाई पनि त्यस्तै गरिएको देखिन्छ। बाहिरबाट हाम्रो आँखाले हेर्दा त्यहाँभित्र के–के नछिर्ने वा के नजाने, के चिजको सेटअप हुन्छ? अलिकति डिटेलमा आईसीयूका बारेमा बताइदिनुस्।
आईसीयूमा अब हाम्रो लेभल वान, लेभल टु, लेभल थ्री आईसीयू भन्ने हुन्छ। जनशक्तिको हिसाबले एउटा आईसीयूमै बस्ने, त्यही सेवा दिने डाक्टर साबहरू हुने भयो। त्योबाहेक सम्बन्धित अरू विषयका डाक्टर साबहरू, जसलाई परामर्श गर्ने अथवा उहाँ अरू रोगसँग सम्बन्धित डाक्टर साबहरूले उपचार गर्ने, डाक्टर साबहरू आएर उहाँको विज्ञताअनुसार सल्लाह दिएर, परामर्श दिएर उपचार गर्ने भयो।
त्योबाहेक नर्सिङ जनशक्ति हुन्छ। जो अहिले आईसीयूको पनि धेरै ट्रेनिङ कार्यक्रमहरूमा ट्रेनिङ गरेर प्रशिक्षित नर्सिङ स्टाफ हुन्छन्।
बिरामी कतिको सिकिस्त छ, जस्तै उहाँलाई भेन्टिलेटर चाहिएको छ अथवा ब्लड प्रेसरको सपोर्ट चाहिएको छ अथवा डायलिसिस चाहिएको छ भने एउटा बिरामीलाई एउटा नर्सिङ स्टाफले सेवा दिन्छ। अलि स्टेबल, मोनिटरिङ गरेको बिरामीलाई चाहिँ दुई जना बिरामीसम्मलाई एउटा नर्सिङ स्टाफले सेवा दिन्छ। यो पनि हाम्रो नेपाल सरकारको मिनिमम सर्भिस स्ट्यान्डर्डको मापदण्डअनुसार नै छ।
त्योबाहेक हाम्रो न्युट्रिसनका लागि, डाइटका लागि डाइटिसियनको सेवा हुन्छ। बिरामीलाई राम्रो रिहाबिलिटेसन होस् भनेर फिजियोथेरापीको सेवा हुन्छ। त्यसपछि औषधिहरूको अन्तरक्रिया के छ भनेर हेरोस् भनेर फार्मासिस्टको सेवा हुन्छ।
यसरी विभिन्न जनशक्तिहरू बसेर एउटा सिस्टम बनेर बिरामीको उपचारमा सेवा गर्छौँ। त्योबाहेक रेडियोलोजीको सेवा दिन रेडियोलोजीका टेक्निसियन साथीहरूले पनि मद्दत गर्नुहुन्छ। यसरी विभिन्न जनशक्तिहरू मिलेर बिरामीको उपचारमा सेवा गर्छौँ।
त्योबाहेक इक्विपमेन्टहरूको कुरा गर्दा आईसीयू भएपछि आईसीयूका बिरामीलाई सहयोग हुने खालको बेड अलि छुट्टै खालको हुन्छ। बेड धेरै वटा पोजिसनिङ मिलाउन सकिने खालको हुन्छ।
त्योबाहेक उहाँको मुटुको चाल, ब्लड प्रेसर, त्यसपछि उहाँको ईसीजीहरू हेर्नलाई मोनिटरहरूको व्यवस्था हुन्छ। औषधिहरू पनि एकदम एक्युरेट डोजमा दिनुपर्ने हुनाले विभिन्न सिरिन्ज पम्प, इन्फ्युजन पम्पहरूको पनि व्यवस्था हुन्छ।
अब योबाहेक कुनै अंगलाई विशेष खालको सपोर्ट चाहिएको छ, जस्तै डायलिसिस चाहिएको छ भने त्यो प्रविधिलाई सपोर्ट गर्ने मेसिनहरू, टेक्निकल मेसिनहरू आईसीयूमा हुने गर्छन्।
यो बिरामीलाई राख्नुपर्छ, यो बिरामीलाई राख्नु हुँदैन वा यो बिरामीलाई अब आईसीयूबाट सामान्य बेडमा सार्ने बेला भयो भन्ने चाहिँ कसरी निर्धारण हुन्छ? त्यसको निश्चित अस्पतालपिच्छे आफ्नो खालको प्रोटोकल हुन्छ वा नेसनल–इन्टरनेसनल एउटा स्ट्यान्डर्ड प्रोटोकल छ? त्योअनुसार बिरामीको अवस्था हेरेर तपाईंहरूले आईसीयूमा राख्ने वा नराख्ने निर्णय गर्नुहुन्छ?
