काठमाडौं- नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको विकेन्द्रीकरण गर्नेदेखि अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्नेसम्मका १८ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
काउन्सिलको पूर्णले स्वास्थ्य क्षेत्रको नियमन, कानुनी सुधार र चिकित्सकहरूको डिजिटल प्रोफाइल व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन महत्व राख्ने निर्णयहरू पारित गरेको हो।
काउन्सिलले आगामी आर्थिक वर्षदेखि लाइसेन्स परीक्षा काठमाडौँ उपत्यकाबाहिर पनि सञ्चालन गर्ने निर्णय गरेको छ। यसका साथै समाजमा बढ्दै गएको अवैध चिकित्सकीय अभ्यासलाई रोक्न 'एन्टी-क्वेकरी गाइडलाइन, २०८३' लाई सैद्धान्तिक स्वीकृति दिँदै अन्तिम रूप दिन स्वास्थ्य मन्त्रालय पठाउने निर्णय समेत बैठकले गरेको छ।
डिजिटल प्रोफाइल र 'नेशनल मेडिकल रजिस्ट्री' काउन्सिलले सबै चिकित्सकहरूको विवरण व्यवस्थित बनाउन 'नेशनल मेडिकल रजिस्ट्री' निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ। जसअन्तर्गत काउन्सिलमा दर्ता भएका सम्पूर्ण चिकित्सकहरूको डिजिटल प्रोफाइल संकलन गरिनेछ भने काउन्सिलको आधिकारिक वेबसाइटमा चिकित्सकहरूको शैक्षिक योग्यता र डिग्री तत्काल अद्यावधिक गर्ने कार्य सुरु गरिनेछ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार बैठकले काउन्सिलको ऐन तथा नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यवाहक अध्यक्ष डा. कुन्जाङ शेर्पाको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। जसले ३ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ।
हेरौं १८ बुँदे निर्णय
१. स्वागत तथा बिदाइ सम्बन्धमा- • नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्षलाई काउन्सिलको पदेन सदस्यका रूपमा स्वागत तथा शपथग्रहण गराइयो तथा निवर्तमान अध्यक्षलाई धन्यवाद सहित बिदाइ गरियो।
२. चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सम्बन्धमा- • ७५ औँ चिकित्सक दर्ता प्रमाणपत्र (Licensing Examination) परीक्षाको नतिजा अनुमोदन गर्ने तथा परीक्षा सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरियो।
३. वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा- • आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम संशोधनसहित पारित गरियो।
४. ऐन तथा नियमावली संशोधन सम्बन्धमा- • नेपाल मेडिकल काउन्सिलको ऐन तथा नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यवाहक अध्यक्ष डा. कुन्जाङ शेर्पाको संयोजकत्वमा कार्यदल गठन गर्ने तथा ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने।
५. अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि सम्बन्धमा- • Anti-Quackery Guideline, २०८३ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरी कानुनी परामर्शपछि अन्तिम रूप दिई मन्त्रालयमा पठाउने।
६. National Medical Registry सम्बन्धमा- • काउन्सिलको आधिकारिक वेबसाइटमा चिकित्सकहरूको शैक्षिक योग्यता तथा डिग्री अद्यावधिक गर्ने कार्य यथाशीघ्र सुरु गर्ने तथा काउन्सिलमा दर्ता भएका सम्पूर्ण चिकित्सकहरूको डिजिटल प्रोफाइल संकलन गरी National Medical Registry निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गर्ने।
७. Elective Posting सम्बन्धमा- • नेपालमा Elective Posting का लागि आउने विदेशी चिकित्सा विद्यार्थीहरूको दर्ता कार्यविधि परिमार्जन गरी आगामी पूर्ण बैठकमा पेश गर्ने जिम्मेवारी दर्ता समितिलाई दिने।
