ओपिडीको व्यस्त समयमा
मुगुबाट एक अधबैँसे महिलाको प्रवेश हुन्छ
साथमा छन् उमेर छिप्पिएका बूढा।
२७ हजार खर्चिकन आएकी उनीसँग
दुई बात मार्ने प्रयास गर्छु,
सुदूरका समस्या खोतल्ने प्रयास गर्छु।
आज उनको हातमा बिमाको रेफरल छ,
टिकेट छन् ५–६ वटा विभागका।
समस्या ५ वटा हुन् कि टिकेट मात्रै ५ गोटा?
काउन्टरले टिकेट काटिदिएछ–
मुटुको, फोक्सोको, नशाको,
सुगर तथा हर्मोनको,
बाथको, रगतको, स्नायुको।
पूरै ७ वटा विभाग चाहर्छन् उनीहरू
तर कतै देखिँदैन फिजिसियनको टिकेट।
कहिले पहिलो तल्ला, कहिले दोस्रो तल्ला
आज पुरानो भवनमा, भोलि नयाँ भवनमा।
सेतो कोट लगाउने, टाइसुट लगाउने
घाँटीमा परिचयपत्रको माला भिर्ने
हेर्दा कर्मचारी देखिने, सुकिलामुकिला देखिने
सबैसँग सोधेर सातवटै विभाग दर्शन गरेछन्।
रोग त कतै पत्ता लागेनछ क्यार!
सोधे, "मलाई के भएको डाक्टरसाब?"
इतिहास पुनः छाम्ने प्रयास गर्छु म
मनको समस्या गहिरो रहेछ उनको
कहाँबाट रिपोर्टहरूको भिडमा भेटियोस्!
मैले पनि रेफरल लेख्छु–
Referred to Psychiatry OPD!!
केही प्रश्न भने उठ्छन्–
के नेपालमा फिजिसियन छैनन् र?
कि फिजिसियन बन्दैनन् डाक्टर?
वा फिजिसियन बन्ने वातावरण छैन?