काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निकै जोड दिएर नर्सहरूको रात्रीकालीन भत्ता दोब्बर बनाइएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले बजेट भाषणका क्रममा उक्त जानकारी दिएपछि संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट सांसदहरूले मुस्कुराउँदै टेबल ठोकेर त्यसको समर्थन गरे।
अर्थमन्त्रीले जुन उत्साह र जोसका साथ बजेटमा नर्सहरूको रात्रीकालीन भत्ता दोब्बर बनाएको घोषणा गरे, नर्सहरूमा भने त्यसको ठीक विपरीत प्रतिक्रिया देखियो।
बजेट भाषण सकिँदासम्म केही नर्सहरूले सामाजिक सञ्जालमा सरकारले नर्सहरूलाई 'ललिपप' देखाएर फेरि झुक्याउने काम गरेको लेख्न भ्याइसकेका थिए।
नर्सहरूको भत्ता दोब्बर बनाइएको विषयलाई अधिकांशले प्रशंसा गरिरहँदा नर्सहरूमा भने सरकारले ल्याएको उक्त कार्यक्रमले खासै उत्साह जगाउन नसकेको नेपाल नर्सिङ संघसहित आन्दोलनरत नर्सहरूको प्रतिक्रिया छ।
रात्रीकालीन ड्युटीमा खटिने नर्सहरूको भत्ता दोब्बर पार्ने निर्णयले खासै उत्साह थप्न नसकेको नेपाल नर्सिङ संघकी महासचिव डा. देवका कुमारी आचार्य बताउँछिन्।
नर्सहरूले रात्रीकालीन ड्युटीमा खटिएको दिन १५० रुपैयाँ भत्ता पाउने गर्छन्। उक्त रकममा पनि १५ प्रतिशत कर काटिने हुँदा नर्सहरूले रात्रीकालीन ड्युटी गरेको दिन कर कटाएर १२७ रुपैयाँ ५० पैसा मात्र हात पार्छन्।
अहिले अर्थमन्त्रीले दोब्बर बनाएको भनेको सोही रकम हो। अर्थात् अब नर्सहरूले १५० रुपैयाँ भत्ताको ठाउँमा ३०० रुपैयाँ पाउनेछन्। तर, त्यसमा पनि १५ प्रतिशत कर काटिनेछ। यो आधारमा हेर्दा अब नर्सहरूले रात्रीकालीन ड्युटी गरेको दिन कर कटाएर २५५ रुपैयाँ मात्र भत्ता पाउनेछन्। नर्सहरूले महिनामा सामान्यतः ८ दिन जति रात्रीकालीन ड्युटी गर्नुपर्ने हुन्छ।
सरकारले १० वर्षअघि रात्रीकालीन ड्युटीमा काम गर्ने नर्सहरूका लागि १५० रुपैयाँ भत्ता दिने भनी गरेको निर्णय नै आजसम्म कायम छ।
पछिल्लो समय नर्सहरूले अधिकार प्राप्ति तथा सम्मानजनक सेवा सुविधाका लागि गरेको आन्दोलनको कदर हुन नसकेको महासचिव आचार्य बताउँछिन्।
यस विषयमा नेपाल नर्सिङ संघले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षणसमेत गराएको महासचिव आचार्यले जानकारी दिइन्। नर्सहरूको रात्रीकालीन भत्ता कम्तीमा पनि उनीहरूको एक दिनको तलब बराबर बनाउनुपर्नेमा उनी जोड दिन्छिन्। नर्सहरूले जोखिम भत्ता पाउनुपर्ने मुख्य विषयलाई उपेक्षा गर्दै रात्रीकालीन भत्तामा अल्झाइएको उनको आरोप छ।
नर्सहरूको रात्रीकालीन भत्ता दोब्बर बनाएँ भन्दै भाषण गर्नुबाहेक यसले नर्सहरूमा वास्तविक उत्साह दिन नसकेको उनको तर्क छ।
‘अन्य समय गरिने ड्युटीभन्दा रात्रीकालीन ड्युटी कठिन हुन्छ। आराम गर्ने समयमा नर्सहरूले ड्युटी गर्दा स्वास्थ्यमा समेत असर पर्छ,’ उनले भनिन्, ‘कम्तीमा रात्रीकालीन ड्युटी गर्दा नर्सहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ख्याल गरेर भए पनि भत्ता उचित दिनुपर्थ्यो।’
सरकारी सरह तलब नदिइएको भन्दै निजी अस्पतालमा कार्यरत नर्सहरूले अझै आन्दोलन गरिरहेको बेला सरकारले त्यस्ता निजी अस्पताललाई कारबाही नगरी नर्सहरूलाई हेपेको उनको आरोप छ।
न्यूनतम पारिश्रमिकलाई कडाइका साथ लागू गर्नुपर्नेमा रात्रीकालीन भत्ता देखाएर सरकारले नर्सहरूलाई ललिपप देखाएर अल्झाएको र मिडियाबाजी मात्र गरेको उनको दाबी छ।
त्यस्तै, नर्स ज्योति रानाभाटले सुशासन कायम गर्नका लागि भन्दै बनेको सरकारले पनि विगतमा झैँ नर्सहरूको मनोबल गिराउने काम गरेको बताउँछिन्।
स्वास्थ्यमन्त्री निशा मेहतालाई वैज्ञानिक ढङ्गबाट नर्सहरूको सेवा सुविधा तथा भत्ता बढाइनुपर्छ भन्दै आफूले सुझाव दिए पनि स्वास्थ्यमन्त्रीले आफ्नो पृष्ठभूमि बिर्सिएर 'बजेट छैन' भन्दै पन्छिएको रानाभाटको आरोप छ।
नर्सहरूको रात्रीकालीन भत्ता कम्तीमा पनि उनीहरूले लिँदै आएको एक दिनको तलब बराबर हुनुपर्ने उनको पनि तर्क छ।
सरकारले नर्सिङ जनशक्तिलाई यसैगरी हेपिरहेमा आगामी दिनमा विभेद अन्त्यको मागसहित देशव्यापी रूपमा आफूहरू आन्दोलनमा उत्रिने उनले चेतावनी दिइन्।
अस्पताल अनुसार फरक–फरक भत्ता निर्धारण हुन्छ
नर्सले पाउने रात्रीकालीन भत्ता अस्पताल अनुसार फरक–फरक हुन सक्ने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारी बताउँछन्।
स्वास्थ्य मन्त्रालयले रात्रीकालीन ड्युटी गरेबापत नर्सहरूले पाउने न्यूनतम भत्ता १५० रुपैयाँ निर्धारण गरेको र सरकारको निर्णय अनुसार आगामी दिनमा उक्त रकम दोब्बर हुने उनी बताउँछन्।
यद्यपि, अस्पताल तथा विकास समिति अनुसार त्यो रकम फरक–फरक हुन सक्ने उनले जानकारी दिए। प्रतिशतको हिसाबले धेरै भत्ता पाइरहेका नर्सहरूका लागि यो निर्णय बढी लाभदायक हुने उनको दाबी छ।
विभिन्न अस्पतालका समितिको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको १५० रुपैयाँमा नघट्ने गरी नर्सहरूका लागि रात्रीकालीन भत्ता निर्धारण हुने अधिकारीले प्रस्ट पारे।