यसमा चाहिँ आईसीयूको पनि वर्गीकरण गरिएको छ- लेभल वान आईसीयू, लेभल टु आईसीयू, लेभल थ्री आईसीयू। हजुरले भनेजस्तै सबै अस्पतालको आफ्नो–आफ्नो एडमिसन र डिस्चार्ज पोलिसी हुन्छ, जुन पहिल्यै निर्धारण गरेर राखिएको हुन्छ।
यसमा बिरामीको होस कस्तो छ, उहाँको श्वास–प्रश्वास कस्तो छ, ब्लड प्रेसर कस्तो छ र अरू अंगहरूमा के असर परेको छ भन्ने हिसाबमा कुनै सपोर्ट चाहिएको छ भने भर्ना गर्ने हुन्छ।
उपचारको क्रममा चाहिँ यो राम्रो हुँदै गयो, उहाँको एबीसी भन्छौँ हामीले। त्योबाहेक मुटुको चाललगायत विभिन्न कुरामा एडमिसन र डिस्चार्ज क्राइटेरिया हुन्छ।
त्यो क्राइटेरिया फुलफिल भयो भने बिरामीलाई आईसीयूमा ल्याइन्छ। उपचार गर्ने क्रममा सुधार हुँदै गएर डिस्चार्ज क्राइटेरिया फुलफिल भयो भने त्यहाँबाट अब कहाँ डिस्चार्ज गर्ने, वार्डमा गर्ने हो कि स्टेपडाउनमा गर्ने हो कि भन्ने खालको निर्णय लिएर त्यसअनुसार बिरामीलाई सेवा गरिन्छ।
डाक्टर साब, आईसीयूको कुरा गर्यौँ। आईसीयूको कुरा गर्दा हरेक अस्पतालमा आईसीयू छ भनिन्छ। मानौँ, सरकारको जिल्ला तहको अस्पतालमा पनि वा निजी संरचनामा पनि तल्लो तहको अस्पतालसम्म पनि यहाँ आईसीयू छ भन्ने गरिन्छ।
आईसीयूमा सामान्यतया एउटा सेटअप हामीले हाम्रो आँखाले देख्ने एउटा सेटअप हो, भेन्टिलेटर होला, मोनिटर होला, ट्याङ–टुङ बज्ने के–के चिजहरू होला, बेड होला, त्यसलाई आईसीयू भन्ने गरिन्छ।
तपाईंहरूको सधैँ मान्यता के रहन्छ भने तपाईंहरूका तर्फबाट हेर्दाखेरि आईसीयू भनेको त्यति मात्रै होइन, त्यो भौतिक संरचना भयो, अरू मानवीय संरचना त्योभन्दा महत्वपूर्ण हुन्छन् भनेर भनिराख्नुभएको छ। अहिले पनि अलिकति आफैँले कुरा गर्दा त्यसमा जोड दिनुभयो। त्यसो भए साँचै आईसीयू बन्नका लागि चाहिने चिजहरू के–के हुन्?
