हामी बजारबाट खाद्यान्न किन्छौं, होटलमा खाना खान्छौं, रेस्टुरेन्टबाट खाना घर लैजान्छौं वा अनलाइनबाट खाद्य पदार्थ मगाउँछौं। सामानको गुणस्तर, मूल्य र म्याद हेर्ने गरे पनि बिल माग्ने कुरालाई भने धेरैले प्राथमिकता दिँदैनौं। ‘सानो रकम हो’, ‘बिल चाहिँदैन’, ‘खाने कुराबाट के पो हुन्छ र’ भन्ने सोच सामान्य छ। तर खाद्य पदार्थको हकमा बिल लिनु केवल आर्थिक कारोबारको प्रमाण राख्नु होइन; यो उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षासँग सम्बन्धित एउटा महत्वपूर्ण व्यवहार हो।
नेपाल सरकारले हालै करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ सञ्चालनमा ल्याएको छ। कार्यक्रमको उद्देश्य वास्तविक बिल/बीजक लिने बानी विकास गर्नु, कारोबारलाई पारदर्शी बनाउनु र कर कानुनको परिपालना बढाउनु हो। खाद्य पदार्थ पनि यस कार्यक्रममा समेटिएको छ। त्यसैले यो अवसरलाई बिल माग्ने बानी विकास गर्ने माध्यमका रूपमा लिन सकिन्छ। तर यसको महत्व पुरस्कार वा कर संकलनभन्दा धेरै फराकिलो छ।
बिलले खाना किनेको प्रमाणका रूपमा काम गर्दछ
हामीले किनेको खाद्य पदार्थले स्वास्थ्यमा असर गरेपछि सबैभन्दा पहिले उठ्ने प्रश्न हुन्छ- खाना कहाँबाट र कहिले किनेको थियो?
मानौँ, बजारबाट किनेको दूध पिएपछि परिवारका धेरै सदस्य बिरामी भए। वा कुनै प्याकेटबन्द खाद्य पदार्थ खाएपछि धेरै मानिसमा एउटै किसिमको समस्या देखियो। यस्तो अवस्थामा खाद्य पदार्थको स्रोत, खरिदको मिति र विक्रेता पहिचान गर्न सक्नु अनुसन्धानका लागि महत्वपूर्ण हुन्छ। उपभोक्तासँग रहेको बिलले कम्तीमा आफूले उक्त वस्तु कहाँ र कहिले खरिद गरेको थियो भन्ने प्रमाण दिन सक्छ।
खाद्य सुरक्षामा यसलाई ट्रेसेबिलिटी (खाद्य वस्तुको स्रोत र आवागमन पछ्याउन सक्ने क्षमता) भनिन्छ। एफएओका अनुसार ट्रेसेबिलिटीले खाद्य सुरक्षा जोखिम पहिचान गर्न, प्रभावित खाद्य पदार्थको स्रोत पत्ता लगाउन र आवश्यक परेमा त्यस्ता उत्पादन बजारबाट फिर्ता गर्न सहयोग गर्छ।
बिल मात्रले यस्तो सम्पूर्ण प्रणाली सुनिश्चित गर्दैन। उत्पादनको ब्याच नम्बर, लेबल, व्यवसायीका खरिद–बिक्री अभिलेख, भण्डारण तथा वितरणसम्बन्धी विवरण पनि आवश्यक हुन्छन्। तर उपभोक्ताले राखेको बिल यस प्रक्रियामा एउटा महत्वपूर्ण प्रमाण बन्न सक्छ।
खाद्य विषाक्तता भएमा बिल उपयोगी हुन सक्छ
खाद्य विषाक्तताका कारण निम्तिएका समस्या व्यक्तिगत समस्या मात्र होइनन्। एउटै दूषित खाद्य पदार्थ धेरै मानिसले उपभोग गरेको अवस्थामा समुदायमा नै समस्या फैलिन सक्छ। खाद्य विषाक्तता वा अन्य खाद्यजन्य रोगको शंका भएमा स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई बिरामीले के खाएको थियो, कहाँबाट किनेको थियो र कहिले खाएको थियो भन्ने जानकारी आवश्यक पर्न सक्छ।
