१. मेडिकल रेजिडेन्सीको बीउ
सायद 'बीउ अनुसारकै फल पाइन्छ' भन्ने कथन मेडिकल शिक्षामा पनि लागू हुन्छ। आधुनिक चिकित्साका पिता मानिने विलियम ओस्लरले भनेका थिए- 'पुस्तकरहित चिकित्साको अध्ययन गर्ने व्यक्तिले विना नक्साको समुद्रमा यात्रा गर्दछ, तर बिरामी विना चिकित्साको अध्ययन गर्ने व्यक्ति त समुद्रमा नै जाँदैन।'
यो कथनलाई अतिरञ्जित गरेर, खरो ड्युटी गरेर मात्रै चिकित्सा अध्ययनले सार्थकता पाउँछ भन्ने सोचबाट निर्देशित हालको रेजिडेन्सी प्रोग्रामका कटु सत्यहरू मेडिकल विधाका साक्षीहरूले मात्रै बुझ्न सक्दछन्। त्यो स्वयं स्वास्थ्य मन्त्रालयले पनि बुझ्ने क्षमता र दृष्टि राख्दैन।
सन् १८८९ मा डा. विलियम हाल्स्टेडले सर्जरीमा रेजिडेन्सीको रूपरेखा तयार गरेका थिए। ओस्लरले मेडिसिन विधाको रूपरेखा तयार गरेका थिए। हाल्स्टेडले निकै सख्त प्रोग्रामको संरचना गरेका थिए, जसमा ३६५ दिन नै अस्पतालभित्र बस्नुपर्ने, लगातार दुई दिन ड्युटी गर्नुपर्ने, बिहे आदि गर्न नपाइने जस्ता कडा नियम थिए। ती सबै कुराले विद्यार्थीको 'स्टामिना' परीक्षण गर्छ भन्ने क्रूर सोचाइ थियो। उनी आफू भने 'कोकेन एडिक्ट' थिए, जसको पागलपन रेजिडेन्ट चिकित्सकमाथि थोपर्ने काम गरेका थिए। त्यसकै रूप पुस्तान्तरण हुँदै आजसम्म पनि धेरै मेडिकल स्कुलमा सोचाइ हाल्स्टेडको जस्तै छ; जसको कारण '३६ घण्टा ड्युटी नगरी त रेजिडेन्सी पूरा हुन सक्दैन' भन्ने सोचाइ व्याप्त छ। ३६ घण्टापछि १२ घण्टा सुत्ने, त्यसपछि फेरि ३६ घण्टाका दरले त हप्तामा सय घण्टा यत्तिकै नाघ्ने गर्छ।
२. मेरो व्यक्तिगत अनुभव
आजभन्दा सात वर्ष पुरानो कथा अहिले पनि सान्दर्भिक होला। घडीमा ७:३० बजेको रहेछ। निद्राबाट झसँग बिउँझिएछु म। बिहान अबेर भएको जस्तो लाग्यो। ड्युटीमा जान अबेर भएछ भनेर छिटोछिटो नित्यकर्म गरेर तयार भएँ। जिउ पूरै भारी भएको अनुभव थियो। जाँगर रत्तिभर थिएन। शरीर तात्तिएको महसुस भएको थियो। निधार छाम्दा ज्वरो आउला जस्तो थियो। कुर्कुच्चा र पैताला सुन्निएका थिए। हल्का टाउको घुमाएको जस्तो पनि भएको थियो। जिउ पूरै लथ्रक्क परेको थियो। सुत्न पाए त कुम्भकर्णको ६ महिने रेकर्ड पनि तोड्न सक्ने विचार आएको थियो। पहिले-पहिले दिनभरी हिँडेर बेलुका घर पुग्दा हुन्थ्यो यस्तो। धेरै वर्षपछि बाल्यकालको झझल्को आयो। सदरमुकामबाट घर हिँडेका गोरेटा बाटाहरू याद आए। आफ्नो यो डाक्टरी गोरेटोको पनि लामो बाटो अझै तय गर्न बाँकी रहेको यथार्थ पुनः स्मरण भयो। घर पुग्ने गोरेटो र डाक्टरी गोरेटो उस्तै लाग्यो- दुवै साँघुरा र थकानपूर्ण यात्रा। फरक भन्नुपर्दा चाहिँ डाक्टरी यात्रा कतै टुङ्गो नभएको, पढ्दै आधा उमेर बित्ने।