अघि हामीले कुरा गरिहाल्यौँ, जस्तै अब भौतिक संरचना चाहियो। भौतिक संरचना नभइकन हुँदैन। एउटा ठाउँ चाहियो, कोठा चाहियो। त्यसमा आएर कुनै पनि सेवा दिनलाई इक्विपमेन्टहरू चाहियो।
तर अहिले पनि के छ भन्दाखेरि, जस्तै कुनै दैवी प्रकोपकै भनौँ अथवा केही भनौँ, अब बेड गयो, भेन्टिलेटर भयो भने अब त्यहाँबाट सेवा हुन्छ भन्ने कुरा हुन्छ।
यो यथार्थमा अलि फरक छ। किनभने कुनै उपकरण अथवा ठाउँले मात्र सबै कुरालाई राम्रो दिने होइन। त्यो उपकरण चलाउन र त्यो भौतिक संरचनामा आएका बिरामीलाई सेवा दिएर राम्रो गर्न जनशक्ति पनि चाहियो, स्किल्ड म्यानपावर चाहियो।
र त्यो सिस्टम, अघि पनि भनेँ, क्रिटिकल केयर सिस्टम आएर त्यो बिरामीलाई सेवा दिएर बिरामीलाई राम्रो बनाउनुपर्यो। त्यही भएर कुनै पनि ठाउँमा खाली बेड गयो अथवा भेन्टिलेटर गयो अथवा बाइप्याप गयो भन्दैमा त्यहाँ नै एकदम आईसीयू राम्रो व्यवस्थित रूपमा भयो र त्यो कोठामा बस्ने बिरामीले अब आईसीयूमा क्रिटिकल केयर सेवा पाएर राम्रो भएर फर्किन्छ भन्ने होइन।
त्यही भएको कारणले भौतिक संरचनासँगै म्यानपावरको पनि व्यवस्थापन हुनुपर्यो। म्यानपावर मात्र नभएर ट्रेनिङहरू दिएर त्यहाँ चाहिने स्किल्ड म्यानपावरलाई सस्टेनेबल रूपमा राख्नुपर्यो।
कुनै पनि बिरामी जहाँ हामीले त्यहाँ गर्यौँ, त्यहाँ आएर उसले त्यो सेवा लिएर सेवाको अनुभूति लिएर राम्रो भएर फर्कियो भने बल्ल त्यो हो—यो आईसीयू चलेर उहाँले सेवा पाउनुभयो भन्ने। आईसीयूका सम्बन्धमा आम जनताले, हैन र, हामीले पनि भनौँ न, आईसीयूका बारेमा यो विषयमा चाहिँ गलत बुझेका छन् वा यो विषय चाहिँ भ्रमपूर्ण छ भन्ने के छ?
एउटा चाहिँ, जस्तै आईसीयू भनेको एकदमै सिकिस्त भइसकेपछि ल्याउने ठाउँ हो भन्ने जस्तो पनि जनमानसमा बुझिन्छ।
तर कुनै पनि डाक्टरले आईसीयू ल्याउने भनेको कुनै पनि उपचारको क्रममा अलि सिकिस्त भएको खण्डमा बढी मोनिटरिङ गर्न सकोस्, बढी इन्टेन्सिभ उपचार गर्न सकोस् र उहाँको रोगलाई छिटो उपचार गरेर छिटो निदान गरेर बरु छिटो घरमा पठाउन सकियोस् भन्ने उद्देश्यले ल्याउने हो।
कतिपय आईसीयू एडमिसनहरू प्रिभेन्टिभ मोनिटरिङका लागि हुन्छन्। त्यही भएर ‘आईसीयू लग्यो भने त सिरियस हुन्छ, बरु अलिकति राखौँ, भएन भने मात्र लैजाऊँ’ भनेर राख्दा कहिलेकाहीँ अलि ढिलो आईसीयू आउने हुन्छ बिरामीहरू।
त्यसो गर्दा बरु छिटो आउँदा उपचार पनि छिटो भएर घर छिटो जाने हुन्थ्यो। तर अलिकति ढिलो निर्णय गरेर आउँदा रोगहरू फैलिएको, अंगहरू बढी इन्भल्भ भएको हुँदा बसाइ पनि लामो हुने, आर्थिक रूपमा भार पनि बढी पर्ने र उपचार गर्दा अलि लेट प्रिजेन्टेसन हुँदा चिकित्सकलाई पनि अलि गाह्रो हुने खालको हुन्छ।
त्यही भएर कुनै पनि बिरामीलाई आईसीयू चाहिएको छ भने किन गर्न खोजिएको हो, के हो, त्यो छिटो लाँदा पो राम्रो हुन्छ कि भनेर बुझेको खण्डमा बिरामीलाई नै फाइदा हुन्छ भन्ने एउटा कुरा छ।
अर्को चाहिँ आईसीयूमा उपचार गरेपछि अलि खर्चिलो हुन्छ कि भन्ने डरले सकेसम्म नजाऊन् भन्ने पनि एउटा अलिकति छ मान्छेहरूमा।
त्यसमा पनि मैले के भन्न चाहेँ भने उपचार गर्दा खर्चिलो हुन्छ, खर्चिलो त हुन्छ। तर कहिलेकाहीँ छिटो ल्यायो भने बरु बसाइ पनि कम हुन्छ। बसाइ कम भयो भने खर्च चाहिँ एकैछिनका लागि, क्षणिक रूपमा बढी देखिए पनि छिटो बसाइ भएर छिटो गएमा कम खर्च हुन्छ।
तर त्यसको साटो बरु दुई दिनपछि आउँदाखेरि धेरै वटा अर्गन सिस्टम इन्भल्भ हुँदा बसाइ लामो हुने र आर्थिक भार पनि बढी पर्ने हुन्छ। त्यही भएर परामर्श गरेर चिकित्सकले किन यस्तो सल्लाह दिएको भनेर मान्दा राम्रो हुन्छ
अर्को एउटा आम बुझाइ चाहिँ हामीले सुनेको, हामीले बुझ्ने- ‘त्यो मान्छे त अब आईसीयूमै गएछ, फिर्ता आउँछ कि आउँदैन?’ भनेर। आईसीयूमा गएपछि अब यो मान्छे लगभग अन्तिम अवस्थामा आईसीयूमा गयो भन्ने टाइपको आम बुझाइ देख्छौँ हामी। तपाईंसामु पनि त्यो बुझाइहरू रिफ्लेक्ट हुन्छ? वा यो बुझाइ कति हदसम्म सही हो, कति हदसम्म गलत हो?
