हामी सबै नेपालीजनले बारम्बार गर्ने गुनासाहरू लगभग एउटै छन्—“देशमा धेरै राजनीतिक परिवर्तन भए, तर देश बनेन! देशमा भ्रष्टाचार र अनियमितता व्याप्त भयो! सुशासन, पारदर्शिता र जवाफदेहिताको विकास भएन! न्याय र नैतिकता हराउँदै गयो!”
तर नागरिकका हैसियतले, यो सबै परिस्थिति सिर्जना हुनुमा के हामीले हाम्रो भागको भूमिका, दोष र उत्तरदायित्वको मूल्याङ्कन गर्ने प्रयास गर्यौँ त? हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको निर्माणमा कुनै योगदान गर्यौँ त? सामाजिक न्याय र सदाचारका लागि हामीले के–कति प्रयास गर्यौँ? वा हाम्रो असली भूमिका र प्रभाव के रह्यो?
के चुनावमा भोट दिनु, आफ्नो दैनिकी वा रोजीरोटी इमानका साथ पूरा गर्नुले मात्र देशप्रतिको हाम्रो नागरिक दायित्व पूरा हुन्छ त? हो, इमानदार भई आफ्नो निश्चित कर्तव्य र दायित्व पूरा गर्नु एक असल व्यक्तित्वको एकदमै महत्त्वपूर्ण तर आधारभूत गुण हो। समाजमा यस्ता व्यक्ति र व्यक्तित्वहरूको हिस्सा शतप्रतिशतको नजिक पुग्न थाल्यो भने मात्र सदाचारी र नैतिक समाज एवं राष्ट्रको निर्माण हुन्छ।
तर हाम्रो परिस्थिति भिन्न छ।
एक त समाजमा यस्ता व्यक्ति र व्यक्तित्वहरूको हिस्सेदारी न्यून र प्रभावहीन अवस्थामा छ। अर्कोतर्फ, इमानदार व्यक्तित्वहरूको हिस्सेदारी उल्लेख्य भएका सामाजिक स्वरूपहरूमा समेत भ्रष्ट एवं व्यक्तिगत स्वार्थकेन्द्रित व्यक्तित्वहरूको प्रभाव र दबदबा कायम छ। नीति, नियम, कानुन र न्याय संयन्त्रहरू कि त भ्रष्टहरूको सहयोगीसिद्ध छन्, नत्र प्रभावहीन र प्रयोगहीन छन् अथवा जनसर्वसाधारणहरूको पहुँच र सुझबुझबाहिर छन्।
यस्तो परिस्थितिमा देश र समाजले एक असल नागरिकबाट असल व्यक्तित्व र व्यक्तिगत अनुशासनभन्दा माथिल्लो भूमिका र कर्तव्यको माग गर्दछ। हुन त, कानुनी रूपमै पनि नेपालको संविधान (२०७२) ले मौलिक हकहरूका अलावा धारा ४८ मा नेपाली नागरिकले पूरा गर्नुपर्ने कर्तव्यहरू किटान नै गरेको छ।
तर हाम्रो वास्तविक धरातल टिठलाग्दो छ।
हामी, हाम्रो समाजमा भएका अन्याय, विभेद र भेदभावविरुद्ध चुइँक्क बोल्दैनौँ। सार्वजनिक सम्पत्तिको दुरुपयोग र दोहन हाम्रा लागि चासो र चिन्ताको विषय बन्दैन। आफू सेवाग्राही भएर जाने वा आफू कार्यरत सरकारी/सार्वजनिक कार्यालयमा भए गरेका अनियमितता र भ्रष्ट आचारहरुमा हामी मुकदर्शक बन्छौँ, सके हिस्सेदार बन्छौँ, नसके मौन समर्थक। सरसर्ती हेर्दा यस्तो लाग्छ, हाम्रो समाज भ्रष्टाचारी र मौका नपाएर सदाचारी देखिने मान्छेहरु मिलेर बनेको छ। किनकि हाम्रो सोचमा, हाम्रो व्यक्तिगत सम्पत्ति लुटिएको छैन, हामीमाथि प्रत्यक्ष विभेद भएको छैन। हामी यो भुल्छौँ—अन्याय र भ्रष्टाचारको, अत्याचारी र भ्रष्टाचारीको सीमा हुँदैन। आज एउटालाई खाने बाघले भोलि अरूलाई पनि खान्छ, सिङ्गो समाजलाई निल्छ। अहिलेसम्म हाम्रो समाज र देशमा भइरहेको नै यही हो।
हामी बारम्बार व्यवस्था बदल्छौँ, तर हाम्रो अवस्था कत्ति बदलिँदैन। अनि हुन्छ एउटा महानायकको खोजी, एउटा युगपुरुषको खोजी! सायद, हामी महानायक पनि भेटाउँछौँ, विभिन्न कालखण्डमा विभिन्न व्यक्ति र स्वरूपमा। अनि सबै पृष्ठभूमि र कथाव्यथाहरु चटक्कै बिर्सेर सबैथोकको जिम्मा उसैलाई लगाउँछौँ।