एप्रन लगाएर झ्याल लगाउँछु भनेर लागेको थिएँ। बाहिर हेर्दा त रात पर्न लागेको रहेछ! समयचक्रसँग म झुक्किएको रहेछु। अघिल्लो दिन बिहान ७ बजेदेखि त्यो दिनको ४:३० सम्मको गतिविधि एकपछि अर्को सम्झना हुन थाल्यो। म त ड्युटीबाट कोठामा आएर बेडमा पल्टिएपछि दुई घण्टामा उठेको रहेछु। अब भोलि ड्युटी नजाने विचार गरेको थिएँ। फेरि सुत्ने प्रयास गरेँ। कुन दिनमा यो डाक्टरी विधा पढ्न पुगिएछ भन्ने महसुस भएको थियो। त्यो रात एक ट्याब्लेट सिटामोल र सेटिरिजिनको शरण लिनुपर्यो मलाई। जे होस्, केही काम गर्यो त्यसले। बिहान हल्का ठीक भएको थियो। भन्नुपर्दा ज्वरो आएनछ कस्सो! एक मनले त 'भर्सेला परोस्' भनेर आराम गर्न मन लागेको पनि थियो।
बिहानको ९ बजेको थियो। कन्फरेन्स हलमा कुनै एउटा बिरामीको केसको बारेमा प्रस्तुति भइरहेको थियो। कता-कता त्यो वातावरणमा पहिले कतै बसेको जस्तो लागिरहेको थियो। ड्युटी भएको डाक्टरले भर्ना गरिएको बिरामीका बारेमा विस्तारमा वरिष्ठ डाक्टरहरू तथा तैनाथ सबै रेजिडेन्ट डाक्टरहरूलाई प्रस्तुत गर्नुपर्ने रहेछ। प्रस्तुत गर्दै गरेका रेजिडेन्टको अनुहार हेर्दा दाह्रीले लटरम्म ढाकेको, फुर्सद नपाएको र आँखाका परेलाहरू टाँस्सिन खोजेको जस्तो देखिन्थ्यो। अब आफ्नो हालत पनि त्यस्तै हुनेवाला छ भनेर फिल्म हलतिर गएको थिएँ म त्यो दिन।
अर्को दिन ड्युटी परेको थियो, जसलाई 'माइनर' ड्युटी भनेर नामाकरण गरिने रहेछ।
नामले 'माइनर' राखेकोले हल्का किसिमको ड्युटी होला भन्ने अनुमान गरेको थिएँ। तर मेरो अनुमान पूरै गलत साबित हुनेवाला रहेछ। माइनर भनेको त वार्डमा कुद्ने काम रहेछ। कस्सो उकालो कुद्नु परेन! आकाशवाणीको पनि व्यवस्था रहेछ। कतै भर्ना गरिएका बिरामीलाई समस्या परेमा कल आउने कि त ठाउँ-ठाउँमा राखिएका माइकबाट आवाज आउने रहेछ। मेरो फोनमा चार्ज धेरै टिक्दैन। सँगै ड्युटी भएकोले फोन सबै हरि दाइकोमा आइरहेको थियो। दाइ अगाडि-अगाडि, म पछाडि-पछाडि कुदिरहेका थियौँ। त्यति धेरै फोन आएको देखेर नयाँ, चार्ज टिक्ने मोबाइलको टड्कारो आवश्यकता थियो मलाई अब। कतै के रगतको रिपोर्ट राम्रो आएन; कतै पोटासियम र सोडियम भन्ने रगतको रिपोर्ट धेरै बेसी, कतै धेरै कम; कतै बिरामीले नाकबाट पाइप निकाले; कतै बिरामीलाई ज्वरो आयो; कतै प्रेसर बढ्यो, आदि आदि। यो सबै दौडधुपले आफ्नै प्रेसर बढ्ने जस्तो थियो। त्यही नेफ्रो वार्डमा बसेर रिपोर्ट हेर्दै गरेको बेलामा '००१' भन्दै आकाशवाणी भएको थियो— अर्थात् तुरन्तै दौडिनुपर्ने सिरियस बिरामीको अवस्था हेर्न। त्यसपछि हस्याङफस्याङ गर्दै श्वासप्रश्वास रोगको वार्ड पुगेको थिएँ। सबै जम्मा भइसकेका थिए। हरि दाइ पहिल्यै पुगिसक्नुभएको रहेछ। (हरि दाइ मेरो सिनियर दाइ हुनुहुन्छ)।
