नेपालमा वृद्धवृद्धाको स्वास्थ्यसँग जोडिएको एउटा गहिरो सामाजिक धारणा अझै पनि व्यापक छ- उमेर ढल्किएपछि जटिल शल्यक्रिया गर्नु हुँदैन। विशेषगरी न्युरोसर्जरीको कुरा आउँदा धेरै परिवारको पहिलो प्रतिक्रिया हुने गर्छ, 'यति उमेरमा शल्यक्रिया गरेर के फाइदा?'
कहिलेकाहीँ यो प्रश्न चिकित्सा विज्ञानभन्दा पनि उमेरप्रतिको हाम्रो सामाजिक दृष्टिकोणबाट जन्मिएको हुन्छ। बिरामीको उमेरलाई मात्र आधार बनाएर उपचारको सम्भावना अस्वीकार गर्ने प्रवृत्तिले कतिपय वृद्धवृद्धालाई उपचारको अवसरबाट टाढा राखिरहेको हुन्छ। तर यो कुरामा चिकित्सा विज्ञानको दृष्टिकोण अलि फरक छ। न्युरोसर्जरीमा पनि उपचारको निर्णय केवल उमेर हेरेर गरिँदैन। बिरामीको समग्र स्वास्थ्य अवस्था, रोगको प्रकृति र गम्भीरता, दैनिक जीवनमा परेको असर, अन्य स्वास्थ्य समस्या, शल्यक्रियाको सम्भावित जोखिम तथा उपचारबाट प्राप्त हुन सक्ने लाभजस्ता धेरै पक्षलाई समग्र रूपमा मूल्याङ्कन गर्ने गरिन्छ। अर्थात्, ८० वर्षको हुनु आफैँमा शल्यक्रियाका लागि बाधक होइन। हालैको एउटा बिरामीको उपचारले यस तथ्यलाई अझ नजिकबाट बुझ्न मद्दत गर्छ।
वरिष्ठ कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशील मोहन भट्टराईका अनुसार एक वृद्ध व्यक्ति करिब दुई महिनादेखि ओछ्यानमै सीमित हुनुहुन्थ्यो। रोगका कारण उहाँको दैनिक जीवन, हिँडडुल र आत्मनिर्भरता गम्भीर रूपमा प्रभावित भएको थियो। लामो समयसम्म ओछ्यानमा बस्नु आफैँमा वृद्ध बिरामीका लागि अर्को चुनौती हो। मांसपेशी कमजोर हुनुदेखि लिएर सङ्क्रमण, बेडसोर, रगत जम्ने समस्या तथा शारीरिक क्षमता थप घट्ने जोखिमसम्म हुने गर्छ। यस्तो अवस्थामा परिवारका लागि निर्णय झनै कठिन हुन्छ। 'उमेर धेरै भइसक्यो, अब शल्यक्रियाको जोखिम किन लिने? शल्यक्रियापछिको जीवन अझ कष्टकर बन्ने हो कि?' यस्तो सोच स्वाभाविक पनि हुन सक्छ। परिवारले जोखिमभन्दा बढी बिरामीको सुरक्षालाई प्राथमिकता दिन खोजिरहेको देखिन्छ। तर कहिलेकाहीँ उपचार नगर्नु पनि आफ्नै किसिमको अझ बढी जोखिम हुन सक्छ।
उहाँ वृद्ध बिरामीको हकमा पनि आवश्यक मूल्याङ्कनपछि शल्यक्रियाको निर्णय गरियो। उद्देश्य केवल रोग हटाउनु थिएन; उद्देश्य थियो- सम्भव भएसम्म उहाँलाई फेरि आफ्नो खुट्टामा उभिन, हिँड्न र दैनिक जीवनतर्फ फर्किन सहयोग गर्नु। शल्यक्रियापछि आएको परिवर्तन कुनै चलचित्रको जस्तो नाटकीय त छैन। उहाँको पहिलो फलोअपमा देखिएको हिँडाइ अझै पूर्ण रूपमा सहज छैन। चालमा कमजोरी छ, गति पहिलेको जस्तो छैन। दुई महिनासम्म ओछ्यानमा बिताएको समयले शरीरमा आफ्नो असर छोडेको सहजै देख्न सकिन्छ। उहाँलाई अझै पुनर्स्थापना, व्यायाम र अरू थप समय आवश्यक छ। तर त्यो हिँडाइमा एउटा कुरा अत्यन्त महत्वपूर्ण छ- उहाँ हिँडिरहनुभएको छ, सायद यही कारणले त्यो हिँडाइ पूर्णभन्दा पनि अर्थपूर्ण छ। त्यो केवल एउटा वृद्ध व्यक्तिको केही पाइला होइन; त्यो उपचारपछि जीवनमा फर्कने साहसी प्रयास, आफैँमाथिको दृढ विश्वास हो, दुई महिनाको ओछ्यानबाट उठेर अगाडि बढ्ने धङ्धङ्गी हो र परिवारका लागि त्यो आशा र खुसीको एउटा रमाइलो दृश्य हो।