छिटै हाम्रा महानायकहरू बदलिन्छन्, तर हामीलाई अनागरिक बनाउने हाम्रा ती जडसूत्रवादी सोच र व्यवहार बदलिँदैन। त्यसैले फेरि पनि, कहिल्यै पनि हाम्रो अवस्था बदलिँदैन। संवैधानिक रूपमै हक, अधिकार र कर्तव्य प्राप्त सार्वभौम नागरिक भैकन पनि लाचार र निर्धो महसुस गर्ने हाम्रो मानसिकता हाम्रो अपरिवर्तित अवस्थाको मुख्य कारक हो।
हामीले आफ्नो नागरिक दायित्व र कर्तव्य पूरा नगरी, कुनै एउटा महानायक आएर उसले एक्लै देश बनाइदेला भन्ने अपेक्षा राख्नु हास्यास्पद मात्र होइन, लाचारी र निर्लज्जताको पराकाष्ठा पनि हो।आफ्नो आँखा अगाडिका बेथिति, अनियमितता र भ्रष्टाचारको मुकदर्शक बनेर सदाचारी, सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज र देशको आशा गर्नु, मृगतृष्णा हो, दिवासपना हो, त्योभन्दा बेसी बेइमानी हो।
अनियमितता, भ्रष्टाचार र अपारदर्शितामा अक्सर कार्यालय र समाजका उच्च तहका व्यक्तिहरू संलग्न हुन्छन्, यस्ता दुष्कर्महरू सुसंगठित हुन्छन्। त्यसैले, अनियमितता र भ्रष्टाचारको विरोध गर्दा कार्यालय र समाजविरुद्ध लागेको भाष्य स्थापित गर्ने प्रयास गरिन्छ। विद्रोही र अराजकको बिल्ला भिराउने प्रयास हुन्छ।
तर अराजकता भ्रष्टाचारको विरोध गर्नु होइन; ऐन, नियम, प्राकृतिक न्याय र विधि–प्रक्रिया मिचेर अनियमितता र भ्रष्टाचार गर्नु हो। भ्रष्टाचारी र विभेदकारीहरू राष्ट्रघाती हुन्। सुशासन, न्याय, पारदर्शिता र जवाफदेहिताका लागि आवाज उठाउनु अराजकता र अनुशासनहीनता होइन, राष्ट्रहित र देशभक्तिको काम हो।
त्यसैले, सुशासन चाहिन्छ भने सुशासनका उपभोक्ता मात्र बन्ने सपना नदेखौँ, सुशासनका सह–सर्जक बन्ने हिम्मत राखौँ। आफ्नो वरिपरि भए गरेका, हुँदै गरेका वा आफूले देखेका–सुनेका बेथिति, विसङ्गति, अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापका विरुद्ध आवाज बुलन्द गरौँ।
आक्रोशलाई न्यायोचित कानुनी हतियारमा बदलौँ। प्रचलित ऐन, कानुन र नीति–नियमले सुनिश्चित गरेका संयन्त्र र उपकरणहरूको सदुपयोग गरौँ। चिया गफहरूमा मात्र गुनासो गर्ने होइन, सार्वजनिक कार्यालय र व्यक्तिहरूमा पारदर्शिता र जवाफदेहिता खोजौँ। सूचनाको हक, समानताको हक र न्यायको हक जस्ता कानुनी उपकरणहरू प्रयोग गरौँ। न्याय सबैलाई चाहिन्छ, तर अन्यायविरुद्ध बोल्ने र लड्ने साहस पनि गरौँ।
समय र परिस्थितिले फेरि एकपटक व्यक्तिगत रूपमा हाम्रो सोच र सामाजिक रूपमा राज्यका कार्यालय र अड्डा–अखडाहरूमा जरो गाडेर बसेको अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध लड्न हामीले खोजेजस्तै राजनीतिक नेतृत्व दिएको छ। सुशासन, न्याय, पारदर्शिता र जवाफदेहिताको पक्षमा राजनीतिक तथा सामाजिक हस्तक्षेपका नयाँ सम्भावनाहरू सिर्जना भएका छन्।
त्यसैले, यसपटक कम्तीमा देशमा सुशासन र न्याय चाहिन्छ भन्नेहरू सहयोद्धा र सह–सर्जक बन्ने प्रयास गरौँ। आचार, विचार व्यवहारमा सदाचार अवलम्बन गरौँ। अन्यथा, सुशासन र समृद्धिको हाम्रो सपना फेरि एकपटक व्यवस्था परिवर्तनसँग जोडिँदै अर्को रनभुल्ल र दुष्चक्रमा फस्नेछ।
जय चन्द्रसूर्य !
(लेखक कानुन तथा राजनितीशास्त्रका विद्यार्थी एवं पेशाले स्वास्थ्यकर्मी हुन।)