‘डाक्टर भगवान् हुन्’ भन्ने नेपाली समाजको पुरानो भाष्य पछिल्ला केही वर्षयता अस्पतालभित्र भइरहेका हिंसात्मक तथा दुर्व्यवहारका घटनाहरूले क्रमशः कमजोर बनाउँदै लगेको छ। बिरामीलाई नयाँ जीवन दिन अहोरात्र खटिने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू आज आफ्नै कार्यस्थलमा असुरक्षित महसुस गर्न बाध्य छन्। कहिले कुटपिट हुने, कहिले अस्पताल तोडफोड हुने वा कहिले राजनीतिक दबाबमा पर्नुपर्ने हो भन्ने त्रासबीच सेवा दिनुपर्ने अवस्था सिर्जना भइरहेको छ।
नेपालमा स्वास्थ्यकर्मीमाथि हुने हिंसा नयाँ विषय होइन। कोरोना महामारीको चरम सङ्कटका बेला नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीका आफन्तको आक्रमणबाट जोगिन नर्सहरूले झ्यालबाट हाम फाल्नुपरेको घटना नेपाली स्वास्थ्य क्षेत्रकै एउटा कालो दिन बन्यो। त्यसपछि २०८० सालमा मकवानपुरको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कार्यकक्षमै प्रवेश गरेर गरिएको कुटपिट तथा काठमाडौँको ट्रमा सेन्टरमा चिकित्सकमाथि भएको दुर्व्यवहारले स्वास्थ्य क्षेत्रको असुरक्षा झनै सतहमा ल्यायो।
उपचारका क्रममा बिरामीको मृत्यु हुनु वा जटिलता आउनु चिकित्सा विज्ञानको स्वाभाविक जोखिमभित्रको विषय हो। तर नेपालमा बिरामीको अवस्था बिग्रिनासाथ सम्पूर्ण दोष स्वास्थ्यकर्मीमाथि थोपर्ने, अस्पताल तोडफोड गर्ने तथा चिकित्सकमाथि हातपात गर्ने प्रवृत्ति खतरनाक सामाजिक संस्कृतिका रूपमा विकसित हुँदै गएको छ। हाम्रो समाजमा एउटा कमजोरी देख्नेबित्तिकै स्वास्थ्यकर्मीले गरेका सयौँ राम्रा कामहरू बिर्सिने प्रवृत्ति बढ्दो छ। यसले केवल स्वास्थ्यकर्मीको मनोबल मात्र कमजोर बनाएको छैन, समग्र स्वास्थ्य प्रणालीमाथिको जनविश्वासलाई समेत क्षति पुर्याइरहेको छ।
पछिल्लो समय उदयपुरको कटारी अस्पतालमा देखिएको अवस्था अझ चिन्ताजनक छ। विगतका धेरै घटनामा बिरामीका आफन्तको आक्रोश मुख्य कारण देखिए पनि कटारी अस्पतालको विवादले स्वास्थ्य संस्थाभित्रको राजनीतिक हस्तक्षेप, दुर्व्यवहार र असहयोगको अर्को पाटो सतहमा ल्याएको छ। अस्पताललाई स्तरोन्नति गर्दै प्रादेशिक अस्पतालको मान्यता दिलाउने, सेवा विस्तार गर्ने तथा ब्लड बैंक स्थापना गर्नेसम्मका सुधारात्मक प्रयासको नेतृत्व गरिरहेका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहले असहज वातावरण र दुर्व्यवहारका कारण सेवाबाट बाहिरिने घोषणा गर्नु अत्यन्तै गम्भीर सङ्केत हो।
दूरदराजका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सक टिकाउनै कठिन भइरहेका बेला त्यहाँ बसेर सेवा सुधारमा लागेका चिकित्सकहरू नै असुरक्षित महसुस गरेर प्रणालीबाट बाहिरिन थाले भने त्यसको प्रत्यक्ष असर सर्वसाधारण जनतामाथि पर्छ। ग्रामीण क्षेत्रका नागरिक विशेषज्ञ सेवाबाट अझ टाढिनेछन् भने सरकारी अस्पतालप्रतिको भरोसा कमजोर हुँदै जानेछ।
यसको अर्को खतरनाक प्रभाव ‘डिफेन्सिभ मेडिसिन’ को अभ्यास हो। जब चिकित्सकले बिरामीको उपचारभन्दा पहिले आफ्नै सुरक्षाको चिन्ता गर्न थाल्छन्, तब जटिल बिरामीलाई उपचार नगरी अन्यत्र रेफर गर्ने प्रवृत्ति बढ्छ। नेपालका धेरै अस्पतालमा अहिले यही अवस्था विस्तार हुँदै गएको चिकित्सकहरूको गुनासो छ। यसको मार आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीहरूले नै सबैभन्दा बढी भोगिरहेका छन्। न्यून जनशक्ति, अत्यधिक कामको चाप तथा स्रोत–साधनको कमीका कारण स्वास्थ्यकर्मीहरूले दैनिक दबाब र चुनौतीबीच काम गर्नुपर्ने बाध्यता रहँदै आएको छ।
नेपाल सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधन) ऐनमार्फत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ‘जमानत बिना जेल’ को व्यवस्था गरे पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। अस्पतालका भित्ताभित्तामा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन टाँसिए पनि प्रभावकारी कार्यान्वयन नहुँदा दैनिकजसो यस्ता घटना दोहोरिने गरेका छन्। घटनालगत्तै राजनीतिक दबाब, स्थानीय तहको हस्तक्षेप तथा ‘मिलापत्र’ को नाममा गरिने सम्झौताले यस्ता घटनालाई झन् प्रोत्साहन गरेको छ।
स्वास्थ्य क्षेत्रलाई सुरक्षित, मर्यादित र विश्वसनीय बनाउन केवल कानुन बनाएर मात्र पुग्दैन, त्यसको निष्पक्ष र कडाइका साथ कार्यान्वयन हुनुपर्छ। अस्पतालहरूमा पर्याप्त सुरक्षा व्यवस्था हुनुपर्छ र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई राजनीतिक वा सामाजिक संरक्षण दिनु हुँदैन। आवश्यक परे यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी रूपमा कडा कारबाही गरिनुपर्छ। कटारी अस्पतालका डा. गौरव साहको बहिर्गमन राज्य र समाज दुवैका लागि चेतावनी हो— यदि स्वास्थ्यकर्मी नै सुरक्षित र सम्मानित हुन सकेनन् भने नागरिकको स्वास्थ्य सुरक्षा कसरी सुनिश्चित हुन्छ?
स्वास्थ्यकर्मीलाई शत्रुको रूपमा होइन, समाज र नागरिकका रक्षकका रूपमा हेर्नुपर्ने समय आएको छ। स्वास्थ्यकर्मीलाई भयमुक्त वातावरणमा काम गर्न दिनु राज्य, राजनीतिक दल, स्थानीय प्रशासन र आम नागरिक सबैको साझा दायित्व हो। अन्यथा, दुर्व्यवहार र दण्डहीनताको यही चक्रले एक दिन दक्ष डाक्टर र नर्सहरूलाई विदेशिन बाध्य बनाउनेछ, जसको असर केवल अस्पतालमा मात्र होइन, सम्पूर्ण सार्वजनिक स्वास्थ्य प्रणालीमा पर्नेछ।
-(स्वास्थ्यकर्मी मिलन बटाला भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरमा कार्यरत छन्।)