चिकित्सकका लागि पनि यस्ता क्षणहरू उपचारको परिणाम मापन गर्ने एउटा महत्वपूर्ण पक्ष हुन्। सफल शल्यक्रिया भनेको केवल रिपोर्टमा आएको सुधार वा शल्यक्रिया सफल भएको घोषणा मात्र होइन। बिरामी आफ्नो जीवनमा कति फर्किन सक्यो, कति आत्मनिर्भर बन्न सक्यो र उसको जीवनको गुणस्तरमा कस्तो परिवर्तन आयो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। विशेषगरी वृद्ध बिरामीमा यो विषय अझ संवेदनशील हुन्छ।
उमेर बढ्दै जाँदा शरीरको भण्डारण (रिजर्भ) क्षमता घट्दै जान्छ। अरू थुप्रै स्वास्थ्य समस्या जस्तै- मुटु, फोक्सो, मिर्गौला, मधुमेह, रक्तचाप लगायतका समस्या पनि आजकल सबैजसोमा हुन सक्छन्। त्यसैले वृद्ध बिरामीको शल्यक्रिया युवा बिरामीको जस्तै सरल निर्णय होइन। जोखिमको मूल्याङ्कन, एनेस्थेसिया तथा शल्यक्रियाको योजना, पेरीअपरेटिभ केयर र रिह्याबिलिटेसन सबै पक्षमा विशेष ध्यान दिनुपर्छ। तर जोखिम छ भन्नु र उपचारको सम्भावना नै छैन भन्नु एउटै कुरा होइन, त्यसैले यही अन्तर बुझ्न जरुरी छ। वृद्धावस्थामा न्युरोसर्जरीको निर्णय 'उमेर कति हो?' भन्ने एउटा प्रश्नमा सीमित हुनु हुँदैन; बरु 'उहाँको समग्र स्वास्थ्य कस्तो छ?', 'रोगले उहाँको जीवनमा कति असर गरेको छ?', 'उपचार नगर्दा के हुन सक्छ?', 'शल्यक्रियाबाट सम्भावित लाभ कति छ?', 'बिरामी र परिवारको अपेक्षा के हो?' जस्ता प्रश्नहरूको उत्तर खोजिनुपर्छ। यसका लागि बिरामी, परिवार, न्युरोसर्जन, एनेस्थेसियोलोजिस्ट, फिजियोथेरापिस्ट तथा आवश्यक अन्य विशेषज्ञबिचको अन्तरविभागीय समन्वय महत्वपूर्ण हुन्छ। अझ महत्वपूर्ण कुरा भनेको, शल्यक्रियाको निर्णय व्यक्तिको सम्पूर्ण स्वास्थ्य अवस्थाका आधारमा हुनुपर्छ, जन्ममितिका आधारमा मात्र होइन। पछिल्लो समय नेपालमा पनि वृद्ध जनसङ्ख्या बढ्दै जाँदा यस्ता अवस्थाहरू अझ सामान्य हुँदै जानेछन्। वृद्ध व्यक्तिको स्वास्थ्य आवश्यकतालाई हाम्रो स्वास्थ्य प्रणालीले पनि समयको मागअनुसार नयाँ दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।
हालै एक महिनाअघि गरिएको एउटा शल्यक्रियामा बिरामीको उमेर ८७ वर्ष थियो। ८७ वर्षको उमेरमा पनि उपयुक्त बिरामीमा आवश्यक शल्यक्रिया सम्भव हुन सक्छ भन्ने उदाहरणले एउटा महत्वपूर्ण सन्देश दिन्छ कि वृद्धावस्था आफैँमा उपचार रोक्ने कारण हुनु हुँदैन। यसको अर्थ हरेक वृद्ध बिरामीको शल्यक्रिया गर्नैपर्छ भन्ने होइन। बरु यसको अर्थ के हो भने हरेक बिरामीलाई उचित मूल्याङ्कनको अवसर दिनुपर्छ। कुनै बिरामीका लागि शल्यक्रिया उपयुक्त हुन सक्छ भने अर्को बिरामीका लागि औषधि, फिजियोथेरापी, रिह्याबिलिटेसन वा अन्य परम्परागत उपचार नै राम्रो विकल्प हुन सक्छ। सही उपचार पद्धतिको निर्णय बिरामीको अवस्थाअनुसार फरक-फरक हुन्छ।
