अहिले नेपालमा एउटा परिदृश्य चलिरहेको छ। थिलथिलो भएको लोकतन्त्र अब छद्म लोकतन्त्रको बाटोमा हिँडेको हो कि भन्ने झल्को पाउन सकिन्छ। समकक्षी कति साथीहरूलाई त म बुझाउन नि सक्दिनँ। बेलाबेला म आफैँ गलत विचार वकालत गरेको हो कि भनेर रोकिएर मन्थन गर्छु। तर मेरो खुट्टा ठिक ठाउँमा नै छ भन्ने महसुस हुन्छ। यो समयलाई बुझ्न मलाई एउटा चलचित्रको याद आयो। साउथ कोरियन चलचित्र 'प्यारासाइट'। त्यो चलचित्र यहाँ बखान गरेर भन्दा हेरेर नै बुझ्ने प्रयास गर्नु भनेर निवेदन गर्न चाहन्छु। म त बिरामीका कथा भन्ने साधारण मान्छे हुँ। मसँग धेरै ज्ञान र अनुभव छैन। म कानून, सिद्धान्त, राजनीतिका भाषा पनि जान्दिन होला।
पश्चिम नेपालगन्ज, आछामबाट धकेलिँदै उपचार गर्न आएका केही बिरामीहरूको कथा नलेखी मेरो मनले शान्ति पाउने देखिन। यो लेख्दा मलाई धेरैले गाली पनि गर्नेछन्, सरकार सुशासन र विधिको बाटोमा छ। आलोचना मात्रै गर्छ भन्ने आरोप लाग्ला।
वीर अस्पतालको एमर्जेन्सीमा एक जना बिरामीको उपचारका लागि कार्डिओलोजिस्टको राय चाहिएकोले म एमर्जेन्सीमा पुग्छु। नेपालगन्जको किनाराकृत बस्तीबाट थारु समुदायकी 'चिडिया थारु' (नाम परिवर्तित) तीन–चार महिनादेखि खाना निल्न नसक्ने र सर्किने, दुब्लाउँदै गएको कारणले रोग पत्ता लगाउन नसकेर विभिन्न अस्पतालबाट धकेलिँदै टिचिङ अस्पतालको एमर्जेन्सी पुगेका रहेछन्। त्यहाँ बेड एउटै खाली नभएकोले र एमर्जेन्सीको गेटबाटै फिर्ता पठाइएको कारणले उनका श्रीमानले वीर अस्पताल ल्याउँछन्।
आछामबाट मिठु रोका (नाम परिवर्तित) ६ महिनादेखि श्वास फेर्न गाह्रो, मुटु दुख्ने, थकान हुने र छाला कडा हुँदै गएकोले रोग पत्ता लगाउन नसकेकोले उनी पनि श्रीमानसँग धकेलिँदै टिचिङ अस्पतालको एमर्जेन्सीमा पुग्छिन्। उनको पनि बेड खाली हुने साइत परेनछ। त्यसैले ढोकाबाट नै फिर्ता हुन पुगेछन्। त्यसपछि एउटा प्राइभेट मेडिकल कलेजमा उपचाररत छन्। उनी पनि आर्थिक भारको भुमरीमा भाँसिँदै गएका छन्। यी त प्रतिनिधि घटनामात्रै हुन्।
यस्तो ढोकाबाट नै जतासुकै जाऊ, यहाँ तिमीहरूको लागि स्थान छैन भन्न त एउटा रोबोटले मात्रै सक्छ होला। के हाम्रो सरकार अहिले रोबोटजस्तै निर्णय गरिरहेको त छैन? मानवीय संवेदना, मूल्य र मान्यता, सामाजिक चेत सबै गौण भएका हुन्?
खासमा कसरी उपचार हुने रहेछ त भनेर हेर्न टिचिङ अस्पताल एमर्जेन्सीमा पुगेँ म पनि। कति शान्ति रहेछ अचेल। पहिलेजस्तो कोलाहल पनि छैन। एउटा बेडमा दुई जना उपचार गर्न मिल्दैन भनेपछि टिचिङ अस्पतालले ३०–४० वटा ट्रलीहरूको व्यवस्था गर्न परेको रहेछ। ती ट्रलीमा दुई जना त अट्ने कुरै भएन। पहिलेका बेडहरूमा दुई वा तीन जनासम्म उपचार गरिन्थ्यो। त्यो ठीक हो भनेर म भन्दिनँ। त्यो वास्तवमा बाध्यता थियो। अझै गहिरिएर हेर्ने हो भने त्यो राज्यको नालायकीपन थियो। टिचिङ अस्पतालको विकल्पमा त्यस्तै गुणस्तरीय अस्पतालको निर्माण किन हुन सकेन? वा राज्यले ग्रामीण स्तरमा भएका अस्पतालमा जनताको पर्याप्त विश्वास र स्वास्थ्यकर्मीलाई सेवा गर्न प्रोत्साहन किन गर्न सकेन? एमडिजिपी कार्यक्रमलाई सुदृढ किन गर्न सकेन? यी प्रश्नहरू स्वास्थ्य मन्त्रालयमा बस्ने ज्ञानीहरूको मनमा के साँच्चै आएनन् र?
पुरानो राज्यसत्ताको दशकौँदेखिको नालायकीपनलाई ढाक्न र सामाजिक सञ्जालमा आफ्नो जयजयकार गराउन एक बेडमा एक बिरामी र पहिले जो आउँछ, त्यसैले बेड पाउँछ भनेर सतही निर्णय गर्नु एउटा रोबोटले निर्णय गरेजस्तै हो, जसमा कुनै मानवीय संवेदना हुँदैन। सामाजिक चेतना हुँदैन। के हाम्रो सरकार रोबोट नै हुन खोजेको हो?
