काठमाडौं- गोरखाको शहीद लखन गाउँपालिका–९ का बासिन्दाले चुनावका बेला गरेको वाचा अनुसार स्थानीय तहमा ल्याब स्थापनाका लागि बजेट माग गरेका छन् । तर, गृहमन्त्री सुधन गुरुङले चार महिनामै 'कायापलट' गर्न नसकिने भन्दै असन्तुष्ट मतदातालाई ‘भोट फिर्ता’ लैजान भनेका छन् ।
गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले आइतबार शहीद लखन गाउँपालिका–९ का स्थानीयसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन्। आइतबार बेलुका वडा नम्बर ९ का स्थानीयसँग भएको भेटमा वडाध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सचिव खोपेन्द्र लामिछानेलगायत सहभागी थिए ।
भेटघाटका क्रममा रास्वपा वडा सचिव लामिछानेले गुरुङलाई चुनावका बेला गाउँ आउँदा स्थानीयस्तरमा ल्याबका लागि बजेट छुट्याउन गरेको वाचा सम्झाए । गुरुङले आफूले वाचा गरेको बताए। तर, वाचा गरेअनुसार बजेट विनियोजन नभएको कुरामा भने उनले चार महिनामै प्रतिफल खोज्न नहुने बताएका हुन्।
स्थानीय एक व्यक्तिले गृहमन्त्री गुरुङलाई चुनावका बेला आफूले ल्याबका लागि बजेट छुट्याउने बताएको स्मरण गराउँदै सोधे, ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै ? हजुरले मन्त्रालयको सचिवलाई धरी फोन गर्नुभाथ्यो यहीँबाट । र, तपाईंहरू ढुक्क हुनुस्, यो आउने बजेटमा म यहाँको अनुसार गर्दिन्छु भनेर बोलेर जानुभाथ्यो । खै त ? त्यो बजेटमा कहीँ पनि देखिँदैन ।’
जवाफमा गुरुङले स्थानीय तहबाट माग गरिएका योजनाको सूची आवश्यक पर्ने बताए । उनले भने, ‘यति साना–साना बजेटहरू छ नि तपाईंको, यसरी किताबमा राख्ने हो भने त महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन।’
उनले थपे, ‘त्यही भएर हामीले यहाँबाट लिस्ट मगाएका छौं । के राख्ने भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि ।’
त्यसपछि स्थानीयले गृहमन्त्रीसँगै बसेका व्यक्तिलाई आफूहरूले मागको सूची पठाए–नपठाएकोबारे प्रश्न गरेका थिए । ती व्यक्तिले सूची पठाएको जानकारी गराए ।
तर, स्थानीयको असन्तुष्टि भने रोकिएन । एक सहभागीले गाउँमा ल्याबको मागलाई लिएर दबाब बढिरहेको भन्दै गृहमन्त्रीलाई सुनाए, ‘यहाँ गाउँका मान्छेले मार्ने भइसके त ! हिजो बोलेर गाको हो सुधन गुरुङले, अहिले खै भन्छन् ।’
त्यसपछि गृहमन्त्री गुरुङले सरकार गठन भएको र बजेट आएको चार महिनामात्रै भएको भन्दै तत्कालै सबै काम गर्न नसकिने बताए । गुरुङले आफूले स्पष्ट कुरा गर्ने व्यक्ति भएको भन्दै पाँच वर्षको कार्यकाल हेर्न आग्रह गरे ।