अस्पतालको शान्त देखिने वातावरणभित्र धेरै कथा लुकेका हुन्छन्। कतै जीवन र मृत्युबिच सङ्घर्ष चलिरहेको हुन्छ, कतै बिरामी र आफन्तजनको पीडा र आशा मिसिएको हुन्छ। अस्पतालको करिडोरमा हतारिँदै दौडिरहेका पाइलाहरू, आकस्मिक कक्षबाट सुनिने आत्तिएको त्यो आवाज, शल्यक्रिया कक्षबाहिर प्रतीक्षारत आँखाहरू र जीवनको आशामा टल्किरहेका ती अनुहारहरू- यी सबैको बिचमा एउटा व्यक्तित्व सधैँ सक्रिय हुन्छ: नर्स।
समाजमा अझै पनि कतिपय मानिसको बुझाइमा नर्स भनेको चिकित्सकको आदेश कार्यान्वयन गर्ने व्यक्ति मात्र हो। तर आधुनिक स्वास्थ्य सेवामा नर्सको भूमिका त्यसभन्दा धेरै व्यापक छ। बिरामीको प्रत्यक्ष हेरचाह र निरन्तर निगरानी गर्ने, औषधि सुरक्षित रूपमा दिने र त्यसको प्रभाव तथा सम्भावित प्रतिकूल असर अवलोकन गर्ने, आकस्मिक अवस्थामा जीवन रक्षा गर्ने, सङ्क्रमण नियन्त्रण गर्ने, स्वास्थ्य शिक्षा दिने र बिरामीको अधिकार तथा सुरक्षाका लागि आवाज उठाउने नर्स स्वास्थ्य सेवाका अभिन्न आधार हुन्।
तर प्रश्न उठ्छ- अरूको पीडा कम गर्न आफ्नो समय र ऊर्जा समर्पण गर्ने यी हातहरूले आफैँ कति सम्मान पाउँछन् त? दुर्भाग्यवश, यसको उत्तर सुखद पक्कै छैन। स्वास्थ्य सेवाको अत्यन्त महत्त्वपूर्ण अंग भएर पनि नर्सहरूले पटक–पटक अपमान, दुर्व्यवहार, गालीगलौज, धम्की र हिंसासमेत सहनुपरेको अवस्था देखिन्छ। नर्सलगायत अन्य स्वास्थ्यकर्मीप्रति हुने यस्तो व्यवहार केवल एउटा व्यक्तिप्रतिको अनादर होइन, यो समग्र स्वास्थ्य सेवा र मानवीय सेवाभावप्रतिको अनादर पनि हो।
अस्पताल पुगेपछि कामको चाप सुरु हुन्छ। एउटा बिरामीको अवस्था बिग्रन्छ, अर्को बिरामीलाई औषधि दिनुपर्ने बेला भएको हुन्छ, कतै आकस्मिक अवस्था सिर्जित हुन्छ, कसैका आफन्त आत्तिन्छन्, कसैले प्रश्न गर्छन् र कसैले गुनासो गर्छन्। घडीले ड्युटी सकिएको सङ्केत गर्छ तर उनको जिम्मेवारी सकिएको हुँदैन। निर्धारित समयभन्दा पर अस्पतालमै बिताएर उनी घर फर्किन्छिन् अनि अर्को दिन फेरि त्यही सेतो पोशाकमा अस्पताल आउँछिन्। तर यही सेवाको यात्रामा उनले धन्यवादको सट्टा गाली सुन्नुपर्छ, अपमान सहनुपर्छ र सहकार्यको सट्टा धम्की तथा दुर्व्यवहारको सामना गर्नुपर्छ।
स्वास्थ्य संस्थामा कहिलेकाहीँ सेवा ढिलो हुन सक्छ, सञ्चारमा कमजोरी हुन सक्छ, बिरामी तथा आफन्तले अपेक्षा गरेको सेवा तत्काल उपलब्ध नहुन सक्छ। कुनै कमजोरी भए गुनासो गर्न सकिन्छ, गल्ती भए सुधारको माग गर्न सकिन्छ। बिरामी र आफन्तलाई स्वास्थ्य सेवाप्रति प्रश्न गर्ने पूर्ण अधिकार छ तर गुनासो गर्ने अधिकारले अपमान गर्ने अधिकार दिँदैन। पीडा सबैलाई हुन्छ, त्यसैले पीडामा पनि मानवता हराउनु हुँदैन।
यसरी गरिने अनादर र दुर्व्यवहारको असर नर्समा मात्र सीमित हुँदैन। डर, तनाव र असुरक्षाले भरिएको कार्यवातावरणले स्वास्थ्य सेवाको समग्र गुणस्तरलाई प्रभावित गर्न सक्छ। जो नर्स आफ्नो सुरक्षाबारे चिन्तित छिन्, उनले आफ्नो सम्पूर्ण ऊर्जा बिरामीको सेवामा केन्द्रित गर्न कठिन हुन्छ।
नर्सका पनि गल्ती हुन सक्छन्। गल्ती भए स्पष्ट रूपमा प्रश्न गरौँ, कारण बुझौँ, सम्बन्धित जिम्मेवार व्यक्तिसँग कुरा गरौँ, सुधारको अवसर दिऔँ, आवश्यक परे संस्थागत प्रक्रिया अपनाऔँ; तर व्यक्तिको चरित्र, आत्मसम्मान र पेसागत गरिमामाथि प्रहार नगरौँ। नर्सलाई केवल सेवा लिने व्यक्तिको आँखाबाट मात्र होइन, सेवा दिने मानवको आँखाबाट पनि हेर्ने गरौँ।
अन्त्यमा, सेतो पोशाक केवल पहिरन होइन, सेवा, समर्पण र विश्वासको प्रतीक पनि हो। त्यसैले त्यो पोशाकमा चोट पुर्याउनुअघि त्यसभित्र धड्किरहेको संवेदनशील मुटु सम्झिने गरौँ।
-(कृतिका कँडेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्टाफ नर्स हुन्।)