हाम्रो शारीरिक चोट आँखाले देखिन्छ। अरूले पनि थाहा पाउँछन्। त्यसैले त्यसलाई बुझ्न र उपचार गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ। तर मनको चोट अदृश्य हुन्छ, जसलाई कसैले सजिलै देख्न सक्दैन। बाहिरबाट हेर्दा व्यक्ति हँसिलो र सामान्य देखिन सक्छ। उसलाई कुनै दुःख वा तनाव छैन जस्तो लाग्न सक्छ। तर भित्रभित्रै ऊ ठूलो मानसिक सङ्घर्षको भुमरीबाट गुज्रिरहेको हुन सक्छ।
मुस्कानभित्र थकान, मौनतामा पीडा र सहज व्यवहारभित्र ठूलो सङ्घर्षको कथा लुकेको हुन सक्छ। त्यसैले शारीरिक स्वास्थ्यलाई मात्र नभई मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।
मानसिक स्वास्थ्य भनेको मानसिक रोग नहुनु मात्र होइन। यो व्यक्तिले आफ्ना भावना र विचारलाई स्वस्थ ढङ्गले बुझ्न तथा व्यवस्थापन गर्न सक्ने, स्वस्थ सामाजिक सम्बन्ध कायम राख्ने र दैनिक जिम्मेवारी पूरा गर्न सक्ने समग्र अवस्थासँग सम्बन्धित विषय हो।
विश्व स्वास्थ्य सङ्गठनले पनि मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अङ्ग मानेको छ। मानसिक स्वास्थ्यको हेरचाह समस्या देखिएपछि मात्र गर्ने विषय होइन, सामान्य अवस्थामा पनि उत्तिकै ध्यान दिनुपर्ने विषय हो।
शारीरिक स्वास्थ्यको चर्चा गर्दा हामी रक्तचाप, मधुमेह र मुटुरोगजस्ता समस्यालाई प्राथमिकतामा राख्छौँ। तर व्यक्तिले कसरी सोचिरहेको छ, कस्तो अनुभूति गरिरहेको छ र परिस्थितिको सामना कसरी गरिरहेको छ भन्ने कुराले पनि उसको जीवनको गुणस्तर निर्धारण गर्छ।
शरीर र मनबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। यी एकअर्काका परिपूरक हुन्। दीर्घकालीन शारीरिक रोगले मनमा निराशा जन्माउन सक्छ भने मानसिक अस्वस्थताले शरीरको कार्यप्रणाली र कार्यक्षमतामा समेत असर पार्न सक्छ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ मा प्रकाशित प्रतिवेदनअनुसार, विश्वभर प्रत्येक सात जनामध्ये एक जना अर्थात् करिब १४ प्रतिशत मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित थिए।
हाम्रो जीवनमा परीक्षा, रोजगारी, आर्थिक उतारचढाव, जिम्मेवारी र पारिवारिक सम्बन्धसँग जोडिएका तनाव आउनु स्वाभाविक हो। तर यस्ता तनाव नियन्त्रणबाहिर जान थाले, लामो समयसम्म निरन्तर रहिरहे र दैनिक जीवनमा असर पार्न थाले भने जोखिम बढ्न सक्छ। त्यसैले मानसिक समस्यालाई बेवास्ता गर्नु हुँदैन। आफैँ ठीक भइहाल्छ भन्ने सोचेर समस्यालाई गम्भीर बन्न दिनु हुँदैन।
मानसिक अस्वस्थताका लक्षण व्यक्तिअनुसार फरक हुन सक्छन्। लगातार उदास वा निराश महसुस हुनु, कुनै काम गर्न मन नलाग्नु, असामान्य रूपमा रिस उठ्नु, टोलाइरहनु, खाने र सुत्ने बानीमा परिवर्तन आउनु तथा एकाग्रता कायम गर्न कठिन हुनु यसका सम्भावित संकेत हुन्। यस्ता लक्षणले दैनिक जीवनका विभिन्न पक्षमा असर पार्न थालेमा सहयोग माग्नु उपयुक्त हुन्छ।
मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएको ठूलो चुनौतीमध्ये एक हो- यसप्रतिको सामाजिक दृष्टिकोण र संकुचित सोच। मानसिक समस्या कमजोर व्यक्तिलाई मात्र हुन्छ, मन बलियो बनाए सबै ठीक भइहाल्छ वा उपचारका लागि गए पागल भइन्छ भन्ने भ्रम अझै विद्यमान छन्। यस्ता धारणाका कारण धेरै व्यक्तिले आफ्नो पीडा लुकाउँछन् र आवश्यक सहयोग लिन हिचकिचाउँछन्।