पहिलो ड्युटीमै बिरामीको मृत्युको सर्टिफिकेट बनाउनुपरेको थियो। यस्तै दौड गर्दागर्दै ३ बजिसकेको थियो शायद। शरीरले आराम खोजिराखेको थियो। ड्युटी रुममा गएर पल्टिएको थिएँ। जिउ पूरै दुखेको थियो, आँखा पोलेका थिए। आँखाले खबरदारी गर्दै थिए आरामको लागि। दिमागका कोषिकाले सोच्न बन्द गर्दै थिए। त्यसैले बिहान आफ्नो कोठामा गएर पल्टिन मन लागेको थियो। तर अर्को दिनको बिहानको राउन्ड बसेर काम सकेर जानुपर्ने रहेछ। राउन्डमा बिरामीको रोगका बारेमा छलफल हुने रहेछ। जे होस्, आफ्नो हालत जस्तो भए पनि बिरामीको लागि भने राम्रै हुने जस्तो लाग्यो। तर आराम नपाएको दिमागले सोच्न भने भ्याउने रहेनछ। सुरुका दिन भएर होला, केही पनि मेसो पाइरहेको थिइनँ। थकाइ पनि लागेको थियो।
यस्तो ड्युटी पूरै अवैधानिक र अवैज्ञानिक लागेको थियो। हरि दाइलाई देख्दा स्ट्यामिना प्रचुर भएको जस्तो लाग्यो। मभन्दा बढी दौडिए पनि हरि दाइमा थकान कम देखिन्थ्यो। शायद सबैलाई समयसँगै बानी पर्ने होला। खुट्टाले कतै ठाउँ छोड्ने हो कि भन्ने डर पनि थियो। जिउ पूरै गलेको थियो। आरामदायी सोफामा अडेस लगाएर नदीको किनारामा बसेर प्रकृति नियालिरहेको सपना आए हुने जस्तो लागेको थियो। तर सपनासमेत डराएर भागिछन् शायद। बिहान ५ बजे उठ्दा सपना केही याद आएन। यो रेजिडेन्सीले मेरो स्ट्यामिना जाँच्न लागेको जस्तो लाग्यो।
बिहान ८ बजेसम्म सुत्ने बानी परेकोमा एक्कासि २-३ घण्टाको मात्र आरामले ३६ घण्टा धान्न त कठिन हुने नै भयो। कुनै दिन त एक मिनेट पनि पल्टिन नपाइने पनि हुन्छ। खाना अर्डर गरेको बेलामा टेबलमा नै एक क्षण पल्टेको पनि सम्झना छ। कतिखेर त 'किन यो विषय रोजिएछ' भनेर दिक्क नलागेको पनि होइन। यस्तै ड्युटी चार महिनासम्म एक दिन बिराएर भाग्यमानी महिनामा १४ र अभागी महिनामा १५ वटा ड्युटी गरेको अझै पनि झलझली याद आउँछ; र त्यसपछि पनि १२ वा १३ वटा ड्युटी गरेको चाहिँ बिर्सन गाह्रै पर्छ। के रेजिडेन्सी प्रोग्राम आर्मीको ट्रेनिङभन्दा कडा हुनुपर्ने हो? त्यसले व्यक्तिमा सख्तपन त विकास होला, तर के संवेदना विकास हुनुपर्नेमा सख्तपना विकास हुनु उचित होला त? अचेल ड्युटी घण्टामा सम्भव नभए पनि ड्युटी सङ्ख्यामा भने सुधार भएको सुनेको छु। त्यो सकारात्मक परिवर्तन हो। शायद खुसी छन् होला अहिलेका रेजिडेन्टहरू।
साथीभाइ, इष्टमित्रहरूलाई फोन नगरेको धेरै भएछ। फोन गरेकोमा पनि रिप्लाई गर्न बिर्सिएको रहेछ। आराम भन्ने कुरा खानाभन्दा पनि महत्त्वपूर्ण भएको थियो! त्यो फोन र मेसेज त प्राथमिकताको पुच्छरमा धकेलिएको हुन्छ। मेसेन्जर आदिका मेसेजको रिप्लाई ३-४ दिनमा मात्र दिँदा 'कस्तो मान्छे होला' भन्दा हुन्। नदेखेसम्म धेरैले पत्याउँदैनन् पनि। सबैलाई डाक्टर पढ्ने भनेको टेबलमा किताब-कपी राखेर, कुर्सीमा बसेर क्लासमा पढाइ हुन्छ भन्ने लाग्दो रहेछ; घण्टी बजेर क्लास सकेको जनाउ हुन्छ भन्ने लाग्ने रहेछ। हुन पनि मेडिकल कलेज भनेपछि प्लस टु कलेजको जस्तै पढाइ सबैलाई लाग्ने होला।