आईसीयू भनेकै कुनै पनि बिरामीलाई भर्ना गर्दा अलि सिकिस्त भएकै बिरामी आइन्छ, त्यो तथ्यको कुरा नै हो।
तर आजको दिनमा पनि हाम्रो आईसीयूहरूले सेवा दिँदै, ट्रेनिङहरू पनि एकदम राम्रो व्यवस्थित छ। मैले अघि भनेँ, डाक्टरको ट्रेनिङ, नर्सिङ जनशक्ति, इक्विपमेन्ट सबै। कोरोना पछि त झन् व्यवस्थित हुँदै आएको छ।
आजको दिनमा पनि नेपालको धेरै वटा आईसीयूहरूमा चाहिँ बिरामीको मृत्यु १० देखि १५ प्रतिशतको हाराहारीमा मात्र छ। साधारण जनताले बुझ्दा, यदि १० जना बिरामी आईसीयू गयो भने आठदेखि नौ जना बिरामी राम्रै भएर फर्किन्छन्। एक–दुई जना बिरामी मात्र डाक्टर साबहरूले उपचार गर्दा पनि बचाउन नसकिने हुन्छन्।
त्यही भएर आईसीयू गयो, सबैलाई हुन्छ भन्ने पनि होइन। र दोस्रो कुरा मैले राख्न चाहेँ, भेन्टिलेटरमा गएपछि के हुन्छ भन्ने पनि प्रश्न होला। भेन्टिलेटरमा जाँदा पनि अहिले भेन्टिलेटरमा बिरामीहरू गयो भने १० जनामा छदेखि सात जना बिरामी राम्रै भएर निस्किने हुन्छन्। सामान्य तथ्यांक भनेको मैले भनेँ। हुन त आईसीयूको सबै अस्पतालअनुसार फरक होला।
त्यही भएर आईसीयू गएकैमा सबै बिरामी नराम्रो हुन्छ भन्ने होइन र यो तथ्यांकले पनि धेरै बिरामीहरू राम्रै हुन्छन् भनेर देखाउँछ। त्यही भएर आईसीयूमा बेलैमा उपचार गर्नुपर्ने हुन्छ।
अर्को, आईसीयूमा चाहिँ सामान्यतया भिजिटरलाई निषेध, सीमित गरिएको हुन्छ। त्यसको मुख्य कारण के हो?