यस्तो अवस्थामा ‘मैले त्यो खाना त्यही पसलबाट किनेको थिएँ’ भन्ने मौखिक जानकारीभन्दा बिल वा डिजिटल कारोबारको अभिलेख बढी उपयोगी हुन सक्छ। यसले सम्भावित स्रोत पहिचान, थप अनुसन्धान र आवश्यक परेमा सम्बन्धित उत्पादन बजारबाट हटाउने प्रक्रियालाई सहयोग गर्न सक्छ। एफएओ/डब्ल्यूएचओ जस्ता अन्तर्राष्ट्रिय निकायले प्रभावकारी खाद्य रिकल प्रणालीका लागि खाद्य वस्तुको स्रोत र वितरणसँग सम्बन्धित अभिलेखको महत्व औँल्याएका छन्।
बिलले उपभोक्तालाई सचेत पनि बनाउँछ
बिल लिनु भनेको पैसा तिरेपछि कागजको टुक्रा माग्नु मात्र होइन। यसले हामीलाई ‘मैले के किनेँ, कति किनेँ र कति तिरेँ?’ भनेर जाँच गर्ने बानी बसाल्छ।
खाद्य पदार्थ किन्दा यससँगै केही आधारभूत कुरा हेर्नुपर्छ—उत्पादनको नाम, म्याद, ब्याच वा लट नम्बर, लेबल, प्याकेज बिग्रिएको छ कि छैन र आवश्यक भएमा भण्डारणको अवस्था। विशेषगरी दूध तथा दुग्धजन्य पदार्थ, मासु, माछा, फ्रोजन खाद्य पदार्थ, तयार खाना र अन्य छिटो बिग्रने खाद्य वस्तुमा थप सावधानी आवश्यक हुन्छ।
कोडेक्स एलिमेन्टेरियसका खाद्य स्वच्छतासम्बन्धी सिद्धान्तहरूले पनि खाद्य वस्तुको पहिचान, उचित जानकारी र ट्रेसेबिलिटी तथा रिकलका लागि आवश्यक अभिलेखको महत्वलाई जोड दिएका छन्।
बिल लिने बानी- स्वास्थ्यका लागि एउटा सानो बानी
खाद्य सुरक्षा सरकार, खाद्य व्यवसायी र उपभोक्ताको संयुक्त जिम्मेवारी हो। उपभोक्ताले खाना किन्दा सुरक्षित र स्वच्छ वस्तु छनोट गर्ने, लेबल र म्याद हेर्ने, उचित रूपमा भण्डारण गर्ने र समस्या देखिएमा सम्बन्धित निकायमा जानकारी गराउनेजस्तै बिल लिने बानी पनि उपभोक्ताको जिम्मेवार व्यवहारको एउटा हिस्सा हो।
किनकि बिल लिनु करको कुरा मात्र होइन। यो आफ्नो खरिदको प्रमाण राख्ने, समस्या पर्दा आफ्नो अधिकार प्रयोग गर्ने र खाद्य सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने सानो तर महत्वपूर्ण स्वास्थ्य व्यवहार हो।
त्यसैले अब खाना किन्दा पसलेले ‘बिल चाहिन्छ?’ भनेर सोध्दा हाम्रो जवाफ सरल हुन सक्छ—‘चाहिन्छ।’
अन्त्यमा, करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने संस्कार विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। यसको दीर्घकालीन सफलता कति जनाले पुरस्कार पाए भन्नेमा मात्र होइन, कति खाद्य पदार्थका उपभोक्ताले नियमित रूपमा बिल माग्ने बानी विकास गरी आफ्नो खाद्य सुरक्षा र उपभोक्ता अधिकारप्रति सचेत व्यवहार अपनाए भन्नेमा निर्भर हुनेछ।