त्यसैले 'उमेर धेरै भयो, शल्यक्रिया गर्न मिल्दैन' भन्ने निष्कर्षमा पुग्नुअघि विशेषज्ञ चिकित्सकसँग विस्तृत परामर्श आवश्यक हुन्छ। किनभने कहिलेकाहीँ हामीले उमेर देखेर सम्भावना देख्दैनौँ, तर चिकित्सा विज्ञानले सम्भावनाको अर्को बाटो देखाइरहेको हुन्छ।
दुई महिनासम्म ओछ्यानमा रहेका ती वृद्ध व्यक्तिको फलोअपमा देखिएको केही पाइला सायद सामान्य आँखाले हेर्दा सानो उपलब्धि जस्तो लाग्न सक्छ। तर ती केही पाइला उनका लागि धेरै ठूलो अर्थ राख्छन्। त्यो 'फेरि हिँड्ने' प्रयास हो, परिवारका लागि 'अझै सम्भावना रहेछ' भन्ने अनुभूति हो र चिकित्सा क्षेत्रमा काम गर्नेहरूका लागि त्यो एउटा प्रमाण हो कि हामीले उपचार गर्दा बिरामीको उमेर मात्र होइन, उसको जीवन हेर्नुपर्छ। किनभने उपचारको अन्तिम लक्ष्य केवल रोगसँग लड्नु होइन, सम्भव भएसम्म जीवनलाई फेरि जीवनजस्तै बनाउनु हो; र कहिलेकाहीँ त्यसको सुरुवात केवल केही पाइला चाल्न सक्ने क्षमताबाट हुन्छ।
उपचारमा डाक्टरको ज्ञान, सीप र दक्षताको भूमिका
वृद्ध बिरामीमा न्युरोसर्जरीको निर्णय कहिल्यै पनि केवल शल्यक्रिया गर्ने वा नगर्ने भन्ने प्रश्नमा सीमित हुँदैन। यो एउटा जटिल चिकित्सकीय निर्णय हो, जहाँ डाक्टरको ज्ञान, शल्यक्रियात्मक सीप, अनुभव, क्लिनिकल जजमेन्ट र समग्र बिरामी व्यवस्थापन गर्ने क्षमताले महत्वपूर्ण भूमिका खेल्छ। विशेषगरी अहिलेको समयमा स्वास्थ्यसम्बन्धी समस्याहरू दिनप्रतिदिन बढिरहेको अवस्था छ र वृद्ध बिरामीमा त अझ उमेरसँगै विभिन्न स्वास्थ्य समस्या जोडिएका हुन सक्छन्। मुटु, फोक्सो, मिर्गौला, मधुमेह, उच्च रक्तचाप वा अन्य दीर्घरोगको अवस्था पनि विचार गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा न्युरोसर्जनले केवल मस्तिष्क वा मेरुदण्डको रोग मात्र हेरेर पुग्दैन; बिरामीको समग्र स्वास्थ्य अवस्था र फंसनल स्टाटसलाई बुझ्नुपर्छ। यहीँबाट चिकित्सकको ज्ञान र क्लिनिकल जजमेन्टको वास्तविक परीक्षा सुरु हुन्छ। कुन बिरामीलाई शल्यक्रियाबाट वास्तविक लाभ हुन सक्छ र कुन अवस्थामा शल्यक्रियाको जोखिम बढी हुन सक्छ? शल्यक्रियाको सम्भावित लाभ र जोखिमबिच सन्तुलन कसरी कायम गर्ने? शल्यक्रियापछि बिरामीलाई कस्तो रिह्याबिलिटेसन आवश्यक हुन्छ? यस्ता प्रश्नको उत्तर अनुभव, वैज्ञानिक ज्ञान र मल्टीडिसिप्लिनरी एसेसमेन्टका आधारमा खोजिन्छ। वृद्ध बिरामीमा राम्रो न्युरोसर्जनको दक्षता केवल शल्यक्रिया गर्ने हातको सीपमा मात्र देखिँदैन। सही बिरामी छनोट गर्ने क्षमता, जोखिमको पूर्वमूल्याङ्कन, उपयुक्त शल्यक्रिया रणनीति तय गर्ने क्षमता, शल्यक्रियाका क्रममा सूक्ष्म संरचनाको सुरक्षा गर्ने सीप र पोस्टअपरेटिभ केयरको योजना बनाउने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