यसमा दुई–तीनवटा कारण छन्। एउटा सबैभन्दा भनेको अस्पतालजन्य संक्रमणहरू हुन्। आईसीयूमा आउने कुनै पनि बिरामीको इम्युनिटी पावर अलिकति कम भएको कारणले गर्दा उहाँलाई संक्रमण हुने सम्भावना जहिले पनि बढी हुन्छ।
त्यसले गर्दा कुनै पनि भेट्दा एउटा पोटेन्सियल रिस्क हुन्छ। कसैले गएर आईसीयूलाई भेट्यो भने पोटेन्सियल रिस्क हो उहाँलाई संक्रमण हुने। जति त्यो रिस्क बढी भयो, त्यति सम्भावनाका कुरा बढी हुँदै जान्छ।
त्यही भएर आईसीयूमा आउने बिरामीहरूलाई यस्तो सम्भावना कम होस् भन्ने हेतुले सबै अस्पतालले भिजिटिङ पोलिसी निर्माण गरेको हुन्छ। त्यसले एक्सपोजर र रिस्क कम होस् भन्ने हो। रिस्क कम भएपछि संक्रमण हुने सम्भावना कम हुन्छ र यसले नै बिरामीलाई राम्रो हुन्छ भन्ने हिसाबले पनि राखिएको हुन्छ।
दोस्रो कुरा चाहिँ आईसीयूमा आउने बिरामी भनेको जहिले पनि सिकिस्त हुन्छ। सिकिस्त भएपछि त्यो बिरामीलाई एसेसमेन्ट गर्नुपर्ने हुन्छ, डाक्टर साबहरूले राउन्ड गर्नुपर्ने हुन्छ, कतिवटा इन्टरभेन्सनहरू उहाँलाई गरिराख्नुपर्ने हुन्छ।
वार्डमा अथवा ओपीडीमा आउने बिरामीभन्दा धेरै वटा प्रोसिजरहरू, धेरै वटा कार्यहरू भइरहेको हुन्छ। आईसीयूको फ्लोमा त्यो गइराख्नुपर्ने हुन्छ। अनि यो भिजिटिङ भयो भने दैनिक जुन फ्लो हुन्छ, त्यसलाई पनि धेरै असर पर्ने हुन्छ।
त्यही भएर बिरामीलाई संक्रमणको हिसाबले पनि रिस्क कम होस् र उसलाई बढी इफेक्टिभ टिमवर्कको रूपमा सेवा दिन पाइयोस् भन्ने हिसाबले धेरैजसो भिजिटिङ पोलिसी निर्धारण गरेको हुन्छ।
तर त्यसो भन्दैमा हामीले बिरामीलाई उपचार गर्ने भनेपछि एउटा मान्छेलाई कसरी उपचार गर्नुपर्छ, एउटा ह्युमनको रूपमा कसरी बिहेभ गर्नुपर्छ, उसका भावनाका कुराहरू हुन्छन्, त्यो पनि बुझ्नुपर्ने हुन्छ। त्यसैले साइन्सलाई पनि हामीले ब्यालेन्स गर्नुपर्ने हुन्छ। अर्को, मानवीय संवेदनशीलता, उहाँको फिलिङ, उहाँको एट्याचमेन्टलाई पनि बुझ्नुपर्ने हुन्छ।
त्यही भएर डाक्टर साबहरूले जहिले पनि यी कुराहरू ब्यालेन्स गर्नुहुन्छ। कुनै बिरामीलाई भिजिटिङ दिएकै कारणले उहाँलाई राम्रो हुन्छ भन्यो भने डाक्टर साबहरूले नै मेडिकल्ली उहाँलाई बढी भिजिटिङ दिनुहुन्छ।
जस्तै आईसीयू डेलिरियम भन्छौँ हामी। आईसीयूमा आएपछि बिरामीहरूलाई नयाँ ठाउँ आइयो, के भयो, कहाँ आइयो भनेर अलि बरबराउने त्यस्तो हुन सक्छ। त्यस्तोमा फ्यामिली भिजिटिङ भएको खण्डमा उहाँले चिनेको मान्छेसँग कुरा गरेको खण्डमा उपचारमै सहयोग हुन्छ।
त्यस्तोमा डाक्टर साबहरूले नै ‘उहाँलाई चाहिँ यसरी बढी भिजिटिङ दिनु, उहाँलाई अन्तरक्रिया गर्न दिनु, यसले उहाँको उपचारमा सहयोग गर्छ, राम्रो हुन्छ’ भनेर मेडिकल डिसिजन गरेर नै उहाँलाई गरिदिनुहुन्छ।
आइसीयुमा बिरामी भेट्न जाँदा के प्रोटोकलहरू फलो गर्नुपर्छ? के–के कुरा लगाउनेदेखि लिएर अपनाउने सावधानीहरू के हुन्छ?
