काठमाडौं- देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयका अनुसार अनलाइन माध्यमबाट प्राप्त आवेदनहरूको आधिकारिक संख्या ११३ वटा रहेको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले गत जेठ ४ गते दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको थियो।
सचिवालयका अनुसार सबैभन्दा बढी आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ भने सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको देखिन्छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २६ जनाले आवेदन दिएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४ जनाको आवेदन परेको छ।
ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ जनाको आवेदन दर्ता भएको छ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जनाले, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा कम ११ जनाले अनलाइन माध्यमबाट आवेदन दिएका छन्।
आवेदनहरूमध्ये छनोट तथा सिफारिस समितिले कार्यविधि अनुसार उम्मेदवारहरूको योग्यता, कार्ययोजना र प्रस्तुतीकरणको मूल्याङ्कन गरी उपयुक्त नामहरू सिफारिस गर्नेछ।