जनकपुर– प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनाको दीर्घकालीन समाधान खोज्न सरकारका स्वास्थ्यसँगै शिक्षा र अर्थ मन्त्रालय पनि गम्भीर हुनुपर्ने बताएका छन्।
बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा प्रसूति गराउन आएकी महिलाका आफन्तले काउन्सिलिङ गरेका चिकित्सक डा. सरोज साहमाथि हातपात गर्नुका साथै उनको मोबाइलसमेत खोसेर लगेपछि अस्पतालमा चिकित्सकको सुरक्षाको विषय पुनः उठेको हो। घटनामा डा. साहको अनुहार, टाउको र हातमा चोट लागेको बताइएको छ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ। घटनापछि अस्पतालका चिकित्सकहरूले काम गर्ने वातावरण नरहेको भन्दै सामूहिक उजुरी दिने र काम ठप्प पार्ने चेतावनी दिएका छन्।
जनशक्ति अभावले सरकारी अस्पतालमा चाप
निर्देशक डा. सिंहले सरकारी अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि सरकारको मापदण्डअनुसार आवश्यक जनशक्ति उपलब्ध हुन नसकेको गुनासो गरे।
उनका अनुसार सरकारले प्रसूति सेवाका लागि आवश्यक जनशक्तिको मापदण्ड बनाए पनि त्यसअनुसार दरबन्दी र जनशक्ति उपलब्ध गराउन सकेको छैन।
‘सरकारले प्रसूतीगृहमा १२० जना नर्स राख्ने मापदण्ड बनाउँछ, तर अस्पतालभरि पनि १२० जना नर्सको दरबन्दी दिइँदैन भने यस्तो नीति किन बनाउनु?’ उनले प्रश्न गरे।
उनले अस्पतालमा चिकित्सक, नर्स, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको अभावबारे पटकपटक जानकारी गराउँदा पनि थप जनशक्ति व्यवस्थापनका लागि आवश्यक बजेट र पदपूर्तिको प्रक्रिया अघि बढ्न नसकेको बताए।
डा. सिंहले यही कारणले अर्थ मन्त्रालय पनि स्वास्थ्य संस्थामा देखिएको समस्याको एउटा जिम्मेवार पक्ष भएको दाबी गरे।
‘शिक्षा प्रणालीमा पनि ध्यान दिनुपर्छ’
चिकित्सकमाथि हुने आक्रमणको दीर्घकालीन समाधानका लागि शिक्षा प्रणालीमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘प्रत्येक बिरामी वा सेवाग्राहीको सोच उग्र हुनु, प्रत्येक कर्मचारीलाई आफ्नो शत्रु सम्झिनु, आक्रोशमा आउनु र कानुनी उपचार खोज्नुको साटो हातपात गर्नुजस्ता क्रियाकलापले समस्या देखाउँछ,’ उनले भने।
उनले चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा हातपात गर्ने प्रवृत्तिको अन्त्यका लागि नागरिकमा स्वास्थ्य सेवाको प्रकृति, उपचारको जोखिम र चिकित्सकीय प्रक्रियाबारे बुझाइ बढाउनुपर्ने बताए।
सरकारी अस्पतालमा एउटै बिरामीसँग धेरै कुरुवा
डा. सिंहले सरकारी अस्पतालमा एउटै बिरामीसँग धेरै जना कुरुवा आउने प्रवृत्तिले पनि उपचार सेवामा समस्या थपिएको बताए।
उनका अनुसार निजी अस्पतालमा बिरामीसँग रहने कुरुवाको संख्या सीमित हुने गरे पनि सरकारी अस्पतालमा एउटै बिरामीसँग आठ जनासम्म कुरुवा आउने र उपचार कक्षमै बस्ने गरेको पाइन्छ।
‘एक पटक परामर्श गर्नुपर्ने ठाउँमा आठ जना कुरुवाले छुट्टाछुट्टै प्रश्न गर्दा चिकित्सकको समय पनि खेर जान्छ,’ उनले भने।
उनले यस्तो अवस्थालाई व्यवस्थापन गर्न अस्पताल प्रशासनसँगै बिरामी र आफन्त पनि जिम्मेवार हुनुपर्ने बताए।
‘सुरक्षाकर्मी राख्दैमा समस्या समाधान हुँदैन’
चिकित्सकको सुरक्षाका लागि प्रत्येक बेड वा विभागमा सुरक्षाकर्मी राख्नु मात्रै समाधान नभएको डा. सिंहको भनाइ छ।
‘प्रत्येक बेड वा डिपार्टमेन्टमा सुरक्षाकर्मी राख्नु समाधान होइन,’ उनले भने, ‘जतिबेलासम्म सुरक्षाकर्मी पुग्छन्, त्यतिबेलासम्म चिकित्सकले पिटाइ खाइसकेको हुन्छ।’
उनले बिरामी र आफन्तले पनि उपचारका क्रममा हुने जटिलता तथा मृत्यु सधैं चिकित्सकको नियन्त्रणमा नहुने बुझ्नुपर्ने बताए। कुनै पनि चिकित्सकले आफ्नो बिरामीको मृत्यु होस् भनेर नचाहने भन्दै उनले उपचारका क्रममा समस्या आए कानुनी तथा संस्थागत बाटोबाट समाधान खोज्न आग्रह गरे।
दीर्घकालीन समाधानका लागि बृहत् छलफल आवश्यक
चिकित्सकमाथि हुने आक्रमणका घटना पटकपटक दोहोरिन थालेकाले यसको दीर्घकालीन समाधानका लागि बृहत् छलफल आवश्यक रहेको डा. सिंहले बताए।
उनका अनुसार नागरिक समाज, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारका सम्बन्धित निकायबीच बृहत् छलफल गरेर स्वास्थ्य संस्थामा हुने हिंसा, जनशक्ति अभाव, बिरामीको चाप र सुरक्षा व्यवस्थापनलगायत समस्याको दीर्घकालीन समाधान खोजिनुपर्छ।
‘स्वास्थ्य मन्त्रालयमात्र होइन, शिक्षा र अर्थ मन्त्रालय पनि यस विषयमा गम्भीर हुनुपर्छ। सबै पक्ष बसेर समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले भने।