हरेक भेटमा रिस्क चाहिँ बढी हुन्छ। त्यही भएकोले चाहिने मान्छेले भेट्नुपर्यो, तर भेट्नकै लागि भनेर धेरै जनाले चाहिँ नभेट्दा पनि हुन्छ भन्ने सुझाव दिन्छु म।
दोस्रो कुरा, भेट्ने मान्छेहरूले विशेष गरी ह्यान्ड हाइजिनमा एकदम महत्व दिनुपर्छ। ह्यान्ड हाइजिन गरेर मात्र भेट्नु। किनभने कुनै पनि बिरामीलाई रोग सर्ने भनेको कन्ट्याक्ट भएपछि त्यसबाट रोग सर्ने हो।
त्यही भएर ह्यान्ड हाइजिन कसरी गर्नुपर्छ, त्यसका प्रक्रिया र स्टेपहरू के हुन्, त्यो सही तरिकाबाट गरेर मात्र भेट्नु भन्छु।
त्योबाहेक आईसीयूमा राख्ने बिरामीहरूलाई विभिन्न रूपको प्रिकसनहरू हुन्छन्। जस्तै अब मास्कको कुरा आउला, क्यापको कुरा आउला अथवा पीपीईकै कुरा आउला।
अब त्यसमा आईसीयूको विभिन्न वर्गीकरण गरेको हुन्छ। कन्ट्याक्ट प्रिकसन भन्ने हुन्छ, ड्रपलेट प्रिकसन हुन्छ। त्यसमा चाहिँ त्योअनुसार अस्पतालमै बस्ने टिमले उहाँ बिरामीलाई ‘यस्तो राख्नुस्, यसो–यसो नगरीकन गर्न मिल्दैन’ भनेर लेखेको हुन्छ। त्यो बिरामीलाई चाहिँ त्यो बुझेर, त्यो गरेर मात्र भेट्नुपर्ने हुन्छ।
समग्रमा कुरा गर्दा, जति भेट्यो त्यति रिस्क बढ्ने हुँदा त्यो आईसीयूमा सकेसम्म कम गर्नुपर्यो। ह्यान्ड हाइजिन चाहिँ एकदम मस्ट कुरा हो। त्यो स्ट्रिक्टली फलो गरेर अनि मात्र भिजिटिङ गरिदिनुपर्यो।
सकेसम्म टच गर्न पर्दैन भने बिरामीको एरियातिर टच नगरीकन कुरा मात्र गर्दा धेरै फरक हुँदैन। टच गरेपछि चाहिँ सर्ने चिजहरू सर्ने सम्भावना बढी हुन्छ।
अहिले प्रोटोकल फलो नगरेको विषय पनि चर्चामा छ। अब त्यो केसमा के हुनुपर्थ्यो भन्ने कुरा तिर हामी जाँदैनौँ पनि। तर यदि त्यसरी गइयो भने त्यो आईसीयूलाई फेरि सामान्य अवस्थामा फर्काउन वा त्यसलाई अझ ब्याक्टेरिया, भाइरस रहित बनाउनका लागि कति समय लाग्छ वा के हुन्छ? त्यसले कसरी संक्रमण त्यहाँ फैलिन्छ? कसरी त्यहाँ ब्याक्टेरिया, भाइरसलगायतका संक्रमणजन्य चिजहरू त्यहाँ रहन्छन्?
यसको लागि हाम्रो अस्पतालको आईपीसी पोलिसी भन्ने हुन्छ। त्यसमा यो दैनिक कार्य भएकोले, जस्तै सरसफाइ चाहिँ एकदम चार घण्टामा निरन्तर रूपमा भइरहेको हुन्छ। त्यसपछि बिरामी आउनुअगाडि पनि बेडको क्लिनिङ हुन्छ, बिरामी गएपछि पनि बेडको क्लिनिङ हुन्छ र एयरको फ्लो, सर्कुलेसन हुन्छ।
विशेष गरी कोभिडपछि चाहिँ यो एक घण्टामा ६ देखि १२ को साइकलको एयरफ्लो हुनुपर्छ र टेम्परेचर पनि मेन्टेन गरिएको हुन्छ। यी विभिन्न कुराहरूले संक्रमणको रेटलाई घटाउनका लागि जे गर्नुपर्ने मापदण्ड हो, त्यो मापदण्डहरू अपनाइएको हुन्छ।
त्यसपछि बिरामीहरू आएर बिरामी राख्यो, सार्यो भने त्यसपछि टर्मिनल क्लिनिङ भन्ने हुन्छ। यी सबै मापदण्डहरू आईपीसीको पोलिसीअन्तर्गत गरेर संक्रमणहरू न्यूनीकरण गर्ने काम हामी गर्छौँ।
अस्पतालले अघि भन्नुभयो जस्तो आईसीयूको आफ्नै खालको कुनै प्रोटोकल बनाएको होला। तपाईंले क्रिटिकल केयरका लागि आफ्नो कुनै मापदण्ड, प्रोटोकल पनि बनाउनुभएको होला। र त्यो उल्लंघन हुँदा के हुन सक्छ भन्ने कुरा पनि सँगसँगै बनाइन्छ कि प्रोटोकल मात्रै बनाउने हुन्छ?