हल्का मैलो सेतो कोटको दाहिने खल्तीमा एउटा नोटबुक, पेपर, ह्याम्मर, टेप आदि र बायाँ खल्तीमा सानो किताब वा ठुलो आकारको मोबाइल बोकेर घाँटीमा आला (Stethoscope) झुन्ड्याई हिँडेका डाक्टरको क्लास भनेको बिरामी हेर्ने, ड्युटी गर्ने र बिरामीको रोगको बारेमा केस प्रस्तुति गर्ने हो। यो क्लासमा कुर्सी-टेबलमा बसेर ४० मिनेटको क्लास हुँदैन। यसमा क्लास भनेको बिरामीको बेड, बिरामीको फाइल, बिरामीसँगको रोगको भलाकुसारी र एकआपसमा छलफल हो।
मनुष्यको शरीर जस्तो बनाउन खोज्यो त्यस्तै बन्दछ। शारीरिक रूपमा मजबुत भए पनि मनुष्यले सहन गर्न कठिन हुने कुरा निद्रा हो। जस्तो 'म नै हुँ' भन्ने व्यक्तिले पनि आवश्यक निद्राको परिमाण खोज्छ नै। खाना छुटे केही नहोला, तर निद्राको अभावले व्यक्तिको सम्पूर्ण शरीर प्रणाली नै अस्तव्यस्त पारिदिन्छ।
३६ घण्टा ड्युटी गरेर बढी सिकिन्छ भन्ने कुरामा त म विश्वास गर्दिनँ। त्यसले अस्पताल प्रशासनलाई अस्पताल चलाउन भने सजिलो हुन्छ— खर्च कम, सस्तो जनशक्ति। ३६ घण्टा ड्युटीमा बीचमा केही समय विश्राम पाउने हो भने पनि गर्न नसकिने होइन, तर त्यो विश्रामको कुनै भर हुँदैन। ३६ घण्टा ड्युटी गरेर तन्नम देशलाई योगदान हुन्छ भने खट्नैपर्यो!
मलाई सधैँ सोध्न मन लाग्ने एउटा प्रश्न छ। यो प्रश्न म सबै अभिभावक, प्लस टु का कलेज र प्रवेश परीक्षा तयारी गराउने संस्थाहरूलाई सोध्न चाहन्छु:
'रेजिडेन्सीको यो दृश्य मेडिकल प्रवेश परीक्षा दिन लालायित रहेका विद्यार्थीहरूले आफैँ साक्षी भएर अनुभूति गरेको खण्डमा पनि यो मेडिकल शिक्षाप्रति आकर्षण रहिरहन्छ होला त?'
'कडा परिश्रमविना फल राम्रो आउँदैन' भन्ने तर्कले रेजिडेन्सी प्रोग्रामको ड्युटी संरचनालाई वैधानिकता दिने गरिन्छ। दुःख गरेर सिकेको कुरा दीर्घकालीन हुन्छ, सुखबोधले ज्ञान आर्जन हुन सक्दैन! यी सबै तर्कहरू पौराणिक कालका तर्क हुन्, अहिले सान्दर्भिक हुँदैनन्। ज्ञान आर्जन गर्ने नियतले गरिने परिश्रमले मात्रै नतिजा ल्याउँछ।
विद्यार्थी पनि अनुशासनमा रहने र ज्ञान आर्जन गर्ने कुरामा अल्छी हुनुहुँदैन। ओस्लरले भनेजस्तै मेडिकल शिक्षाको सिकाइ किताब मात्रै नभएर प्रत्यक्ष बिरामीसँग संलग्न हुनु अनिवार्य हुन्छ र हरेक कुरालाई ड्युटी समयसँग जोडेर मात्रै हेर्नुहुँदैन। तर ड्युटी समयले शरीर र मन अस्वस्थ भयो भने त्यो अवैज्ञानिक हुन्छ। शारीरिक र मानसिक विश्राम सुनिश्चित हुने प्रणाली हुनुपर्छ। मानसिक प्रताडना, शारीरिक खटाइभन्दा बढी हानिकारक हुन्छ। रेजिडेन्सीमा शारीरिक खटनले त्यति समस्या गर्दैन, जति मानसिक प्रताडनाले गर्ने गर्छ। शायद म भाग्यमानी रहेछु, मलाई भने त्यस्तो मानसिक प्रताडना कहिल्यै भोग्नु परेन।
भोलि पुनः ड्युटीमै जानुपर्ने हुँदा कलम यत्तिमै बिसाउने अनुमति पाऊँ। धन्यवाद।
उही
दर्शक रेजिडेन्ट