काठमाडौं- नेपालका ३० र नेपालसँग सम्बन्धित एक गरी ३१ वैज्ञानिक सन् २०२६ को विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको एकवर्षीय सूचीमा परेका छन्। वैज्ञानिकहरूको अनुसन्धानमा प्राप्त उद्धरणका आधारमा तयार पारिएको सूचीमा नेपालका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा स्वतन्त्र अनुसन्धानकर्तासमेत समेटिएका छन्।
टपसाइनेटमा प्रकाशित विवरणअनुसार सन् २०२६ को सूचीमा नेपालका ३० वैज्ञानिक छन्। मार्क जे. डी. जोर्डन्स पनि नेपालसँग सम्बन्धित सूचीमा छन् । सूचीमा वैज्ञानिकको सङ्ख्याका आधारमा नेपाल विश्वमा ९२औँ स्थानमा रहेको विवरणमा उल्लेख छ। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध सबैभन्दा धेरै ८ वैज्ञानिक सूचीमा छन् भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का २ जना परेका छन्।
यस समाचारको मूल आधार एलसेभियर डाटा रिपोसाइटरी मा प्रकाशित वैज्ञानिक तथ्याङ्क हो। यसको सन् २०२६ को नवौँ संस्करण ७ अक्टोबर २०२६ मा प्रकाशित भएको हो। वैज्ञानिक जोन पी. ए. इओआनिडिसको योगदानमा तयार गरिएको यस डेटाबेसमा स्कोपसका वैज्ञानिक प्रोफाइलमा आधारित अनुसन्धान उद्धरण तथा अन्य सूचक समावेश छन्।
धेरै स्वास्थ्य तथा चिकित्सा क्षेत्रका वैज्ञानिक सूचीमा
नेपालको सूचीमा सामान्य तथा आन्तरिक चिकित्सा, सूक्ष्मजीव विज्ञान, जनस्वास्थ्य, मनोचिकित्सा, औषधि विज्ञान, जैवप्रविधि, रसायनशास्त्र, भौतिकशास्त्र, वातावरणीय इन्जिनियरिङ, पारिस्थितिकी, कृषि तथा वन विज्ञानलगायतका अनुसन्धान विधाका वैज्ञानिक छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का मेघनाथ एल. धिमाल नेपाल वरीयतामा पहिलो स्थानमा छन्। उनी सामान्य तथा आन्तरिक चिकित्सा विधामा सूचीकृत छन्। त्रिभुवन विश्वविद्यालयका भीष्म कार्की र अजय भट्टराई क्रमशः रासायनिक भौतिकशास्त्र तथा अकार्बनिक एवं आणविक रसायनशास्त्रका अनुसन्धानकर्ता हुन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग आबद्ध रञ्जितकुमार साह सूक्ष्मजीव विज्ञानतर्फ सूचीकृत छन्। काठमाडौं क्यान्सर सेन्टरका सुनिल के. श्रेष्ठ सामान्य तथा आन्तरिक चिकित्सा विधामा परेका छन्। त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी समता नेपाल र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसकी अर्चना श्रेष्ठ पनि सूचीमा छन्।
सूचीमा परेका ३१ वैज्ञानिक
टपसाइनेटमा प्रकाशित सन् २०२६ को एकवर्षीय सूचीमा उल्लेखित वैज्ञानिक, उनीहरूको विश्व वरीयता, आबद्ध संस्था र अनुसन्धान विधा यसप्रकार छन्।
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा ३१ अनुसन्धानकर्ता
शिर्ष सूचीमा मेघनाथ एल. धिमाल, भीष्म कार्की, रञ्जितकुमार साह, अजय भट्टराई, मार्क जे. डी. जोर्डन्स, दीपेन्द्र पराजुली, अरुणभक्त श्रेष्ठ, सन्तोष नेपाल, उत्तमबाबु श्रेष्ठ, सुनील के. श्रेष्ठ रहेका छन्।
त्यसैगरी राजकुमार थापा, विष्णु खनाल, निरञ्जन कोइराला , सुदन झा, आलोक अत्रेय , प्रणिलमान सिंह प्रधान, सञ्जीवकुमार शर्मा, पिटर आर. होब्स, गणेशकुमार अग्रवाल, उत्तम पौडेल, सुदीप पाण्डे, रामप्रसाद शर्मा, सौरवकुमार झा, निरञ्जन पराजुली, केशव देवकोटा, टी. आर. घिमिरे, समता नेपाल, गोविन्दप्रसाद ढुंगाना, किरण बम, अर्चना श्रेष्ठ र सुनील पोखरेल रहेका छन्।
कसरी तयार हुन्छ यो सूची?
एलसेभियरको डेटाबेसमा वैज्ञानिकहरूको अनुसन्धान प्रभाव मापन गर्न उद्धरण सङ्ख्या, एच–इन्डेक्स, सहलेखन समायोजित सूचकाङ्क र संयुक्त उद्धरण सूचकाङ्क (सी–स्कोर) लगायतका मापदण्ड समावेश छन्। वैज्ञानिकहरूलाई २० प्रमुख अनुसन्धान क्षेत्र र १७४ उपक्षेत्रमा वर्गीकरण गरिएको छ।
सन् २०२६ को संस्करणमा करिअरभरको अनुसन्धान प्रभावसम्बन्धी तथ्याङ्क सन् २०२५ को अन्त्यसम्मको हो भने एकवर्षीय सूची सन् २०२५ भरि प्राप्त उद्धरणमा आधारित छ। वैज्ञानिकलाई उद्धरणको संयुक्त सूचकाङ्कका आधारमा विश्वका शीर्ष एक लाखभित्र पर्नु वा आफ्नो अनुसन्धान उपक्षेत्रको शीर्ष दुई प्रतिशतमा पर्नुका आधारमा समेट्न सकिन्छ।