काठमाडौं- अष्ट्रेलियामा उपचारका क्रममा जटिल अवस्थाको एन्डोमेट्रियोसिस देखिएपछि उच्च जोखिमका कारण विशेषज्ञकहाँ उपचारका लागि सिफारिस गरिएकी एक बिरामीको सफल शल्यक्रिया नेपालमा गरिएको छ। नेपालस्थित ब्लुक्रस अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं एन्डोमेट्रियोसिस विशेषज्ञ डा. रंगिना लाइकङबमको नेतृत्वमा करिब साढे पाँच घण्टा लगाएर ल्याप्रोस्कोपिक शल्यक्रिया गरिएको हो।
अष्ट्रेलियाको क्यानबेरा अस्पतालमा यसअघि ल्याप्रोस्कोपी गराएकी बिरामीमा ग्रेड–४ एन्डोमेट्रियोसिस रहेको र आन्द्रा पूर्ण रूपमा टाँसिएको पाइएको थियो। त्यहाँका चिकित्सकले आन्द्रामा चोट लाग्ने जोखिम उच्च रहेको भन्दै अत्यधिक अनुभवी ल्याप्रोस्कोपिक एन्डोमेट्रियोसिस विशेषज्ञबाट उपचार गराउन लिखित रूपमा सिफारिस गरेका थिए।
बिरामीका अनुसार अष्ट्रेलियामा गरिएको प्रारम्भिक ल्याप्रोस्कोपीपछि चिकित्सकहरूले रोगको वास्तविक अवस्था शल्यक्रिया गरेर हेरेपछि मात्र स्पष्ट हुने बताएका थिए। त्यस क्रममा जटिल एन्डोमेट्रियोसिस देखिएपछि नेपालमा डा. लाइकङबमसँग भिडियो कन्सल्टेसन गरिएको थियो।
डा. लाइकङबमका अनुसार शल्यक्रियाका क्रममा बिरामीको अवस्था निकै जटिल देखिएको थियो। पिसाबको थैलीमा एन्डोमेट्रियोसिस फैलिएको, पाठेघर वरिपरिका संरचना आन्द्राले ढाकेको तथा दुवै अण्डाशयमा ठूला एन्डोमेट्रियोटिक सिस्ट रहेको उनले बताइन्। रोग पेल्भिक क्षेत्रको गहिरो भागसम्म पुगेको र मूत्रनली तथा नसाहरूको आसपाससमेत सावधानीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
'दुरबिन हाल्नेबित्तिकै भित्रको अवस्था निकै जटिल देखिएको थियो,' डा. लाइकङबमले भनिन्, 'पिसाबको थैली, आन्द्रा र दुवै अण्डाशयमा रहेको एन्डोमेट्रियोसिसलाई व्यवस्थापन गर्दै पेल्भिक क्षेत्रका संरचनालाई पुनः एनाटोमिकल अवस्थामा ल्याउने काम गरिएको हो।'
करिब पाँचदेखि साढे पाँच घण्टा चलेको शल्यक्रियामा पिसाबको थैली, आन्द्रा, दुवै अण्डाशय तथा पेल्भिक क्षेत्रमा फैलिएको एन्डोमेट्रियोसिसको उपचार गरिएको उनले बताइन्। शल्यक्रिया कुनै ठूलो जटिलताविना सम्पन्न भएको र बिरामी घर फर्किन तयार रहेको चिकित्सकको भनाइ छ।
बिरामीले भने अष्ट्रेलियामा उपचारका क्रममा आफू पीडामा रहेको र नेपाल आएर डा. लाइकङबमसँग पहिलोपटक भिडियो कन्सल्टेसन गर्दा नै आफूलाई सहज तथा विश्वस्त महसुस भएको बताइन्।
'फर्स्ट टाइम म्यामसँग भिडियो कन्सल्टेसन गर्दा नै कनेक्टेड र कन्भिन्स्ड फिल भयो,' उनले भनिन्, 'त्यसपछि परिवारका सदस्यलाई रिपोर्टसहित भेट्न पठाएँ। उहाँले हरेक कुरामा सपोर्ट गर्नुभयो। अप्रेसन सफल भयो भन्दा अहिले म लिटरली ह्याप्पी छु।'
अष्ट्रेलियामा ल्याप्रोस्कोपी गरेपछि पनि जटिलताका कारण शल्यक्रिया गर्न कठिन हुने संकेत पाएकी उनी नेपालमा सफलतापूर्वक उपचार भएपछि निकै खुसी भएको बताउँछिन्। 'अष्ट्रेलियामा दुर्बिन हालिसकेपछि पनि केस निकै जटिल भएकाले ओपन गरेर मात्र गर्नुपर्ने अवस्था जस्तो देखिएको थियो,' उनले भनिन्।
डा. लाइकङबमले नेपालमा पनि जटिल एन्डोमेट्रियोसिसको उपचार सम्भव रहेको बताइन्। उनका अनुसार विदेशमा उपचार सम्भव नभएको वा अत्यन्त जटिल भनिएका केही केसमा पनि नेपालमै विशेषज्ञ उपचार गर्न सकिने अवस्था विकसित भएको छ।
उनले आफूले फ्रान्समा एन्डोमेट्रियोसिससम्बन्धी अध्ययन तथा तालिम लिएको र यस क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूसँग काम गरेको बताइन्। नेपालमा पनि जटिल एन्डोमेट्रियोसिसको उपचारका लागि आवश्यक प्रविधि र उपकरण उपलब्ध गराउने प्रयास भइरहेको उनको भनाइ छ।
एन्डोमेट्रियोसिसका कारण लामो समयदेखि दुखाइ, महिनावारीमा समस्या, गर्भधारणमा कठिनाइलगायत समस्या भोगिरहेका बिरामीले समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने डा. लाइकङबमको सुझाव छ।
नेपालमा नै जटिल एन्डोमेट्रियोसिसको उपचार सफलतापूर्वक गर्न सकिएको यो घटनाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता सबै अवस्थामा नहुने र विशेषज्ञता तथा आवश्यक प्रविधि उपलब्ध भए नेपालमै पनि जटिल शल्यक्रिया सम्भव हुने चिकित्सकीय दाबीलाई अघि सारेको छ।