निश्चित अवधिमा हामीलाई भोक लाग्छ। भोक लाग्नुले सामान्यतया शरीरलाई पौष्टिक आहारको आवश्यकता छ भन्ने सङ्केत गर्छ। तर समय–समयमा खाइरहँदा पनि भोक लागिरहन्छ भने त्यो विभिन्न रोगको सङ्केत पनि हुन सक्छ।
अत्यधिक तनाव, रिस, थकान, टाउको दुखाइ, अनिद्रा, पेटको समस्या र थाइराइडजस्ता कारणले पटक–पटक खाँदा पनि तपाईंलाई भोक लागिरहेको हुन सक्छ।
चिकित्सा विज्ञानमा अत्यधिक भोक लाग्ने समस्यालाई ‘पोलिफेजिया’ भनिन्छ। यो मुख्यतया मधुमेह, थाइराइड असन्तुलन, रगतमा चिनीको मात्रा घट्ने समस्या, मानसिक तनाव वा पेटमा जुका पर्दा हुने गम्भीर सङ्केत हुन सक्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. सीताराम श्रेष्ठ बताउँछन्।
यस कारण लाग्न सक्छ अत्यधिक भोक
मधुमेह: शरीरले इन्सुलिन प्रयोग वा उत्पादन गर्न नसक्दा कोषहरूले ऊर्जा पाउँदैनन्, जसले गर्दा अघाउन्जेल खाए पनि बारम्बार भोक लागिरहन्छ।
हाइपरथाइराइडिज्म: थाइराइड ग्रन्थिले धेरै हर्मोन निकाल्दा शरीरको मेटाबोलिजम तीव्र हुन्छ र छिटो–छिटो भोक लाग्छ।
हाइपोग्लाइकेमिया: रगतमा चिनीको मात्रा अचानक धेरै कम हुँदा शरीरले ऊर्जाको माग गर्दै अत्यधिक भोक लगाउँछ।
पेटमा किरा वा जुका: आन्द्रामा जुका वा अन्य किरा पर्दा हामीले खाएको पौष्टिक तत्त्व उनीहरूले चुस्छन्, जसले गर्दा व्यक्तिलाई धेरै भोक लाग्छ तर तौल घट्दै जान्छ।
मानसिक तनाव र डिप्रेसन: धेरै चिन्ता वा मानसिक तनावका बेला शरीरमा ‘कोर्टिसोल’ हर्मोन बढेर भोकको मात्रा अत्यधिक बढाउँछ।
हर्मोनल परिवर्तन: महिलाहरूमा महिनावारी हुनुभन्दा अघिको समयमा हुने हर्मोनको गडबडीले पनि बढी भोक लगाउन सक्छ।