त्यस्तोमा हामीले प्रोटोकल बनाएका छौँ। यो हाम्रो क्रिटिकल केयर सोसाइटी—एनएससीसीएम, नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन—उहाँहरूले एउटा किताब नै निकालेर एउटा प्रोटोकलकै पूरै किताब निकाल्नुभएको छ।
त्यो चाहिँ हामीले सबै आईसीयूमा भ्याएसम्म डिसेमिनेट पनि गरेका छौँ। अब कसैलाई त्यस्तो नभ्याएको खण्डमा हाम्रो सोसाइटीको वेबसाइटमा पनि फ्रिली उपलब्ध छ।
यो उपलब्ध भएको हुनाले यी प्रोटोकलहरू हामी फलो गर्छौँ। सकेसम्म हामीले प्रोटोकलको कम्प्लायन्स, हामीले ठ्याक्कै साइन्टिफिक त्यो चाहिँ एकदम हाई हुनुपर्छ भनेर एड्भोकेसी गरेर गर्ने गर्छौँ।
तर अब प्रोटोकल फलो नगरेको खण्डमा के हो भन्न चाहिँ अनुगमन गर्ने निकाय- त्यो एउटा अस्पतालको व्यवस्थापन र अब सरकारको अनुगमन गर्ने निकायमा नेपाल मेडिकल काउन्सिललगायतका निकायहरू, स्वास्थ्य मन्त्रालयका निकायहरूले गर्ने हो। त्यसपछिको स्टेप के हुन्छ भन्ने कुरा ती निकायको नीतिअनुसार नै निर्धारण हुन्छ।
एउटा चिकित्सकले जस्तो तपाईंहरूको आफ्ना मान्यता छन्, आफ्ना आचारसंहिता छन् र इथिकल मापदण्डहरू पनि छन्। त्यो सबै तपाईंहरूले आफैँ पनि फलो गर्नुहुन्छ, आफैँले निर्धारण गर्नुभएको छ।
जस्तो क्रिटिकल केयर सोसाइटीले क्रिटिकल केयरमा के गर्न पाइने, के गर्न नपाइने भनेर स्पष्ट बुक नै निकालेको छ। त्यसलाई फलो गर्नु बाध्यकारी हो वा त्यो ऐच्छिक जस्तो पनि हुन सक्छ?
यस्तो छ—यो चाहिँ नाम नै यसको गाइडलाइन हो। गाइडलाइन भनेपछि तपाईंलाई कुनै पनि उपचार गर्न गाइड गर्ने एउटा कुरा हो।
कुनै पनि उपचार चाहिँ सबै यस्तै हुनुपर्छ, यस्तो भन्ने कुरा किनभने हरेक बिरामी फरक हो र हरेक बिरामीको उपचारमा अलि–अलि फरक गर्नुपर्ने हुन्छ।
त्यही भएर सबै बिरामीलाई एउटा किताबले समेटेर सबै एउटै, जसलाई हामी ब्ल्याङ्केट भन्छौँ, त्यसरी सबै राख्न सकिँदैन। तर एभरेजमा यस्तो हुनुपर्छ भनेर गाइड गर्छौँ।
डाक्टर साबहरूले त्यसमा अलिकति ‘यसमा थपौँ, यसमा घटाऔँ’ भनेर आफ्नो स्वविचार, स्वविवेक प्रयोग गरेर बिरामीको बेनिफिटलाई निर्णय लिने हो।
त्यही भएर एकदमै ‘यो म्यान्डेटरी हो, यही नै गर्नुपर्छ’ भन्ने हुँदैन। त्यसैले ‘गाइडलाइन’ भन्ने शब्द प्रयोग गरेका छौँ—गाइड गर्ने कुरा हो।
तर त्यसो भन्दैमा यो फलो नगर्ने, यस्तो प्रोटोकल भनेको एकदम विश्वभर हेरेर स्ट्यान्डर्ड कुराहरू गरिएको हो र यो चाहिँ क्वालिटीको विषय हो।
यो कतिको प्रोटोकल कम्प्लायन्स छ, त्यसले चाहिँ त्यो ठाउँको काम गर्ने क्वालिटी कति हो भनेर जनाउँछ। जति प्रोटोकलहरूको कम्प्लायन्स बढी भयो, त्यो काम गर्ने ठाउँको क्वालिटीको इन्डिकेटर पनि हो। त्यही भएर हाई हुनुपर्छ।