त्यसैले एउटा सफल शल्यक्रियाको पछाडि केवल शल्यकक्षमा बितेको केही घण्टा हुँदैन। त्यसअघि गरिएको विस्तृत मूल्याङ्कन, आवश्यक परीक्षणहरूको व्याख्या, परिवारसँग गरिएको छलफल, सम्भावित जोखिम र लाभबारे जानकारी, एनेस्थेसिया तथा अन्य विशेषज्ञसँगको समन्वय र शल्यक्रियापछिको निरन्तर निगरानी- यी सबै उपचारका अभिन्न हिस्सा हुन्। तर चिकित्सकीय दक्षताको अर्को महत्वपूर्ण पक्ष मानवीयता पनि हो। चिकित्सकले वृद्ध बिरामीका लागि शल्यक्रिया केवल एउटा चिकित्सकिय प्रक्रिया मात्र ठानेर निर्णय गर्नु कदापि उचित हुँदैन। शल्यक्रिया डर, अनिश्चितता र आशाबिचको यात्रा हो; परिवारका लागि पनि निर्णय सजिलो हुँदैन। 'यति बढेको उमेरमा शल्यक्रिया गर्दा उहाँले सहन सक्नुहुन्छ?' भन्ने चिन्ता परिवारलाई हुनु स्वाभाविक हो। यस्तो अवस्थामा चिकित्सकले केवल रोगको उपचार गरेर पुग्दैन; बिरामी र परिवारको डरलाई बुझेर, वास्तविक अवस्था स्पष्ट रूपमा खुलाउँदै र सम्भावित परिणामबारे इमानदारीपूर्वक छलफल गर्दै निर्णय प्रक्रियामा साथ दिनुपर्छ।
किनभने कम्पिटेन्सी भनेको केवल के गर्न सकिन्छ भन्ने जान्नु होइन; कुन अवस्थामा के गर्नु उपयुक्त हुन्छ भन्ने बुझ्नु अझ महत्वपूर्ण हो। माथि उल्लेखित वृद्ध व्यक्तिको दुई महिनापछि देखिएको हिँडाइलाई यही दृष्टिकोणबाट हेर्न सकिन्छ। उहाँ अझै पूर्ण रूपमा सामान्य चालमा फर्किसक्नुभएको छैन, लामो समय ओछ्यानमा बस्दा शरीर कमजोर हुनु स्वाभाविक हो। पुनर्स्थापनाका लागि समय लाग्छ, फिजियोथेरापी र निरन्तर सहयोग आवश्यक हुन सक्छ। तर उहाँ फेरि हिँड्ने प्रयासमा हुनुहुन्छ। ती बिरामीका पाइलापछाडि एउटा चिकित्सकको सीप मात्र छैन, त्यसमा सही डाइग्नोसिस, जोखिम र लाभको मूल्याङ्कन गर्ने क्लिनिकल जजमेन्ट, शल्यक्रिया गर्ने प्राविधिक सीप अनि शल्यक्रियापछिको व्यवस्थापनको योजना छ। र सबैभन्दा महत्वपूर्ण- बिरामीलाई केवल '८० वर्षको व्यक्ति' भनेर होइन, आफ्नै जीवन, परिवार र आशा भएको एउटा व्यक्तिका रूपमा हेर्ने दृष्टिकोण छ।
चिकित्सा विज्ञानले आज धेरै कुरा सम्भव बनाएको छ, तर विज्ञानको सम्भावनालाई बिरामीको जीवनमा वास्तविक परिणाममा बदल्न ज्ञान, सीप, अनुभव, टिमवर्क र मानवीय संवेदनशीलता एकसाथ आवश्यक हुन्छ। त्यसैले वृद्धावस्थामा न्युरोसर्जरीको प्रश्न आउँदा पहिलो प्रश्न केवल 'उमेर कति हो?' हुनु हुँदैन, 'यो बिरामीका लागि सबैभन्दा सुरक्षित र उपयुक्त उपचार विकल्प के हो?' भन्ने पहिलो प्रश्न हुनुपर्छ। यदि विशेषज्ञ मूल्याङ्कनले शल्यक्रियाबाट अर्थपूर्ण लाभको सम्भावना देखाउँछ भने, उमेरलाई मात्र आधार बनाएर उपचारको ढोका बन्द गर्नु उचित हुँदैन। किनभने कहिलेकाहीँ चिकित्सकको ज्ञान र सीपले रोगको उपचार मात्र गर्दैन; त्यसले एक व्यक्तिलाई फेरि आफ्नै खुट्टामा उभिने अवसर दिन्छ र वृद्ध व्यक्तिका लागि केही पाइला केवल हिँडाइ होइनन्, ती जीवनतर्फ फर्किएका पाइला हुन् भन्ने आभास दिलाउँछ।
(यो सामग्री नयाँ बानेश्वरमा अवस्थित एभरेस्ट हस्पिटलमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट न्युरोसर्जन डाक्टर सुशील मोहन भट्टराईसँगको कुराकानीपश्चात् तयार पारिएको हो।)