राजविराज - स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल १०० शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताएकी छन्।
मन्त्री मेहताका अनुसार अस्पताललाई तत्काल १०० शय्यामा विस्तार गरिए पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढेपछि भविष्यमा अस्पताललाई ३०० शय्यासम्म विस्तार गर्नुपर्ने आवश्यकता छ। प्रतिष्ठान र अस्पतालको विकासलाई एकीकृत योजनाका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
आइतबार अस्पताल निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री मेहताले अस्पतालको स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्। उनले नवनिर्मित भवन हस्तान्तरणलगत्तै सघन उपचार कक्ष (आईसीयू) सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन्।
नवनिर्मित भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री मेहताले भदौ महिनाभित्र भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिइन्। अस्पतालको सेवा विस्तारका लागि आवश्यक औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
नर्सिङ कलेज र प्रतिष्ठानको काम अघि बढाउन माग
अन्तरक्रिया कार्यक्रममा अस्पतालका सामाजिक इकाइ प्रमुख सूर्यकान्त झाले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, उपलब्ध सुविधा, जनशक्ति तथा अस्पतालको समग्र अवस्थाबारे जानकारी गराएका थिए।
उनले नवनिर्मित भवन शीघ्र हस्तान्तरण, नर्सिङ कलेज सञ्चालन, अस्पताल विकास समिति गठन तथा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन आवश्यक पहल गर्न मन्त्रीसमक्ष आग्रह गरे।
कार्यक्रममा सहभागी सरोकारवालाले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीसहित आवश्यक जनशक्ति व्यवस्थापन, आईसीयू सञ्चालन, औषधिको नियमित उपलब्धता र नयाँ भवन शीघ्र हस्तान्तरण गर्न माग गरेका थिए। स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध हुने औषधि पर्याप्त रूपमा नपाइने तथा करारमा कार्यरत कर्मचारीले न्यून पारिश्रमिकमा काम गर्नुपरेको गुनासोसमेत मन्त्रीसमक्ष राखिएको थियो।
घोषणाभन्दा कार्यान्वयनको प्रतीक्षा
गजेन्द्रनारायण सिंह अस्पतालमा यसअघि पनि सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका विषयमा विभिन्न घोषणा तथा प्रतिबद्धता हुँदै आए पनि कार्यान्वयन पक्ष कमजोर रहेको स्थानीयको गुनासो छ। यसपटक मन्त्रीस्तरबाट गरिएका प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्ने स्थानीयको अपेक्षा रहेको छ।
यसै क्रममा मन्त्री मेहताले आइतबारै सप्तरीको भारदहस्थित जिल्ला अस्पतालको समेत निरीक्षण गरिन्। उनले अस्पतालको सेवा अवस्था, पूर्वाधार, जनशक्ति तथा स्वास्थ्य सेवा प्रवाहबारे जानकारी लिनुका साथै आवश्यक सुधारका विषयमा चासो राखिन्।
निरीक्षण तथा अन्तरक्रिया कार्यक्रममा सांसद पुष्पा चौधरी, डा. अङ्किता ठाकुर, गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रकुमार मण्डल, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतको सहभागिता थियो।