काठमाडौं- मनसुनसँगै नेपालमा जापानीज इन्सेफलाइटिस (जेई) को संक्रमण बढ्न थालेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार हालसम्म २१ जिल्लाका ४३ स्थानीय तहमा ५८ जनामा जापानीज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १६ जनाको मृत्यु भइसकेको छ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमण पुष्टि भएका बिरामीमध्ये करिब ९० प्रतिशतले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप लगाएका छैनन्। यसले रोगबाट जोगिन खोपको पहुँच र नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई थप महत्त्वपूर्ण बनाएको छ।
विशेषगरी साउनदेखि कात्तिकसम्म जापानीज इन्सेफलाइटिसका बिरामी बढ्ने गरेका छन्। मनसुनका समयमा क्युलेक्स प्रजातिका लामखुट्टेको सक्रियता बढ्ने भएकाले संक्रमणको जोखिमसमेत बढ्ने चिकित्सकहरू बताउँछन्।
सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत १२ महिनाका बालबालिकालाई जापानीज इन्सेफलाइटिसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। कुनै कारणवश खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने व्यवस्था गरिएको छ।
जापानीज इन्सेफलाइटिस भाइरसका कारण हुने मस्तिष्कको गम्भीर संक्रमण हो। संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिए पनि गम्भीर अवस्थामा पुगेका बिरामीमा मस्तिष्क तथा स्नायु प्रणालीमा दीर्घकालीन असर पर्न सक्छ। तथ्याङ्कअनुसार लक्षणसहितको गम्भीर संक्रमण भएका बिरामीमध्ये करिब १५ देखि ३० प्रतिशतको मृत्यु हुने गरेको छ भने बाँचेकामध्ये केहीमा जीवनभर स्नायुजन्य अपाङ्गता रहन सक्छ।
के हो जापानीज इन्सेफलाइटिस?
जापानीज इन्सेफलाइटिस भाइरसबाट हुने संक्रामक रोग हो। यो मुख्यतः संक्रमित सुँगुर तथा अन्य जनावरलाई टोकेको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। मानिसबाट मानिसमा भने सामान्यतया सर्दैन।
यो रोगले मुख्यतः मस्तिष्कमा असर गर्छ। संक्रमण गम्भीर अवस्थामा पुगेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, घाँटी कडा हुने, शरीर काम्ने, बेहोस हुने तथा छारे रोगजस्ता लक्षण देखिन सक्छन्।
कृषि तथा पशुपालनमा संलग्न र लामखुट्टेको सम्पर्कमा बढी आउने समुदायमा संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन सक्छ।
कसरी जोगिने?
- जापानीज इन्सेफलाइटिसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप लगाउनु हो। यससँगै लामखुट्टेको टोकाइबाट बच्न पनि आवश्यक छ।
- राष्ट्रिय खोप कार्यक्रमअनुसार बालबालिकालाई समयमै जेईविरुद्धको खोप लगाउने।
- खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउने।
- सुत्दा झुलको प्रयोग गर्ने र झ्याल–ढोकामा जाली लगाउने।
- साँझ र बिहान लामखुट्टेको सक्रियता बढी हुने समयमा शरीर ढाक्ने गरी लामो बाहुला भएको लुगा लगाउने।
- घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी नराख्ने।
- सुँगुर, बँगुर तथा पन्छी पाल्ने स्थानलाई घरभन्दा टाढा र सफा राख्ने।
- आवश्यकताअनुसार लामखुट्टे भगाउने धुप वा क्रिमको प्रयोग गर्ने।
- उच्च ज्वरो, टाउको दुख्ने, घाँटी कडा हुने, बेहोस हुने वा छारे रोगजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।