काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिवको दरबन्दी रहने भएको छ। सरकारले स्वीकृत गरेको 'नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३' अनुसार साविकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गरेसँगै निजामती प्रशासनतर्फका सचिवहरूको दरबन्दी मिलान सुरु गरिएको छ।
दुई जना सचिवको दरबन्दी रहेका मन्त्रालयहरूमा दरबन्दी कटौती गरी एक जना मात्र कायम गर्ने नयाँ व्यवस्था लागू गर्दै सरकारले कुल २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ।
यसै क्रममा स्वास्थ्य मन्त्रालयमा रहँदै आएको दुई सचिवको व्यवस्था पनि परिमार्जन भएको छ। साविकमा स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ गरी दुई जना सचिव रहने व्यवस्था थियो। तर, नयाँ नियमावली अनुसार सरकारले प्रशासनतर्फका सचिवलाई सरुवा गर्दै स्वास्थ्य मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था सुनिश्चित गरेको हो।
नयाँ व्यवस्था अनुसार स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मात्र बहाल रहनेछन्। उनले नै अब सचिवका रुपमा पूर्ण जिम्मेवारी सम्हाल्ने छन्। मन्त्रालयमा कार्यरत प्रशासनतर्फका सचिव डिल्ली शर्माको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ।
मन्त्रालयमा प्रशासनतर्फका सचिव शर्माको सोमबार नै औपचारिक रूपमा बिदाइ भइसकेको छ। यो निर्णयसँगै स्वास्थ्य मन्त्रालयको सम्पूर्ण प्रशासनिक तथा प्राविधिक नेतृत्व अब डा. विकास देवकोटा एक्लैले सम्हाल्ने भएका छन्।