मिति २०८३ साल वैशाख २८ गते, सोमबार। म र मेरी श्रीमती बच्चा जन्माउने प्रयोजनका लागि बिहान करिब ९ बजे Patan Hospital पुगेका थियौं। गर्भावस्थाको प्रारम्भिक चरणदेखि नै हामीले अस्पतालको प्राइभेट सेवामार्फत डा. शारदा श्रेष्ठसँग नियमित परामर्श गर्दै आएका थियौं।
अन्तिम समयमा हामीले डेलिभरी स्वास्थ्य बीमामार्फत गराउने निर्णय गर्यौं। सोहीअनुसार वैशाख २४ गते स्वास्थ्य बीमाबाट ओपिडी टिकट काटी पुनः डा. शारदा श्रेष्ठलाई देखायौं। उहाँले वैशाख २८ गते मेटरनिटी वार्डमा भर्ना हुन तथा मंगलबार शल्यक्रिया (सिजेरियन सेक्सन) गर्ने सल्लाह दिनुभएको थियो।
सोहीअनुसार हामी आवश्यक सम्पूर्ण कागजात, स्वास्थ्य बीमा कार्ड तथा रेफरल पुर्जी लिएर मेटरनिटी वार्डमा भर्ना हुन पुग्यौं। त्यहाँ कार्यरत एकजना नर्सले सम्पूर्ण विवरण कम्प्युटरमा इन्ट्री गर्नुभयो र हामीलाई भर्ना पुर्जी दिएर स्वास्थ्य बीमा शाखामा गई बीमामा मौज्दात रकम लेखाएर ल्याउन तथा आवश्यक परे रकम डिपोजिट गर्न निर्देशन दिनुभयो।
तर स्वास्थ्य बीमा शाखामा पुग्दा “तपाईंको कम्प्युटर इन्ट्री मिलेन, प्रक्रिया मिलाएर आउनुस्” भन्दै पुनः मेटरनिटी वार्ड पठाइयो। मेटरनिटी वार्डले “यो दर्ता नम्बरमा इन्ट्री भइसकेको छ, दर्ता नम्बर परिवर्तन गर्नुपर्छ” भन्दै सूचना प्रविधि (आईटी) विभागमा पठायो। आईटी विभागले “हाम्रोतर्फबाट सम्भव छैन” भन्दै फेरि बीमा शाखामा पठायो। बीमा शाखाले पुनः “जहाँबाट इन्ट्री भएको हो, त्यही जानुस्” भन्यो।
यसरी दिनभर कुनै स्पष्ट समाधान नदिई हामीलाई विभाग–विभाग घुमाइयो।
अन्ततः मेटरनिटी वार्डकी एकजना सिस्टरले राति १२ बजेपछि नयाँ दिन सुरु भएपछि नयाँ दर्ता नम्बर बनाएर स्वास्थ्य बीमामा दर्ता गर्ने आश्वासन दिनुभयो। त्यसपछि सम्पूर्ण प्रक्रिया रोकियो। आवश्यक रक्त परीक्षण, ल्याब जाँच लगायत सबै प्रक्रिया मध्यरातपछि मात्र हुने अवस्था बन्यो। हामी दुवै अत्यन्त तनावपूर्ण अवस्थामा राति १२ बजेसम्म कुर्न बाध्य भयौं। म वार्डबाहिर र मेरी श्रीमती वार्डभित्र मानसिक तनावमा बस्नुपर्यो।
राति १२ बजेपछि इमर्जेन्सी काउन्टरमार्फत स्वास्थ्य बीमाबाट भर्ना प्रक्रिया गरियो। त्यसपछि बल्ल रक्त परीक्षणलगायत अन्य जाँच सम्पन्न भए। सम्पूर्ण प्रक्रिया पूरा गर्दा रातको करिब १:३० बजिसकेको थियो।
तर भोलिपल्ट बिहान फेरि अर्को समस्या सिर्जना भयो। बिहान ८ बजे मेटरनिटी वार्डबाट स्वास्थ्य बीमामा मौज्दात रकम लेखाएर ल्याउन भर्ना पुर्जी दिएर पठाइयो। स्वास्थ्य बीमा शाखामा पुगेपछि पुनः “प्रक्रिया नमिलेको”, “नयाँ ओपिडी टिकट काटेको छैन”, “दर्ता नम्बर कसरी फेरि जेनेरेट भयो?” भन्दै फिर्ता पठाइयो।
त्यसपछि स्वास्थ्य बीमा शाखा प्रमुखकहाँ गयौं। उहाँले “मैले हिजै डिस्चार्ज गरेर नयाँ टिकट काटेर फेरि भर्ना हुन भनेको होइन?” भन्दै उच्च स्वरमा थर्काउने व्यवहार गर्नुभयो। तर उक्त जानकारी हामीलाई पहिले कहिल्यै दिइएको थिएन।
जता गयौं, त्यतैबाट “हाम्रोबाट मिल्दैन”, “तपाईं उता जानुस्”, “यता जानुस्” भन्दै एउटा अन्तहीन ‘लूप’ मा घुमाइयो। अन्ततः “अब केही गर्न सकिँदैन” भन्ने जवाफ पाइयो।
म पुनः मेटरनिटी वार्डमा गुहार माग्न पुगेँ। त्यहाँ फेरि वार्ड र बीमा शाखाबीच विवाद सिर्जना भयो। एकजना बीमा सहायक त संवादकै बीचमा “हुँदैन” भन्दै हिँड्नुभयो। अन्य कर्मचारीहरू पनि जिम्मेवारी लिनबाट पन्छिनुभयो।
