काठमाडौं- कलाकार विपिन कार्कीले आफ्नी छोरीको उपचारका क्रममा मेडिसिटी अस्पतालबाट आफूले हैरानी व्यहोर्नुपरेको आरोप लगाएका छन्।
‘द प्रकाश सुवेदी शो’मा छोरीहरूको तस्वीर देखाउँदै ‘कसरी सम्झिनुहुन्छ?’ भनेर सोधिएको प्रश्नको जवाफ दिने क्रममा कार्कीले छोरीको स्वास्थ्य समस्याबारे अनुभव सुनाएका हुन्।
उनका अनुसार करिब तीन–चार महिनाअघि छोरीमा स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा विभिन्न परीक्षण गरिए पनि पटक–पटक समस्या दोहोरिएको उनले बताए।
कार्कीले अस्पतालमा लाखौं रुपैयाँ खर्च हुने गरी विभिन्न परीक्षण गरिए पनि छोरीको स्वास्थ्यमा अपेक्षित सुधार नआएको दाबी गरे। उनका अनुसार अस्पतालबाट डिस्चार्ज गरेपछि घरमा पुनः स्वास्थ्य समस्या देखिने र फेरि अस्पताल लैजानुपर्ने अवस्था आएको थियो।
‘फेरि त्यही जाँचहरू गराउने, डिस्चार्ज गर्ने र घर पठाउने’ अवस्था दोहोरिएको कार्कीको भनाइ छ। उनले सुरुमा छोरीलाई भाइरल भएको भन्दै औषधि दिने गरिएको र पछि समस्या दोहोरिएपछि थप परीक्षण गराउने गरिएको बताए।
अस्पतालको उपचार प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कार्कीले आफूले अन्ततः छोरीको उपचारका लागि अन्य चिकित्सकको खोजी गर्नुपरेको बताए।
उनले छोरीलाई पछि डा. धर्मागत भट्टराईकहाँ पुर्याएको र त्यहाँबाट छोरीमा अटोइम्युन डिजिज रहेको पत्ता लागेको बताए। अटोइम्युन डिजिज भन्नाले शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै स्वस्थ कोष तथा तन्तुलाई बाह्य तत्व ठानेर आक्रमण गर्ने अवस्थालाई जनाउँछ।
कार्कीले छोरीको उपचारका क्रममा मेडिसिटी अस्पतालमा आफूले भोगेको अनुभवबारे अन्य आरोपसमेत लगाएका छन्। उनले अस्पतालमा बिरामीलाई महँगो सेवा र सुविधा दिइए पनि उपचारको परिणामप्रति भने आफू सन्तुष्ट हुन नसकेको बताएका छन्।
उनको भनाइ
विगत तीन–चार महिनादेखि छोरीलाई समस्या देखिन थाल्यो। त्यसपछि मैले अस्पताल लिएर गएँ। मेडिसिटी अस्पताल—नेपालकै सबैभन्दा राम्रो, महँगो र उत्कृष्ट डाक्टरहरू बस्ने अस्पताल भनेर त्यहाँ उपचारका लागि लगेँ।
त्यहाँ विभिन्न किसिमका जाँचहरू पटक–पटक गराइयो, लाखौँ रुपैयाँ खर्च भयो। त्यसपछि डिस्चार्ज गरिदिनुभयो। घरमा ल्याएपछि फेरि समस्या दोहोरिन्थ्यो। फेरि अस्पताल लिएर जाँदा, “सिटामोल खुवाउनुस्, भाइरल हो” भन्नुहुन्थ्यो।
फेरि अस्पताल लग्यो, फेरि त्यही किसिमका सबै जाँचहरू गराइन्थ्यो। जाँच गराएको गरायै, अनि फेरि डिस्चार्ज गरिदिनुहुन्थ्यो।
१६ हजार रुपैयाँको कोठा छ, फाइभ–स्टार होटलमा जस्तो स्वागत गर्नुहुन्छ। तर बिरामीलाई त्यहाँबाट बाहिर पठाएपछि समस्या निको हुनुको सट्टा झन्–झन् बढ्दै जान्छ। उहाँहरूले डिस्चार्ज गरेर पठाइरहनुभयो।
जाँचहरू पनि एकैपटक लाखौँ रुपैयाँ पर्ने गरी लेखिदिनुहुन्छ। त्यसपछि फेरि समस्या दोहोरिन्छ। अब कति औषधि खाने, के गर्ने भन्ने अवस्था आयो। अन्ततः “अब आफैँले खोज्नुपर्यो” भन्ने हिसाबले म आफैँ कारण खोज्नतिर लागेँ।