८. विदेशी नागरिक चिकित्सक दर्ता सम्बन्धमा- • नेपालका मेडिकल तथा डेन्टल कलेजबाट अध्ययन पूरा गरी Licensing Examination उत्तीर्ण गरेका विदेशी नागरिक चिकित्सकलाई Acknowledgement Letter प्रदान गर्ने तथा नेपालमा चिकित्सकीय अभ्यास गर्न Foreign National Doctors Committee मार्फत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गर्ने। साथै Acknowledgement Letter को नमुना तयार गर्ने जिम्मेवारी निमित्त रजिस्ट्रारलाई दिने।
९. CPD तथा Skill-Based Licensing सम्बन्धमा- • CPD प्रणाली तथा लाइसेन्स नवीकरण सम्बन्धी कार्ययोजना तयार गरी सदस्यहरूलाई जानकारी गराउने जिम्मेवारी डा. दिपेन्द्र पाण्डेलाई दिने। Skill-Based Licensing सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी डा. अस्मिता पोखरेललाई दिने तथा दुवै कार्यक्रमको सहजीकरण CPD तथा शिक्षा समितिलाई दिने।
१०. स्वास्थ्य संस्था निरीक्षण प्रतिवेदन सम्बन्धमा- • विभिन्न डेन्टल क्लिनिक लगायत अन्य स्वास्थ्य संस्थाहरूको स्थलगत निरीक्षण प्रतिवेदन अनुमोदन गर्ने तथा निरीक्षण टोलीबाट दिइएका निर्देशनहरू कार्यान्वयन गराउने जिम्मेवारी निमित्त रजिस्ट्रारलाई दिने।
११. निलम्बन सम्बन्धी विषयमा- • हाल निलम्बनमा रहेका एक चिकित्सकको निलम्बन सम्बन्धी विषयमा थप अध्ययन, छानबिन तथा कानुनी परामर्शसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी व्यावसायिक आचरण तथा स्वास्थ्य समितिलाई दिने।
१२. काउन्सिलको अनुमतिपत्र परीक्षा विकेन्द्रीकरण सम्बन्धमा- • अनुमतिपत्र परीक्षा विकेन्द्रीकरण सम्बन्धी अध्ययन प्रतिवेदन पारित गर्ने तथा आगामी आर्थिक वर्षदेखि लाइसेन्स परीक्षा काठमाडौँ बाहिरबाट समेत सञ्चालन गर्ने निर्णय गर्ने।
१३. Medico-Legal Unit सम्बन्धमा- • Medico-Legal Unit को संरचना, कार्यक्षेत्र तथा सञ्चालन कार्यविधिको मस्यौदा तयार गर्ने जिम्मेवारी व्यावसायिक आचरण तथा स्वास्थ्य समितिलाई दिने।
१४. आर्थिक तथा खरिद विनियामावली सम्बन्धमा- • नेपाल मेडिकल काउन्सिल आर्थिक तथा खरिद सम्बन्धी विनियामावली, २०८० पारित गरी अन्तिम स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने।
१५. बक्यौता रकम सम्बन्धमा- • काउन्सिलमा बुझाउनुपर्ने शुल्क तथा बक्यौता रकम नतिर्ने मेडिकल, डेन्टल तथा शिक्षण संस्थाहरूलाई बक्यौता रकम उल्लेख गरी भुक्तानीका लागि पत्राचार गर्ने।
१६. दर्ता आवेदन सम्बन्धमा- • विदेशी नागरिक चिकित्सकको दर्ता प्रक्रिया, परीक्षाका प्रावधान तथा प्राविधिक जटिलतासम्बन्धी विषयमा संयुक्त अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दर्ता समिति र परीक्षा समितिलाई दिने।
१७. लेखापरीक्षण सम्बन्धमा- • आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक तथा बाह्य लेखापरीक्षणका लागि प्रस्ताव आह्वान गर्न सार्वजनिक सूचना प्रकाशन प्रक्रिया अगाडि बढाउने जिम्मेवारी निमित्त रजिस्ट्रारलाई दिने।
१८. मृत्यु प्रमाणपत्र सम्बन्धमा- • ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार गृहमा कार्यरत वा संलग्न चिकित्सकले प्रत्यक्ष मृत्यु प्रमाणपत्र जारी गर्न नमिल्ने तथा त्यस्तो अवस्थामा नजिकको स्वीकृत अस्पताल वा प्रचलित कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने राय स्वास्थ्य सेवा विभागमा पठाउने।