'जसले पनि, जहाँसुकै पनि मुटु ब्युँताउने (पुनर्जीवन दिने) प्रक्रिया सुरु गर्न सक्छ। यसका लागि मात्र दुईवटा हात भए पुग्छ।' - डा. विलियम बी. कोवेनहोभन, जामा, १९६०
पृष्ठभूमि:
केही समयपहिले एउटा समाचारको शीर्षक थियो, 'अस्पतालमा डाक्टरले छाती थिचेर बिरामीको ज्यान गयो।' सोसल मिडियाको युगमा सत्यतथ्य धमिलिएको बेलामा त्यो कति आधिकारिक समाचार हो, म यसै भन्न सक्दिन। तर आम जनमानसले बुझ्ने त्यही नै हो। म पनि कुनै बेला त्यही छाती थिचेर ज्यान गयो भनेर बिरामीका आफन्तबाट आरोप र भौतिक आक्रमणको प्रयासको सिकार भएको थिएँ। कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) विषयमा यतिविघ्न अज्ञानता हुनु नेपालजस्तो देशका लागि स्वाभाविक पनि हो। यहाँ यो विषयबाहेक स्वास्थ्य शिक्षाका अन्य धेरै कुराहरू प्राथमिकतामा पर्छन्; जस्तै- सरुवा रोग, कुपोषण, क्षयरोग, सरसफाइ आदि।
तर, अस्पतालको इमर्जेन्सीसम्म आइपुग्दा कति धेरैजना बिरामी पहिले नै मृत भइसकेका हुन्छन्। उनीहरूको मुटु लामो समय बन्द हुँदा मृत अवस्थामै आइपुग्छन्। सायद चलचित्रमा कोही बेहोस हुँदा मुखमा पानी हाल्ने र पानी छर्किने दृश्यले सोही परम्परागत बानीलाई प्रश्रय दिएको होला। बिरामीका आफन्तले छाती थिचेर ल्याएको दृश्य मैले दुर्लभ नै देखेको छु।
हेल्थ पोस्ट र जिल्ला अस्पतालजस्ता स्वास्थ्य संस्थाबाट पनि सीपीआर को कुनै प्रक्रिया नहुनु निकै दयालाग्दो कुरा हो, जुन हामीले बेलाबखतमा देख्न सक्छौँ।
मुटु बन्द भएको केही मिनेटमै दिमागका कोशिकाहरू अक्सिजन नपाउँदा मर्न थाल्छन्। मुटुका कोशिकाहरू २०–३० मिनेटमा मर्न थाल्छन्। यसैबाट थाहा हुन्छ- समय निकै महत्त्वपूर्ण छ। नेपालजस्तो भौगोलिक कठिनाइ भएको र स्वास्थ्य संस्थाको पहुँच एकरूपले सहज नहुने ठाउँमा सीपीआर को महत्त्व निकै गहिरो छ।
मेडिकल विधाको एक रोमान्चक इतिहास:
भनिन्छ, जसले इतिहासको सम्मान गर्दैन, त्यसले विकास पनि गर्न सक्दैन। सीपीआर को इतिहास पनि निकै रोचक रहेको छ।
आफ्नै श्रीमतीमा परीक्षण:
मुटु एकाएक बन्द हुने बेला छाती थिचेर मुटुको धड्कन सुचारु गर्न सकिन्छ भन्ने बोध हुन शताब्दीभन्दा बढी समय लागेको छ। अहिले सुन्दा सामान्य लाग्न सक्छ, तर यो कुरा पत्ता लगाउन वर्षौँ लागेको थियो। डा. पिटर सफरलाई आधुनिक सि.पि.आर.का पिता मानिन्छ, जसले सन् १९५६ मा Mouth-to-mouth resuscitation को विकास गरेका थिए। त्यो समयभन्दा पहिले सत्रौँ शताब्दीमा आगो फुक्ने मेसिनले डुबेर उद्धार गरिएका मानिसलाई मुखबाट हावा पेलेर फोक्सो फुलाउने प्रयास गरिन्थ्यो। डा. सफरले बेहोस मनुष्यको चिउँडोको अवस्थाले श्वासप्रश्वासको प्रवाहमा असर गर्ने रहेछ भनेर पत्ता लगाएका थिए। जसका लागि उनले सयजना व्यक्तिलाई Succinylcholine नामको औषधि दिएर 'प्यारालाइज' गरेका थिए, जसमा उनकी आफ्नै श्रीमती र बच्चा पनि थिए। उनले अक्सिजन दिने प्रक्रिया र श्वासप्रश्वास प्रक्रियाको ज्ञान तथा अनुसन्धानमा राम्रो फड्को मारेका थिए।
एक इन्जिनियरको आविष्कार र डा. जेम्सको सुझबुझ:
समकालीन समयमा जोन्स हप्किन्स विश्वविद्यालयमा डा. विलियम कौवेनहेभेनले कुकुरमाथि परीक्षण गरिरहँदा छातीमा तामाको धातुको प्याडल थिचेको बेला प्रेसर बढेको देख्छन्। उनी एक विद्युत्का इन्जिनियर थिए। उनको यो प्रयोग देखेर त्यहीँ काम गर्ने मुटुका सर्जन डा. जेम्स जुडेलाई एउटा उपाय सुझ्यो। उनले अपरेसन कक्षमा बेहोस गराइएका बिरामीको मुटु बन्द हुँदा छातीमा त्यो विद्युतीय करेन्ट दिएर हेर्दा मुटुको धड्कन पुनः फर्किने कुरा पत्ता लगाउँछन्। यो सन् १९६० तिरको कुरा हो।
