काठमाडौं- नेपालमा जापानीज इन्सेफलाइटिस (जेई) संक्रमणबाट यस वर्ष ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।
पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्ये ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ५१ प्रतिशत रहेको छ। हालसम्म पुष्टि भएका ८० केसहरूमा पुरुष ४३ र महिला ३७ जना रहेका छन्।
मृत्यु भएका तथा संक्रमितमध्ये अधिकांशले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउँछन्। जापानीज इन्सेफलाइटिसबाट जोगिन खोपलाई प्रमुख सुरक्षात्मक उपायका रूपमा लिइन्छ।
यस्तो छ संक्रमण र मृत्युको पछिल्लो तथ्यांक
परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार सन् २०२२ मा ७९ जनामा जेई संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा १०८ जनामा संक्रमण देखिएकोमा २० जनाले ज्यान गुमाएका थिए।
त्यस्तै, सन् २०२४ मा ८६ जनामा जेई संक्रमण पुष्टि हुँदा २८ जनाको मृत्यु भएको थियो। गत वर्ष १८३ जनामा जेई संक्रमण देखिएकोमा ४१ जनाको मृत्यु भएको तथ्यांक छ।
उनका अनुसार चालु वर्ष जेई संक्रमणबाट मृत्यु हुनेमध्ये सबैभन्दा बढी झापा जिल्लाका छन्। झापामा ५ जनाको मृत्यु भएको छ। यस्तै सुनसरी र सप्तरीमा २-२ जनाको मृत्यु भएको छ। मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे, दाङ र नवलपरासीमा जेई संक्रमणका कारण १-१ जनाको मृत्यु भएको डा. गौतमले जानकारी दिए।
कसलाई बढी जोखिम ?
जेईका कारण भएका मृत्युमध्ये ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ५१ प्रतिशत रहेको छ।
कस्ता लक्षणहरू देखिन्छन् ?
जेई रोग लाग्यो भने सुरुमा रुघाखोकीमा जस्तै सामान्य प्रकारका लक्षण तथा चिह्नहरू देखिन्छन्। त्यसपछि निम्नानुसारका गम्भीर लक्षण र चिह्नहरू देखापर्छन्:
उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने र धेरै नै टाउको दुख्ने।
वाकवाकी लाग्ने र बान्ता हुने।
भान नहुने (भर्की मान्ने), बेसुर हुने, बरबराउने, मुर्छा पर्ने र बेहोस हुने।
यस्ता लक्षण देखिए के गर्ने ?
यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु हुँदैन। बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याउनुपर्छ। समयमै अस्पताल पुर्याउन सकेमा जटिलता कम गर्न र ज्यान जोगाउन सकिन्छ। उपचारमा ढिलाइ भएमा मस्तिष्कमा गम्भीर असर पर्नुका साथै मृत्युको जोखिमसमेत बढ्न सक्छ। समयमै अस्पताल पुर्याइएका कारण गम्भीर जटिलता र मृत्युबाट जोगाउन सकिएका धेरै उदाहरणहरू छन्। त्यसैले, यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्छ।
जापानीज इन्सेफलाइटिस रोगबाट कसरी सुरक्षित हुने ?
लामखुट्टेको टोकाइबाट बच्न सकेमा यो रोगबाट सुरक्षित हुन सकिन्छ। यसका लागि:
घरको झ्याल तथा ढोकामा जाली राख्ने।
घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने।
हात र खुट्टा पूरै ढाकिने कपडा लगाउने।
झुलभित्र मात्र सुत्ने, लामखुट्टे भगाउने धूप बाल्ने वा शरीरमा लामखुट्टेबाट बच्ने मलम लगाउने।
जापानीज इन्सेफलाइटिसबाट सुरक्षित हुन जेईविरुद्धको खोप लगाउने।
जेई खोप १२ महिनाका बालबालिकाहरूलाई लगाउने। यदि १२ महिनाको उमेरमा खोप लगाउन छुटेको भए ५ वर्षको उमेरसम्मका बालबालिकालाई खोप लगाउन सकिन्छ।