काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारसम्बन्धी महत्वपूर्ण कार्ययोजना अघि सार्दै छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
छैटौँ साधारण सभामा नर्भिकले व्यवसाय विस्तारका क्षेत्रमा महत्वपूर्ण योजनाहरू अघि सारेको हो। हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका रणनीतिबारे जानकारी गराए।
कार्ययोजनाअनुसार नर्भिकले निर्माणाधीन नयाँ भवनको निर्माण कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरी त्यहाँबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
यस्तै, हाल काठमाडौँ उपत्यकाभित्र १५ वटा शाखा सञ्चालनमा रहेको 'नर्भिक फार्मेसिया प्रा.लि.'ले चालु आर्थिक वर्षभित्र उपत्यकामा १८, उपत्यकाबाहिर १५ र फ्रान्चाइज मोडलमा ६ गरी कुल ५४ शाखा पुर्याउने लक्ष्य राखेको छ। आगामी २ वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने लक्ष्य लिइएको छ।
स्वास्थ्य सेवाको पहुँच उपत्यकाका अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने उद्देश्यले 'नर्भिक सिटी हस्पिटल'को परियोजना ल्याइएको छ। ५० शय्याको उक्त सिटी हस्पिटललाई आगामी आर्थिक वर्षको प्रमुख योजनाका रूपमा अघि बढाइएको छ। सिटी हस्पिटलमा ओपीडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आईपीडी र अपरेसन थियटरका साथै प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपिक, ल्याप्रोस्कोपी सर्जरी, एक्स-रेसहितका डाइग्नोस्टिक तथा उपचार सेवाहरू उपलब्ध हुनेछन्।
यसैगरी, नर्भिकले अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले 'नर्भिक एकीकृत क्यान्सर संस्थान' स्थापना गर्ने भएको छ। संस्थान स्थापनाका लागि छुट्टै कम्पनीसमेत गठन भइसकेको छ। चालु आर्थिक वर्षमै यसको कार्यान्वयन प्रक्रिया अघि बढाउन संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। अनुमानित रु. ३०० करोड लागत रहने उक्त परियोजनाको दीर्घकालीन उद्देश्य नेपालमै उच्चस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउनु हो।
स्वास्थ्य सेवालाई घर-घरसम्म पुर्याउन 'नर्भिक एट होम' स्थापना तथा सञ्चालनको योजनालाई पनि प्राथमिकतामा राखिएको छ। प्रथम चरणमा यो सेवा होम हेल्थ केयर र जेरियाट्रिक (ज्येष्ठ नागरिक) सेवाबाट सुरु गरिनेछ।
नर्भिकको सेवा प्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको छ। गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग र संस्थागत विस्तार अस्पतालका मुख्य प्राथमिकता रहने जनाइएको छ।
व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिँदै आएको नर्भिकले आगामी दिनमा निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम र विपन्न वर्गका लागि आवश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिने भएको छ।
२० प्रतिशत बोनस शेयर र बुक बिल्डिङबाट सर्वसाधारणका लागि शेयर निष्कासन
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ। बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको शेयर 'बुक बिल्डिङ' प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने र त्यसका लागि संस्थागत लगानीकर्ताहरूलाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।
यसका साथै नर्भिकले २२ प्रतिशत नगद लाभांस वितरण समेत गर्ने भएको छ।
साधारण सभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले देशको विषम परिस्थितिका बाबजुद संस्थाले राम्रो आर्थिक सूचांक हासिल गर्न सफल भएको बताउनुभयो। उहाँले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउँदै लैजाने जानकारी दिनुभयो।
त्यस्तै, सञ्चालक मेधा चौधरीले नर्भिकलाई केवल एउटा अस्पतालका रूपमा मात्र नभई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित, दिगो र विश्वसनीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हस्पिटलका सीईओ अजयकुमार मिश्रले 'नर्भिक सिटी हस्पिटल'को सेवा नर्भिकभन्दा सुलभ र स्थानीय सर्वसाधारणका लागि सहज उपभोगयोग्य हुने जानकारी दिनुभयो। उहाँले रसुवा बाढीपीडितको राहत कोषका लागि नर्भिक हस्पिटलका तर्फबाट रु. १ करोड सहयोग गरिएको जानकारीसमेत दिनुभयो।
वार्षिक प्रतिवेदन: ४७ करोडभन्दा बढी खुद नाफा
वार्षिक प्रतिवेदनअनुसार नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा ओपीडीतर्फ १ लाख ७९ हजार, आईपीडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ। साथै, अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड र पपुवा न्युगिनी जाने ४१ हजार सेवाग्राहीलाई 'इमिग्रेसन हेल्थ स्क्रिनिङ' सेवा उपलब्ध गराएको छ।
सो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाहेक कुल आम्दानी रु. २ अर्ब ८३ करोड, कुल खर्च रु. २ अर्ब ३६ करोड र खुद नाफा रु. ४७ करोडभन्दा बढी रहेको छ। फार्मेसीसहितको कुल आम्दानी रु. ३ अर्ब ४७ करोड, कुल खर्च रु. २ अर्ब ९९ करोड र खुद नाफा रु. ४७ करोड ८५ लाखभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।