व्यवहारिकता भन्दा पनि झट्ट बिक्ने लोकप्रियतालाई आत्मसात् गरेको देखिन्छ। एउटा बेडमा दुई जना उपचार के कति कारणले भएको छ भनेर त्यसको गहिराइमा प्रश्न जन्मिनुपर्नेमा यस्तो पनि उपचार हुन्छ भनेर आउने सोच एउटा सहज सोच हो। तर्कविहीन मस्तिष्कको सोच हो।
एउटा बेडमा दुई जना उपचार हुन्छ भनेर अचम्म पर्ने सरकारले एउटा कुरा सोच्नै बिर्सियो-'अहिलेसम्म किनाराकृत जनतालाई टिचिङ अस्पतालको उत्तम विकल्प किन तयार भएनछ? हामीले ‘First come first’ सिद्धान्तलाई सुशासन मान्ने गल्ती गर्नु हुँदैन। टिचिङमा रहरले देशभरबाट बिरामी जाँदैनन् भन्ने कुरा कसैले सोच्यो कि सोचेन त? कतै रोग पत्ता लगाउन नसकेर बिचरा बिरामीहरू नै टिचिङ अस्पताल पुग्ने हुन् भन्ने पनि बोध छैन हो?'
साथै अर्को आयाम पनि सरकारले चटक्कै बिर्सियो-'टाढाबाट धकेलिँदै आएका ती निर्दोष र प्रतिरोधको क्षमता नभएका बिरामीहरू टिचिङमा उपचार भएन भने कहाँ गएर उपचार गर्छन् त? कि जहाँसुकै जाऊन्, भर्सेला परोस् भनेर छोडेका हुन्? के ती सबै बिरामी बेड पाउने साइत नपरेर नेपालका नागरिक नै होइनन्?'
ती फर्काइएका बिरामीहरूको ठाउँमा राखेर स्वास्थ्य मन्त्रीज्यूले हेर्नुभएको छ? ती बिरामीहरू कति प्राइभेट मेडिकल कलेजहरूमा उपचार गराउँदै गर्दा तन्नम भएको कल्पना गर्नुभएको छ? कि कल्पना गर्ने क्षमता विकास नै भएको छैन !
बोल्न नसक्ने, पहुँच नभएका, गाउँबाट सहर आउँदा आफ्नो भन्ने कोही नभएका बिरामीहरू नै लुरु–लुरु विकल्प खोज्न बाध्य हुन्छन्।
मन्त्रीज्यू, तपाईं एक पटक फेरि गएर हेर्नुहोस् न त- 'पहुँच भएकाले ‘First come First’ सिद्धान्त पालना गर्ने रहेछन् कि विभिन्न छिद्र बाटोबाट भर्ना हुने रहेछन्।' मन्त्रीज्यू, तपाईं वा तपाईंको घरपरिवार कोही बिरामी हुनुभयो र टिचिङमा बेड पाउने साइत परेन भने अन्तै अस्पताल खोजेर जानुहुन्छ नि है? कि डाइरेक्टरलाई फोन गरेर बेड मिलाउन भन्नुहुन्छ? यो प्रश्न मन्त्रीलाई मात्रै नभएर ती सबै सम्भ्रान्त वर्गका मानिसलाई हो, जसले बस्ती उजाड्नुमा सुन्दरता देख्छन्। जसले टिचिङ अस्पतालमा भिड नहुनुलाई उपचारको सफलता मान्ने गर्छन्।
तपाईंको त्यहाँ साइत नपरे पनि कतै न कतै त उपचार पाउनुहुन्छ। तर त्यहाँ आशा र भरोसा बोकेर गएका अधिकांश बिरामीका लागि साइत परेन भने केवल महँगा उपाय मात्रै बाँकी हुन्छन्। कतिले त काठमाडौंका प्राइभेट कलेज र अस्पतालमा आर्थिक बोझले उपचारकै बीचमा जिउँदो लास घर फिर्ता गर्न बाध्य हुन्छन्। धनको मुहार कालो पनि हुन्छ, गोरो पनि हुन्छ। गरिबलाई धनको अभावले तनाव दिन्छ भने धनको प्रभावले सम्भ्रान्त वर्गलाई सुविधा दिन्छ। एउटा कुरा सधैँ हेक्का राख्नुपर्छ-सुशासन मानवीय मूल्यलाई लत्याएर रोबोटजस्तो निर्णयले कदापि कायम हुँदैन।
सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाउनु र टिचिङ अस्पताल जस्तो केन्द्रीय अस्पतालमा बिरामीहरूलाई 'तिमीहरू जो कोही जहाँबाट आए पनि ट्रलीमा नअट्ने हुनाले उपचार गर्न सकिन्न' भन्नु एउटै हो। यहाँ घर आदिमा मात्रै डोजर नचलेको हो, तर पद्धति, सोचाइ र काम गराइ एउटै हो। मानवीय मूल्य–मान्यतामा डोजर चलेको हो। गौतम बुद्धको देशमा के यो सुहाउँदो कुरा हो? बेड नपाए अन्त गएर उपचार किन गर्दैनन् त भनेर सोच्नु भनेको एक छाक खान संघर्ष गर्नुपर्ने जनताले पिज्जा किन खाँदैनन् त भनेर प्रश्न गरेजस्तै हो। आधारभूत मानवीय र सामाजिक संवेदनाको निर्मम निषेधले देशको समुन्नतिको कल्पना गर्न सकिन्छ होला र?
उही
एक चिकित्सक
एक मानव।