पछिल्लो केही दिनयता भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन्। ज्वरो आउने, टाउको तथा हातखुट्टा दुख्ने र रुघाखोकी लाग्नेजस्ता लक्षणका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका हुन्।
मनसुनका कारण ज्वरो र रुघाखोकी लागेर अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
उनका अनुसार मौसमी रुघाखोकी र भाइरल ज्वरो दुवै भाइरसका कारण हुन्छन्। मौसमी रुघाखोकीमा मुख्यतया नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने र सामान्य वा हल्का ज्वरो आउँछ। भाइरल ज्वरोमा भने शरीर भारी हुने, कडा वा उच्च ज्वरो आउने, टाउको तथा हाडजोर्नी र मांसपेशी दुख्नेजस्ता लक्षणहरू बढी देखिन्छन्।
मौसमी रुघाखोकी
नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने।
लगातार हाच्छ्युँ आउने।
घाँटी खसखस हुने वा दुख्ने।
हल्का वा सामान्य ज्वरो आउने।
शरीरमा सामान्य थकान महसुस हुने।
भाइरल ज्वरो
एक्कासि उच्च ज्वरो आउने।
शरीर, जोर्नी र मांसपेशीहरू असाध्यै दुख्ने।
कडा टाउको दुखाइ र चक्कर लाग्ने।
खान मन नलाग्ने र बढी नै कमजोरी हुने।
कतिपयलाई बान्ता हुने वा झाडापखाला लाग्नेजस्ता पेटसम्बन्धी समस्या देखिने।
अपनाउने सामान्य सावधानी तथा उपायहरू
झोलिलो पदार्थ: मनतातो पानी, सुप, कागती पानी र जुस प्रशस्त मात्रामा पिउने।
आराम: शरीरलाई पूर्ण रूपमा आराम दिने।
घरायसी उपचार: ज्वरो वा टाउको दुखेमा सिटामोल खान सकिन्छ। चिकित्सकको सल्लाहबिना अनावश्यक एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन।
खानपान: पोषिलो र ताजा खाना खाने।
कहिले अस्पताल जाने?
३ दिनभन्दा बढी समयसम्म लगातार उच्च ज्वरो नघटेमा।
श्वास फेर्न गाह्रो भएमा वा छाती दुखेमा।
असाध्यै बढी कमजोरी भई उठ्न नसक्ने भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्ने।