तर त्यसको अर्थ शतप्रतिशत हुनुपर्छ भन्ने चाहिँ होइन। त्यो बिरामी हेरेर अलि फ्लेक्सिबिलिटी डाक्टर साबहरूले हेरेर ‘यसमा यो गरौँ अथवा नगरौँ’ भन्ने अधिकार उहाँहरूलाई हुन्छ।
जस्तो अहिले बजारमा रहेको निश्चित घटनामा मानौँ नियमनकारी निकायले 'तपाईंहरूको गाइडलाइन छ, हाम्रो नजरले हेर्दाखेरि चाहिँ यो गाइडलाइन त्यति फलो गरेको देखिएन, तपाईंहरूले यसमा के भन्नुहुन्छ भनेर तपाईंहरूको सोसाइटीलाई भन्यो भने तपाईंहरूको त्यसमा उत्तर के हुन्छ? ‘हाम्रो गाइडलाइनमा अलिकति तलमाथि भएको छ’ भन्ने हुन्छ कि त्यो आफ्नो निश्चित ठाउँ हेरेर त्यसअनुसारको फरक हुन सक्छ भन्ने खालको हुन्छ?
यो नैतिक प्रश्न पनि आउँछ र अलि जिम्मेवारीको कुरा पनि आउँछ। म हजुरलाई अलि अनुरोध गर्न चाहेँ। जस्तै कुनै एउटा उदाहरणको लागि एउटा सानो बच्चा छ भने हामीले हात समातेर हिँडाउँछौँ। अब बाटो काट्न लाग्यो भने ‘यता जाऊ, उता नगर’ भनेर हामी भन्छौँ। किनभन्दा त्यो मान्छेले चाहिँ निर्णय लिन सक्दैन, बच्चाले। त्यही भएर उसको बिहाफमा हामीले निर्णय लिइदिनुपर्छ भन्ने मान्यता हो।
यस्तै गरी आईसीयूमा पनि बिरामी बस्दा उहाँको खाली मेडिकल भल्नरेबिलिटी मात्र होइन, उहाँको मानसिक रूपमा पनि चुनौती हुन्छ, जोखिमहरू हुन्छन्। उहाँले सबै कुरा एकदम डिसिजन मेकिङ गर्ने, राइट डिसिजन मेकिङ गर्ने अवस्थामा हुनुहुन्छ भन्ने हुँदैन।
सबै बिरामीमा अन्तर्राष्ट्रिय अध्ययनले पनि १० जनामा तीन–चार जनालाई कुनै न कुनै मेन्टल स्ट्रेस हुने देखाउँछ। त्यही भएर डिसिजन मेकिङ एकदम र्यासनल नहुने भन्ने खालको हुन्छ।
स्पेसल्ली, हाम्रो यहाँ विभिन्न प्राकृतिक घटनाहरू घटेपछि पनि पोस्ट–ट्राउमेटिक स्ट्रेसहरू चाहिँ एकदमै प्रिभ्यालेन्ट हुन्छन्। ३० देखि ४० प्रतिशतसम्म पोस्ट–ट्राउमेटिक स्ट्रेस प्रिभ्यालेन्ट हुन्छ।
त्यो भएकोले जुन बिरामी मेडिकल्ली भल्नरेबल छ, उहाँलाई मानसिक रूपमा पनि थप जोखिम दिन ठीक हो कि होइन? उहाँ एकदम म्याच्योर डिसिजन मेकिङ प्रक्रियामा हुनुहुन्छ कि हुनुहुन्न? उहाँका निर्णयहरू कस्ता हुन्? भन्ने खालका विभिन्न नैतिक प्रश्नहरू उठ्छन्।
त्यही भएर कुनै पनि चिकित्सक अथवा कुनै पनि जिम्मेवार निकायले यी सबै कुरा बुझेर मात्र ती कुराहरू गरिदिनुपर्छ भन्ने हाम्रो बुझाइ हो।
हामीलाई सोधिएको खण्डमा हामीले त्यसरी नै उहाँहरूलाई कुन–कुन कुरा एथिकल हो, कुन–कुन कुरा रेस्पोन्सिबल हो र के गरेर गर्नुपर्छ भनेर हाम्रो सोसाइटीको तर्फबाट जवाफ दिनेछौँ।