काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सिमुलेसन शिक्षाको भूमिका महत्वपूर्ण रहेको भन्दै नेपालमा यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘सिमनोभा २०२६’ आयोजना हुने भएको छ।
ग्लोबल सर्जरी सिमुलेसन नेटवर्क (जीएसएसएन) र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा अक्टोबर ७ देखि ९ सम्म काठमाडौंमा आयोजना हुने सम्मेलनले नेपालमा सिमुलेसन शिक्षाको अवस्था, सम्भावना र चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबीच छलफल गराउनेछ।
‘International Conference on Simulation Education, Healthcare Innovation & Global Collaboration’ नाम दिइएको सम्मेलनको पहिलो दुई दिन अक्टोबर ७ र ८ मा सशस्त्र प्रहरी बल, बलम्बुमा तथा अक्टोबर ९ मा मुख्य सम्मेलन र विशेष कार्यक्रम वीर अस्पतालमा हुने आयोजकले जनाएको छ।
सिमुलेसन शिक्षामार्फत विद्यार्थी तथा स्वास्थ्यकर्मीलाई वास्तविक बिरामीमा अभ्यास गर्नुअघि सुरक्षित वातावरणमा सीप विकास गर्ने अवसर प्राप्त हुन्छ। यसले उपचारका क्रममा हुन सक्ने गल्तीबाट सिक्ने, आपत्कालीन अवस्थाको सामना गर्ने, निर्णय क्षमता बढाउने तथा स्वास्थ्यकर्मीबीच टिमवर्क विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिन्छ।
विश्वका विभिन्न मुलुकमा चिकित्सा शिक्षा, शल्यक्रिया प्रशिक्षण, आपत्कालीन उपचार र बिरामी सुरक्षामा सिमुलेसनको प्रयोग विस्तार भइरहे पनि नेपालमा यसको अभ्यास अझै प्रारम्भिक चरणमा छ। पछिल्लो समय भने चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा सिमुलेसनप्रति चासो बढ्दै गएको छ।
नेपालमा सीमित स्रोतसाधनका कारण सिमुलेसन शिक्षाको विस्तार चुनौतीपूर्ण देखिए पनि महँगा उपकरणमा मात्र निर्भर हुनुपर्ने अवस्था नरहेको आयोजकको धारणा छ। स्थानीय स्रोत, कम लागतका सामग्री, डिजिटल प्रविधि र सिर्जनात्मक अभ्यासको प्रयोगबाट पनि प्रभावकारी सिमुलेसन विकास गर्न सकिने सम्भावना सम्मेलनमा उठाइनेछ।
सम्मेलनमा सिमुलेसन शिक्षा, शल्यचिकित्सा सीप प्रशिक्षण, कम लागतमा विकसित स्वास्थ्य प्रविधि, स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, अनुसन्धान तथा विश्वव्यापी सहकार्य लगायतका विषयमा प्रस्तुति र छलफल हुनेछन्। सहभागीले सैद्धान्तिक छलफलसँगै व्यवहारिक तथा सीपमा आधारित गतिविधिमा समेत सहभागी हुने अवसर पाउनेछन्।
आयोजकका अनुसार नेपालमा सिमुलेसन शिक्षाको विकासका लागि स्थानीय आवश्यकता र उपलब्ध स्रोतसाधनअनुसार आफ्नै अभ्यास र मोडल विकास गर्न आवश्यक छ। विशेषगरी विद्यार्थी तथा युवा स्वास्थ्यकर्मीलाई लक्षित कम लागतका सिमुलेसन तथा सीप प्रशिक्षणले स्वास्थ्य शिक्षालाई थप व्यवहारिक बनाउन सक्ने अपेक्षा गरिएको छ।

सिमुलेसन शिक्षालाई महँगा उपकरणसहितको प्रयोगशालाका रूपमा मात्र बुझ्ने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्नेमा पनि सम्मेलनले जोड दिनेछ। स्थानीय रूपमा उपलब्ध स्रोतबाट गुणस्तरीय अभ्यास सम्भव हुने सन्देश प्रवाह गर्दै नेपालमा सिमुलेसन शिक्षाको दायरा विस्तार गर्ने सम्मेलनको उद्देश्य छ।
सिमनोभा २०२६ ले नेपालमा सिमुलेसन शिक्षाको वर्तमान अवस्था र चुनौतीमाथि बहससँगै यसको भविष्यका लागि आवश्यक सहकार्य र नवप्रवर्तनका सम्भावना खोज्ने आयोजकको भनाइ छ।
डा विश्व कार्की कन्फ्रेन्सका चेयर छन् भने डा राकेश शाह, डा प्रार्थना सुवेदी, डा विक्रम थापा सह-अध्यक्ष रहनेछन्। बिबिसा भण्डारी र सुयोगराज गौतमले संयोजन गरिरहेका छन्।
स्वास्थ्य शिक्षा र प्रशिक्षणलाई थप सुरक्षित, व्यवहारिक तथा नवप्रवर्तनमुखी बनाउन सिमुलेसन शिक्षाले योगदान पुर्याउन सक्ने भएकाले सम्मेलनलाई नेपालमा यस क्षेत्रको विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।