काठमाडौं– जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा कार्यरत चिकित्सकमाथि सांघातिक आक्रमण भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. सरोज साहलाई २०८३ असोज १ गते बिरामीका आफन्तलगायतको समूहले आक्रमण गरेको संघले जनाएको छ।
संघले स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक हुने यस्ता आपराधिक घटनाले उनीहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुग्ने बताएको छ। घटनालाई अमानवीय र निन्दनीय भन्दै संघले भर्त्सना गरेको छ।
समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी भएको घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन संघले माग गरेको छ। दोषीमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग संघले जोडदार माग गरेको छ।
संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।