अन्ततः “एक दिनको बेड चार्ज तथा भएका परीक्षणको रकम तिर्ने, डिस्चार्ज गर्ने र नयाँ ओपिडी टिकट काटेर पुनः भर्ना गर्ने” अस्थायी उपाय निकालियो। त्यतिबेलासम्म शल्यक्रियाको सम्पूर्ण तयारी भइसकेको थियो। बिरामीलाई ओटी ड्रेस र स्लाइनसहित अपरेशन थिएटर लैजान तयारी अवस्थामा राखिएको थियो। बाहिरको तनावपूर्ण अवस्था देखेर मेरी श्रीमती अत्यन्त हतास हुनुभयो। त्यो अवस्थामा उहाँलाई परेको मानसिक तनावको कल्पना गर्नसमेत कठिन छ।
बिरामीलाई अपरेशन थिएटर जाने बाटोमै रोकिएको थियो भने म र एकजना सिस्टर विभिन्न शाखामा धाइरहेका थियौं। अन्ततः डिस्चार्ज प्रक्रिया पूरा गरियो। आश्चर्यजनक रूपमा पहिलेको भर्नामा बीमा नम्बर प्रयोग गरिएको रहेछ। बेड चार्ज बीमामा देखिएको थियो, तर ल्याब परीक्षण नगदमा देखाइएको थियो।
त्यसपछि नयाँ ओपिडी टिकट काट्न लगियो। टिकट काट्न खोज्दा ‘मल्टिपल इन्ट्री’ भएको कारण २४ घण्टासम्म नयाँ टिकट काट्न नमिल्ने भनियो। फेरि स्वास्थ्य बीमा शाखा, आईटी विभाग र अन्य निकाय धाउनुपर्यो। अन्ततः आईटी विभागबाट ब्लक हटाएर नयाँ दर्ता नम्बर जेनेरेट गरेपछि मात्र प्रक्रिया अघि बढ्न सक्यो र शल्यक्रिया सम्पन्न भयो।
तर विडम्बना के भने- अन्त्यमा न नयाँ ओपिडी टिकट काट्नुपर्यो, न नयाँ दर्ता नम्बर नै चाहियो। पुरानै दर्ता नम्बरबाट सबै काम सम्पन्न भयो।
मेरो प्रश्न यति मात्र हो, यदि यही प्रक्रियाबाट अन्ततः समस्या समाधान सम्भव थियो भने सुरुमै हामीलाई स्पष्ट मार्गदर्शन किन गरिएन? किन हामीलाई दिनरात विभाग–विभाग घुमाएर अनावश्यक मानसिक यातना दिइयो?
यस सम्पूर्ण घटनाको मूल कारण एकजना नयाँ नर्सबाट भएको इन्ट्री त्रुटि थियो। गल्ती मानवबाट हुन सक्छ। तर त्यो गल्ती सुधार्न मेटरनिटी वार्डका नर्सहरूले रातदिन नभनी विभिन्न शाखामा दौडधूप गरेर समन्वय गर्न खोज्नुभयो। डा. शारदा श्रेष्ठलाई सुरुमा के भयो भन्ने जानकारीसमेत थिएन, तर उहाँ आफैं सक्रिय भएर हामीलाई हौसला दिनुभयो।
तर सम्बन्धित निकायहरू (स्वास्थ्य बीमा शाखा, आईटी विभाग तथा प्रशासन) कसैले पनि समस्या समाधान गर्ने जिम्मेवारी लिन खोजेनन्। समाधान सम्भव हुँदाहुँदै पनि जिम्मेवारीबाट पन्छिने, बिरामी र कुरुवालाई अनावश्यक दुःख दिने तथा अत्यन्त संवेदनशील अवस्थामा मानसिक यातना दिने काम गरियो।
यदि यही तनावका कारण आमा वा शिशुको स्वास्थ्यमा कुनै गम्भीर असर परेको भए यसको जिम्मेवारी कसले लिने थियो?
हामीलाई बिना कुनै गल्ती दिनरात विभाग–विभाग घुमाएर मानसिक रूपमा चरम पीडा दिइयो। यस्तो समस्या अन्य धेरै सेवाग्राहीले पनि भोगिरहेका हुन सक्छन् र भविष्यमा फेरि दोहोरिन सक्छ।
सरकारी स्वास्थ्य संस्थामा यति ठूलो गैरजिम्मेवारी, समन्वय अभाव तथा सेवाग्राहीप्रतिको अमानवीय व्यवहार अत्यन्त दुःखद र निन्दनीय विषय हो।
अस्पतालमा नयाँ डिजिटल प्रणाली लागू गरिएको रहेछ, तर सम्बन्धित कर्मचारीहरूलाई पर्याप्त रूपमा अभिमुखीकरण (ओरियन्टेशन) तथा तालिम दिइएको देखिएन। सिस्टममा समस्या आउँदा समाधान गर्ने स्पष्ट प्रक्रिया छैन। आईटी विभागले समस्या समाधानमा सहजीकरण गर्नुको सट्टा जिम्मेवारीबाट पन्छिने व्यवहार देखायो। स्वास्थ्य बीमाको प्रणाली कसरी सञ्चालन हुन्छ भन्ने विषयमा सम्बन्धित कर्मचारी स्वयं अन्योलमा देखिन्थे।
स्वास्थ्य बीमामा समस्या आउँदा समाधान खोज्नुको सट्टा सेवाग्राहीलाई थर्काउने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखियो। प्रशासनलाई यी समस्याहरूको जानकारी हुँदाहुँदै पनि ‘सिस्टम एरर’ भन्दै हात बाँधेर बस्ने अवस्था देखियो।