सामाजिक सञ्जालले सञ्चारलाई सहज बनाएको छ, तर यसले मानसिक दबाब पनि बढाउन सक्छ। मानिसहरूले सामाजिक सञ्जालमा प्रायः आफ्ना सफलता, यात्रा, खुसी र सुखका पलहरू साझा गर्छन्। अरूको जीवनका यस्ता झलकसँग आफ्नो वास्तविक जीवन तुलना गर्ने प्रवृत्ति बढ्न सक्छ। यसले सफलता र असफलता, सहजता र कठिनाइका विषयमा अनावश्यक तुलना गर्ने बानी विकास गराउन सक्छ।
अरूको जीवनमा देखिएका खुसीका पलसँग आफ्नो वास्तविक जीवन मेल नखाएको महसुस हुँदा असन्तुष्टि र हीनताबोध बढ्न सक्छ। त्यसैले सामाजिक सञ्जालमा देखिने जीवनको सीमित चित्रलाई कसैको समग्र वास्तविकता ठान्नु हुँदैन।
नेपालमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग सम्बन्धित सन् २०२० र २०२१ का अध्ययन तथा प्रतिवेदनमा बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताजनक तथ्यहरू उल्लेख गरिएका छन्। ती विवरणअनुसार, १३ देखि १९ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीमा पहिचान गर्न सकिने मानसिक स्वास्थ्य समस्या देखिएको थियो भने ६ देखि १८ वर्ष उमेर समूहका १८.३ प्रतिशत बालबालिका तथा किशोरकिशोरी व्यवहारगत र संवेगात्मक समस्यासँग जुधिरहेका थिए।
बालबालिकाको व्यवहारमा आउने हरेक परिवर्तनलाई उमेरअनुसारको स्वाभाविक परिवर्तन मात्र ठान्नु उचित हुँदैन। व्यवहारमा देखिने असामान्य वा निरन्तर परिवर्तनलाई समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण हुन्छ।
अर्कोतर्फ, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालमा उपलब्ध सामग्रीका आधारमा आफूलाई कुनै मानसिक रोग लागेको निष्कर्ष निकाल्ने प्रवृत्ति पनि बढिरहेको छ। यस्ता सामग्रीले सामान्य जानकारी दिन सक्छन्, तर तिनले सधैँ पूर्ण र विश्वसनीय जानकारी प्रदान गर्छन् भन्ने हुँदैन। अपूर्ण जानकारीका आधारमा आफैँले रोग पहिचान गर्ने र उपचार सुरु गर्ने प्रवृत्तिले थप जोखिम निम्त्याउन सक्छ।
मानसिक स्वास्थ्य समस्याको सही पहिचान गर्न लक्षणको अवधि, गम्भीरता, जीवनशैली, व्यक्तिगत परिस्थिति र दैनिक जीवनमा परेको असरलगायत विभिन्न पक्षको सूक्ष्म अध्ययन आवश्यक हुन्छ। त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएमा योग्य मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ।
मानसिक स्वास्थ्यको संरक्षणमा आफ्नो हेरचाह र खुला संवादको ठूलो भूमिका हुन्छ। यसमा घरपरिवार र नजिकका व्यक्तिको सहयोग पनि महत्त्वपूर्ण हुन्छ। मानसिक समस्या भोगिरहेको व्यक्तिका लागि परिवार नै पहिलो सहयोग र सुरक्षाको आधार बन्न सक्छ। कसैले कठिनाइ व्यक्त गर्दा तुरुन्तै उपदेश दिनुभन्दा धैर्यपूर्वक उसको कुरा सुनिदिनु धेरै महत्त्वपूर्ण हुन्छ।
दैनिक जीवनमा पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित व्यायाम र सामाजिक सञ्जालको सन्तुलित प्रयोगले मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन सहयोग गर्न सक्छ। तर समस्या गम्भीर बन्दै गएको छ वा दैनिक जीवनमा असर पारिरहेको छ भने विशेषज्ञको सहयोग लिनु नै विवेकशील कदम हो।
मानसिक स्वास्थ्यबारे खुलेर बोल्न सक्ने वातावरण बनाऔँ। आफ्ना भावना र समस्या व्यक्त गर्नुलाई कमजोरी होइन, सचेतनाको संकेत मानौँ। मानसिक स्वास्थ्य समस्यालाई लज्जाको विषय बनाउनुको सट्टा सहयोग र उपचारको बाटो रोजौँ।
मुस्कानभित्र लुकेको मौनता र थकानलाई समयमै बुझ्न सकियो भने निराशाबाट आशातर्फ फर्किन र जीवनलाई अझ सार्थक बनाउन सहयोग पुग्न सक्छ।