डा. जेम्सले त्यो समयभन्दा पहिले छाती चिरेर मुटुलाई हातले थिचेर मुटुको चाल फर्काउने प्रयास गर्थे, जुन प्रक्रियामा धेरैको ज्यान जाने गर्थ्यो। छाती नचिरी बाहिरबाट करेन्ट दिँदा पनि मुटुको चाल फर्किन्छ भनेर पत्ता लगाउनु सो दशकको सबैभन्दा महत्त्वपूर्ण खोज रहेको थियो। वास्तवमा जर्मनीका एक बाल सर्जन डा. फ्रिड्रिखले सन् १८९१ मै दुईजना बच्चाहरूमा छाती थिचेर त्यो पुष्टि गरेका थिए, तर उनलाई त्यो बेला हाँसोको पात्र बनाइयो र छाती चिरेर नै मुटुलाई चलाउनुपर्ने कुरालाई विश्वास गरियो। यो कुरा सुन्दा अचेल हामीलाई निकै आश्चर्य लाग्न सक्छ।
यसरी डा. सफर, डा. विलियम र डा. जेम्सको खोजले आजको उन्नत सीपीआर प्रविधिको जग बसालेको थियो।
नर्वेको दूरदर्शिता:
सीपीआर को ज्ञान केवल स्वास्थ्यकर्मीले मात्रै जान्नुपर्ने उन्नत ज्ञान होइन; यो सबै व्यक्तिले जान्नुपर्ने कुरा हो। नर्वेले स्कुलको पाठ्यक्रममा यसको ट्रेनिङलाई समावेश गरेको छ, जुन कुराको अवलम्बन सन् १९६१ देखि नै नर्वेले गर्दै आएको छ। जसको फलस्वरूप नर्वेका जनता सीपीआर गर्ने सिपमा दक्ष छन्। उनीहरूका लागि यो निकै सामान्य सिपमा पर्छ र अस्पतालबाहिर गरिने सीपीआर को दर विश्वकै उच्च रहेको छ। त्यहाँ प्रत्यक्षदर्शीद्वारा गरिने सीपीआर करिब ६०–७० प्रतिशत रहेको छ भने यो सिप अनिवार्य नगरिएका देशहरूमा जम्मा २० प्रतिशत रहेको तथ्य छ। अनि कार्डिएक एरेस्टबाट जोगिने दर अरू देशहरूको भन्दा दुई गुणा बढी रहेको तथ्य छ।
नर्वेले पाठ्यक्रममा अवलम्बन गरेको ५ वर्षपछि मात्रै सन् १९६६ मा सीपीआर को निर्देशिका जनमानसका लागि अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गर्यो।
सन् २००५ बाट डेनमार्कले पनि स्कुलमै यसको ज्ञान अनिवार्य गरेको छ। बेलायतले पनि १२ वर्षमाथिका हरेक बालबालिकालाई 'प्रत्येक बच्चा, जीवनरक्षक' भन्ने नाराका साथ सीपीआर ट्रेनिङको व्यवस्था गरेको छ। त्यसैगरी पोर्चुगल, फ्रान्स, इटाली आदि देशहरूमा पनि यसलाई पाठ्यक्रममा अनिवार्य गरिएको छ।
अब नेपालमा के गर्ने?
सीपीआर गर्नका लागि कुनै डाक्टर वा विशेष मेडिकल उपकरण चाहिँदैन। खर्चिलो हुने कुरा पनि भएन। विद्यालयका विद्यार्थीहरूलाई मात्र दुई हातको सही प्रयोग गरेर छाती थिच्ने (Hands-Only सीपीआर) विधि सिकाउँदा पनि हजारौँको ज्यान जोगाउन सकिन्छ।
नेपालका सहरी ट्राफिक र ग्रामीण भूगोलमा एम्बुलेन्स ढिलो हुने गर्छ, जसका कारण अस्पताल पुग्दा नपुग्दै धेरैको ज्यान जाने गर्दछ। तर विद्यालयमा सिकेका साना विद्यार्थीका दुई हात समयमै पुग्न सक्छन्। किनभने ती विद्यार्थी भविष्यमा यही देशका नागरिक हुन्, जो कुनै न कुनै स्थानमा काम गरिरहेकै हुन्छन्। सार्वजनिक स्थलमा सीपीआर सुरु भयो भने ज्यान जोगाउन सकिने कुरामा दुविधा छैन। त्यसैले हरेक विद्यार्थीलाई 'बाइस्ट्यान्डर सीपीआर' सिकाउनु आजको आवश्यकता हो। के त्यो पाठ्यक्रममा अनिवार्य समावेश गर्न अब नेपालका लागि ढिला भएन र? यो नयाँ सरकारले त्यो कार्य पक्कै गर्छ भन्ने पूर्ण आशा छ। मिलिटरी ट्रेनिङभन्दा यो बढी उपयोगी हुन्छ भन्नेमा कुनै शङ्का नहोला। यसलाई कतै पाठ्यक्रममै राखिसक्नुभएको छ भने मुरी मुरी धन्यवाद! सायद नयाँ सरकारले यसलाई विशेष प्राथमिकताका साथ गृहकार्य गरिरहेको छ।
-(डा. शम्भु खनाल डि.एम. कार्डियोलोजी रेजिडेन्ट हुन्।)